आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपा परित्याग गर्दै महेन्द्र पाण्डेको गम्भीर आरोप : टिकट वितरणलाई कमाऊ धन्दा बनाइयो

शुक्रबार, ०९ माघ २०८२, १६ : ३३
शुक्रबार, ०९ माघ २०८२

सारांश

  • रास्वपा नेता महेन्द्र पाण्डेले पार्टीले टिकट वितरणमा पैसा असुलेको आरोप लगाउँदै पार्टी परित्याग गरे।
  • उनले रास्वपा 'हुँदा खाने' को नभई 'हुने खाने' को पार्टी बनेको र इमान्दार कार्यकर्ताको भविष्य नरहेको बताए।
  • पाण्डेले स्वतन्त्र समूह बनाएर अगाडि बढ्ने र अन्य परिवर्तनकारी शक्तिलाई सहयोग गर्नेबारे निर्णय लिने बताए।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता महेन्द्र पाण्डेले पार्टीले चुनावी टिकट वितरणलाई पैसा असुल्ने माध्यम बनाएको गम्भीर आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका छन्। शुक्रबार संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै उनले रास्वपा अब 'हुँदा खाने' को नभएर 'हुने खाने' को मात्रै पार्टी बनेको टिप्पणी गरे।

हुम्ला घर भई कर्णालीमा रास्वपाको स्थापनाकालदेखि सक्रिय रहेका पाण्डेले पार्टीभित्र इमानदार र निष्ठावान् कार्यकर्ताको भविष्य नरहेको दाबी गरे। विशेष गरी नेता कवीन्द्र बुर्लाकोटी र शंकर श्रेष्ठजस्ता व्यक्तिहरूले पार्टीको 'निलो क्रान्ति' लाई कमाऊ धन्दामा परिणत गरेको उनको आरोप छ। गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका बुर्लाकोटीलाई लक्षित गर्दै पाण्डेले उनलाई भोट दिने नभई 'गाउँगाउँबाट लखेट्नुपर्ने' सम्मको कडा अभिव्यक्ति दिए।

सभापति रवि लामिछानेको रिहाइको लागि आफूले सडकमा एक्लै भए पनि आवाज उठाएको स्मरण गर्दै पाण्डेले चुनावका बेला भने पैसावालालाई मात्र प्राथमिकता दिइएकोमा आक्रोश पोखे। ‘पार्टी सभापतिलाई स्वार्थी र गलत नियत भएका व्यक्तिहरूले घेराबन्दी गरिसकेका छन्, त्यस्ता व्यक्तिलाई कारबाही नगरेसम्म रास्वपामा फर्किने ठाउँ छैन,’ उनले भने।

पाण्डेले अब आफूहरूले 'स्वतन्त्र समूह' बनाएर अगाडि बढ्ने र केही दिनभित्रै भेला गरेर चुनावी रणनीति तय गर्ने बताए। उनले हर्क साम्पाङ, कुलमान घिसिङ वा अन्य कुनै परिवर्तनकारी शक्तिलाई सहयोग गर्ने विषयमा छिट्टै निर्णय लिने जानकारी दिए। कर्णालीका मात्र नभई देशभरका इमानदार कार्यकर्ताहरू अहिले रास्वपा छोड्ने तयारीमा रहेको समेत उनले दाबी गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप