सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

पहिरो पन्छाउन तीन ठाँउमा उपकरण

सोमबार, ११ साउन २०८३, १५ : ५२
सोमबार, ११ साउन २०८३

सारांश

  • नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन तीन स्थानमा एक्साभेटर, लोडर र ट्रिपरलगायतका उपकरण व्यवस्थापन गरिएको छ ।
  • मुग्लिन, सेती दोभान र तुइन खोलामा पहिरो तत्काल पन्छाउनका लागि विभिन्न उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको छ ।
  • यो सडकखण्डमा ४३ स्थान पहिरोको जोखिममा रहेको छ, जसमध्ये सात स्थान उच्च जोखिममा छन् ।

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर, लोडर र ट्रिपरलगायतका उपकरण व्यवस्थापन गरिएको छ ।

बर्खामा हिलोसहितको पहिरो खस्न सक्ने भएकाले तत्कालै घटनास्थलमा पुग्ने गरी उपकरण राखिएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरे जानकारी दिए। उनका अनुसार मुग्लिनमा एउटा लोडर छ भने सेती दोभानमा लोडर, एक्साभेटर, व्याक हु लोडर, ट्रिपर, टेलर र मिनी एक्साभेटर राखिएको छ।

हालै मात्र ठेक्का लागेको तुईन खोलामा निर्माण कम्पनीले एक्साभेटर र लोडरको व्यवस्थापन गरेको छ । त्यस क्षेत्रमा पहिरो खस्नासाथ नजिकमा रहेका उपकरण पन्छाउन प्रयोग गरिने छ । तुईन खोलामा रहेका उपकरण भने सामान्य अवस्थामा त्यसै क्षेत्रको पहिरो पन्छाउन मात्र परिचालन गरिनेछ । ठुलो क्षेत्रमा पहिरो आएमा ‘हेभी इक्युपमेन्ट’ कार्यालय हेटौँडा र पोखराबाट समेत उपकरण झिकाइने इन्जिनियर घिमिरेले बताए।

उनले त्यस क्षेत्रमा पहिरो खस्नासाथ पन्छाउन सक्ने गरी उपकरण र जनशक्ति तयारी अवस्थामा व्यवस्थापन गरिएको जानकारी दिए। वर्षात् सुरु भए सँगै दैनिक जसो ठूला–साना पहिरो झरिरहेका छन्। ती पहिरालाई पन्छाएर सडक सुचारु गर्ने काम भइरहेको छ।

सो सडकखण्डमा मध्यमदेखि उच्चसम्मका गरी ४३ ठाउँमा पहिरोको जोखिम छ । त्यसमध्ये सात ठाउँमा उच्च जोखिम छ भने अन्य ठाउँमा मध्यम छन् । हिउँदमा समेत उक्त सडकखण्डमा सुख्खा पहिरो जाने गरेको छ।

मुलुकका विभिन्न भागबाट त्यही राजमार्ग भएर दैनिक हजारौँको सङ्ख्यामा सवारीसाधन राजधानी भित्रने र बाहिरिने गर्दै आएको पाइन्छ । हाल राजधानी काठमाडौँको लाइफलाइनका रुपमा त्यो सडक रही आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप