भारतको ऐतिहासिक जित : न्युजिल्यान्डविरुद्ध सिरिजमा २-० को अग्रता
सारांश
- भारतले न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै टी-२० सिरिजमा २-० को अग्रता लियो।
- सूर्यकुमार यादव र इशान किशनको उत्कृष्ट ब्याटिङ प्रदर्शनले भारतलाई जित दिलायो।
- २०० भन्दा बढी रनको लक्ष्य पछ्याउँदै भारतले कीर्तिमान बनायो र अस्ट्रेलियापछि दोस्रो स्थानमा उक्लियो।
रायपुर । भारतले घरेलु मैदानमा न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित दर्ता गर्दै आफ्नो दबदबा कायम राखेको छ। शुक्रबार रायपुरमा भएको खेलमा भारतले किवी टोलीलाई ७ विकेटले स्तब्ध पारेको हो।
न्युजिल्यान्डले दिएको २०९ रनको विशाल लक्ष्यलाई भारतले मात्र १५.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। यो जितसँगै ५ खेलको सिरिजमा भारतले २-० को महत्त्वपूर्ण अग्रता बनाएको छ। अब सिरिजको तेस्रो खेल जनवरी २५ मा गुवाहाटीमा हुनेछ।
रायपुरको शहीद वीर नारायण सिंह स्टेडियममा कप्तान सूर्यकुमार यादव र इशान किशनले विष्फोटक प्रदर्शन गरे। सूर्यकुमारले मात्र ३७ बलमा अविजित ८२ रनको इनिङ खेले भने इशान किशनले ३२ बलमा ७६ रनको योगदान दिए।
यी दुई ब्याटरबिच दोस्रो विकेटका लागि १२२ रनको सानदार साझेदारी भएको थियो। अन्य ब्याटरमा अभिषेक शर्मा शून्य र सन्जू स्यामसन ६ रनमा आउट भए पनि भारतको जितमा कुनै बाधा पुगेन।
यसअघि टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाएको थियो। पाहुना टोलीका लागि कप्तान मिचेल सेन्टनरले अविजित ४७ र रचिन रविन्द्रले ४४ रन बनाए पनि भारतीय बलर कुलदीप यादवले २ विकेट लिँदै रनको गतिमा केही अंकुश लगाएका थिए।
भारतका लागि यो जित निकै ऐतिहासिक बन्यो। २०० भन्दा बढी रनको लक्ष्य पछ्याउँदा यो भारतको अहिलेसम्मकै सबैभन्दा छिटो जित हो। भारतले २८ बल बाँकी छँदै लक्ष्य भेट्टाएर कीर्तिमान कायम गरेको छ।
टी-२० अन्तर्राष्ट्रियमा २०० वा सोभन्दा बढीको लक्ष्य छैटौँ पटक सफलतापूर्वक पछ्याउँदै भारत यो सूचीमा अस्ट्रेलियापछि दोस्रो स्थानमा उक्लिएको छ। यो भारतको दोस्रो ठूलो रन चेज पनि हो। आफ्नो घरेलु मैदानमा १०० औँ टी-२० खेल खेलिरहेको भारतले यो जितलाई थप विशेष बनाएको छ।
खेलमा उत्कृष्ट ब्याटिङ गरेका इशान किशन प्लेयर अफ द म्याच घोषित भए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण