आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो

शुक्रबार, ०९ माघ २०८२, १३ : ४९
शुक्रबार, ०९ माघ २०८२

सारांश

  • इरानमा सरकार विरोधी प्रदर्शनमा सुरक्षा बलको दमनबाट कम्तीमा ५,००० भन्दा बढीको मृत्यु भएको छ।
  • इरान सरकारले प्रदर्शनकारीहरूलाई अमेरिका र इजरायलद्वारा उक्साइएको आरोप लगाएको छ, जबकि मानव अधिकारवादी संस्थाहरूले ठूलो रक्तपात भएको दाबी गरेका छन्।
  • अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै मध्यपूर्वमा नौसैनिक शक्ति पठाएका छन् र इरानलाई आणविक कार्यक्रमबारे वार्ताका लागि दबाब दिएका छन्।

तेहरान । इरानमा जारी सरकार विरोधी प्रदर्शनमाथि सुरक्षा बलले गरेको कडा दमनका क्रममा मृत्यु हुनेको सङ्ख्या कम्तीमा पाँच हजार दुई पुगेको छ। अमेरिकामा आधारित मानव अधिकार कार्यकर्ताहरूका अनुसार देशव्यापी रूपमा इन्टरनेट सेवा बन्द गरिएकाले मृतकको वास्तविक सङ्ख्या योभन्दा निकै बढी हुनसक्ने अनुमान गरिएको छ।

इरानी अधिकारीहरूले विगत दुई हप्तादेखि देशभर इन्टरनेट पूर्ण रूपमा ठप्प पारेका छन्, जसका कारण देशभित्रको यथार्थ अवस्था बाहिर आउन कठिन भएको छ। प्राप्त तथ्याङ्कअनुसार मृतकमध्ये चार हजार ७१६ जना प्रदर्शनकारी, २०३ जना सरकारी पक्षका व्यक्ति र ४३ जना बालबालिका छन्। यस्तै, विरोधमा संलग्न नभएका ४० जना सर्वसाधारणले पनि ज्यान गुमाएका छन्। अधिकारीहरूले हालसम्म २६ हजार ८०० भन्दा बढी प्रदर्शनकारीलाई हिरासतमा लिइसकेका छन्।

इरान सरकारले भने पहिलोपटक आधिकारिक रूपमा तीन हजार ११७ जनाको मात्र मृत्यु भएको स्वीकार गरेको छ। सरकारी सञ्चारमाध्यमले प्रदर्शनकारीहरूलाई अमेरिका र इजरायलद्वारा उक्साइएका 'दङ्गाकारी' भन्दै आरोप लगाएका छन्। तर, मानव अधिकारवादी संस्थाहरूले इरानले सन् १९७९ को इस्लामिक क्रान्तिपछिकै ठूलो रक्तपात मच्चाएको दाबी गरेका छन्।

यहीबीच, अमेरिका र इरानबीचको सैन्य तनाव पनि उत्कर्षमा पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको गतिविधिलाई लिएर कडा चेतावनी दिँदै मध्यपूर्वतर्फ विशाल नौसैनिक शक्ति 'आर्मडा' पठाएको घोषणा गरेका छन्। अमेरिकी नौसेनाको विमानवाहक जहाज 'युएसएस अब्राहम लिङ्कन' र अन्य युद्धपोतहरू हाल हिन्द महासागर क्षेत्रमा तैनाथ छन्।

राष्ट्रपति ट्रम्पले शान्तिपूर्ण प्रदर्शनकारीहरूको हत्या र सामूहिक मृत्युदण्डको तयारीलाई 'लक्ष्मण रेखा' को संज्ञा दिँदै इरानले गल्ती गरेमा कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्। इरानका महान्यायाधिवक्ताले पक्राउ परेका केही प्रदर्शनकारीलाई 'ईश्वरका शत्रु' करार गर्दै मृत्युदण्ड दिन सकिने सङ्केत गरेपछि अन्तर्राष्ट्रिय समुदायमा चिन्ता थपिएको छ। ट्रम्पले इरानलाई आणविक कार्यक्रमका विषयमा वार्ता र सम्झौताका लागि दबाब दिँदै अन्यथा गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप