को हुन् राष्ट्रिय सभामा निर्वाचित डा. प्रेम दंगाल ?
सारांश
- डा. प्रेम दंगाल बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्, जो नेकपा एमालेका नेता हुन्।
- उनले नेकपाका प्रेम प्रसाद सापकोटालाई पराजित गर्दै ६ हजार २०५ मत प्राप्त गरेर जित हासिल गरे।
- दंगालले राष्ट्रिय सभामा नीति र कानुन निर्माणमा ध्यान दिने र तल्लो तहका समस्यालाई केन्द्रमा राख्ने प्रतिबद्धता व्यक्त गरे।
मकवानपुर । राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट निर्वाचित भएका डा. प्रेम दंगाल नेकपा एमाले भित्र एक बौद्धिक र जुझारु नेताका रूपमा चिनिन्छन् ।
करिब चार दशक लामो राजनीतिक र प्राज्ञिक यात्रा तय गरेका दंगाल अब राष्ट्रको माथिल्लो सदन ‘राष्ट्रिय सभा’ मा नीति निर्माताको भूमिकामा देखिने छन् ।
दंगालले बागमती प्रदेश तर्फको अन्य क्लस्टरमा नेकपाका प्रेम प्रसाद सापकोटा (राजेन्द्र)लाई पराजित गर्दै जित निकालेका हुन दंगालले ६ हजार २०५ मत पाउँदा सापकोटाले २ हजार ५४१ मत पाए ।
२०२० सालमा खोटाङको साविक खिदिमा (हाल साकेला गाउँपालिका) मा जन्मिएका डा. दंगाल २०३६ सालतिर सुनसरीको इटहरी बसाइँ सरे ।
उनको प्रारम्भिक शिक्षा इटहरीमा र उच्च शिक्षा धरानको महेन्द्र बहुमुखी क्याम्पस तथा विराटनगरमा भएको थियो । दंगालको पहिचान राजनीतिमा मात्र सीमित छैन । उनले त्रिभुवन विश्वविद्यालयबाट ‘ग्रामीण अर्थतन्त्र र खाद्य सम्प्रभुता’ विषयमा विद्यावारिधि गरेका छन् ।
मीनभवन क्याम्पसबाट व्यवस्थापनमा स्नातक र स्नातकोत्तर गरेका दंगालले आफ्नो प्राज्ञिक ज्ञानलाई किसान आन्दोलन र नीतिगत बहसहरूमा जोड्दै आएका छन् । २०३५/३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका दंगाल अनेरास्ववियुको विभिन्न तहमा रहेर काम गरे ।
उनले लामो समयदेखि अखिल नेपाल किसान महासङ्घमा आबद्ध रहेका छन् । महासङ्घको महासचिवका रूपमा लामो समय जिम्मेवारी सम्हालेका उनी विगत ५ वर्षदेखि केन्द्रीय अध्यक्ष छन् ।
एमालेको १० औँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका उनी राष्ट्रिय योजन आयोगको सदस्य तथा किसान आयोगको अध्यक्ष समेत भइसकेका छन् ।
राष्ट्रिय सभामा कस्तो रहनेछ भूमिका ?
पहिलोपटक संसदीय निर्वाचनको अनुभव बटुल्ने अवसर पाएका डा. दंगालले राष्ट्रिय सभामा आफ्नो भूमिका ‘विकास’ भन्दा पनि ‘नीति र कानुन निर्माण’ मा बढी केन्द्रित हुने बताउँछन् ।
विशेष गरी प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको मतबाट निर्वाचित हुने भएकाले उनले तल्लो तहका समस्या र अधिकारलाई केन्द्रमा जोड्ने प्रतिबद्धता व्यक्त व्यक्त गरे ।
डा. दंगाल राष्ट्रिय सभाको यो अवसर सहजै नआएको बताउँछन् । यसअघि २०६४ सालको संविधान सभा र दुई वर्षअघिको राष्ट्रिय सभा निर्वाचनमा पनि उनको नाम सिफारिस भएको थियो ।
अन्तिम समयमा अवसर नपाउँदा पनि विचलित नभई पार्टीको निर्णयलाई स्वीकार गरेका आफूलाई यस पटक विज्ञता र निरन्तरताको उच्च मूल्याङ्कन भएको उनको भनाइ छ ।
‘प्रतिनिधि सभा प्रत्यक्ष रूपमा जनताका विकास निर्माणका कामसँग जोडिन्छ, तर राष्ट्रिय सभाले गम्भीरताका साथ ऐन–कानुन र राष्ट्रिय नीतिहरू बनाउनमा ध्यान दिनुपर्छ,।’ उनले भने, ‘पार्टीभित्र धेरै प्रतिस्पर्धा हुन्छ, औसत मान्छे भएर मात्र पुग्दैन, आफूसँग मुद्दाहरूको विश्लेषण गर्ने क्षमता र विशेष योग्यता हुनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण