बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
उम्मेदवार

रेशमको उम्मेदवारी रद्दपछि थप रोचक बन्नसक्छ कैलाली-१ को चुनावी अंकगणित

शुक्रबार, ०९ माघ २०८२, २० : ०३
शुक्रबार, ०९ माघ २०८२

काठमाडौँ । कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द गर्ने निर्णय निर्वाचन आयोगले गरिसकेको छ । यसपछि नाउपाको पकड क्षेत्र मानिएको यो क्षेत्रमा चौधरीले कसलाई सघाउँछन् भन्ने चासो बढेको छ । कैलाली-३ बाट एकपटक जितेका नेता नदोहोरिएको इतिहास छ । 
  
नागरिक उन्मुक्ति पार्टी चार टुक्रा भएको छ । त्यसका नेताहरु विभिन्न समूहमा छरिएका छन् । सोही पार्टीका नेताहरु विभिन्न दलबाट चुनाव लडिरहेका छन् । 

२०७९ सालको निर्वाचनमा कैलाली-१ बाट तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ ३० हजार ४०४ मत ल्याएर विजयी भएकी थिइन् । रञ्जिता रेशमकी श्रीमती हुन् । त्यसबेला कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका साझा उम्मेदवार रामजनम चौधरीले १८ हजार ८१ मत पाएका थिए । एमालेका तपेन्द्रबहादुर रावलले पाँच हजार ९१० मत पाएका थिए । 

यसपटक यो क्षेत्रमा नाउपा नेपालका संरक्षक रेशम चौधरीले उम्मेदवारी दिएका थिए । तर उनको उम्मेदवारी रद्द भएको छ । रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी नेकपामा विलिन भइसकेको छ । यो क्षेत्रमा नेकपाबाट रामलाल डगौरा थारु उम्मेदवार बनेका छन् । रेशमको उम्मेदवारी रद्द भएपछि रञ्जिता झनै सक्रिय भएर डगौरालाई भोट माग्न लागिपरेकी छन् । 

नागरिक उन्मुक्ति पार्टीकै संस्थापक केन्द्रीय कोषाध्यक्ष कोमल ज्ञवालीले भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा राम्रो प्रभाव जमाएका ज्ञवाली रास्वपाबाट उम्मेदवार बनेपछि कैलाली-३ को चुनावी माहोल झनै रोचक बनेको चर्चा छ । 

नाउपाकै नेता प्रदीपकुमार चौधरी उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका छन् । यसरी विगतमा एउटै पार्टीमा रहेर काम गरेका नेताहरु फरक-फरक पार्टीबाट उम्मेदवार बन्दा त्यसको फाइदा अरू नै दललाई हुने पनि अड्कल काट्न थालिएको छ । 

कैलाली–१ मा २०४८ सालदेखि हालसम्म कसैले दोहोर्‍याएर चुनाव जितेका छैनन् । २०४८ को आम निर्वाचनमा कांग्रेसबाट गङ्गाबहादुर कुँवर, २०५१ को मध्यावधी निर्वाचनमा एमालेबाट हिमाञ्चलराज भट्टराई, २०५६ को आम निर्वाचनमा कांग्रेसबाट सुशीला स्वाँरले चुनाव जितेका थिए । २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीका रुपा सोशी चौधरी, २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जनकराज चौधरी, २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट रेशमलाल चौधरी र २०७९ मा तत्कालीन नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चुनाव जितेका थिइन् । यी विजेताहरु पुनः दोहोरिएका छैनन् । 

यसपटक रञ्जिताले त्यहाँ उम्मेदवारी नै दिइनन् भने रेशम चौधरीको उम्मेदवारी नै रद्द भएको छ । यसरी हेर्दा त्यहाँ २०४८ देखि २०७९ सम्म कोही पनि दोहोर्‍याएर चुनाव जितेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप