आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस र नेकपाका नेता–कार्यकर्ता रास्वपा प्रवेश, स्वर्णिम वाग्लेले गरे स्वागत

सोमबार, १२ माघ २०८२, १८ : ०८
सोमबार, १२ माघ २०८२

काठमाडौँ । गोरखाबाट विभिन्न दलका दर्जनौँ नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

नेकपा निकट वाइसीएलका पूर्व उपाध्यक्ष प्रेम श्रेष्ठको नेतृत्वको समूहलाई सोमबार रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी केन्द्रीय कार्यालयमा पार्टीको लोगो लगाइ औपचारिक रूपमा स्वागत गरेका हुन् । 

रास्वपा प्रवेश गर्नेहरूमा नेकपा, नेपाली कांग्रेस र प्रलोपाका जिम्मेवार नेतादेखि पूर्व सुरक्षा अधिकारीसम्म रहेका छन् ।

विशेष गरी वामपन्थी राजनीतिमा लामो समय सक्रिय रहेका नेकपा पर्यटन विभागका केन्द्रीय सदस्य नवराज अम्गाई, अमृत श्रेष्ठ, तेजकुमार विक र भरत भट्ट रास्वपाको अभियानमा जोडिएका छन्। उनीहरूले देशको राजनीतिक अभ्यासमा नयाँ सोच र वैकल्पिक धार आवश्यक भएको निष्कर्षसहित रास्वपा रोजेको बताएका छन् ।

यसैगरी, नेपाली कांग्रेसबाट गोरखा क्षेत्र नं. १ (क) का सचिव भरत रेग्मी र भक्त ढकालले पनि कांग्रेस परित्याग गरी रास्वपाको सदस्यता लिएका छन्।

उनीहरूले पुराना दलहरू जनताको अपेक्षा अनुसार अघि बढ्न नसकेको र राजनीतिक सुधारको आशा रास्वपाबाट मात्रै देखिएको धारणा व्यक्त गरेका छन् ।

सुरक्षा निकायबाट अवकाश प्राप्त पूर्व प्रहरी उपरीक्षक (एसपी) जीवन श्रेष्ठ पनि रास्वपामा प्रवेश गरेका छन्। उनीसँगै उत्तरकुमार श्रेष्ठलगायत विभिन्न क्षेत्रका अनुभवी व्यक्तिहरूले पनि पार्टी सदस्यता ग्रहण गरेका छन्। प्रशासनिक तथा सुरक्षा अनुभव भएका व्यक्तित्वहरूको बढ्दो सहभागिताले पार्टीलाई नीतिगत र सङ्गठनात्मक रूपमा थप सबल बनाउने अपेक्षा गरिएको छ ।

नवप्रवेशीहरूलाई स्वागत गर्दै रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले देश रूपान्तरणको महाअभियानमा अनुभवी, बौद्धिक र कर्मठ व्यक्तिहरूको आगमनले पार्टीलाई थप ऊर्जा प्राप्त भएको बताए । 

कार्यक्रममा बोल्दै नवप्रवेशी समूहका नेतृत्वकर्ता प्रेम श्रेष्ठले मुलुकको समृद्धि र परिवर्तनको स्पष्ट खाका रास्वपामा मात्रै देखिएकाले सामूहिक रूपमा पार्टी प्रवेश गर्ने निर्णय गरिएको स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप