शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : बालेनको सक्रियता बढ्दो, जनकपुर पुगे पूर्वराजा

सोमबार, १२ माघ २०८२, २२ : ००
सोमबार, १२ माघ २०८२

सारांश

  • बालेन शाहको सक्रियता बढ्दै गएको छ, रवि लामिछाने छायाँमा परेका छन्।
  • कांग्रेसमा गगन थापाले देउवा र कोइराला पक्षलाई कति स्थान दिने भन्ने चासो बढेको छ।
  • निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी परेको छ भने केपी ओली र बस्नेतको अभिव्यक्तिले मधेशमा एमालेलाई कस्तो प्रभाव पार्ला भन्ने चर्चा छ।

आज २०८२ माघ १२ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा बालेनको सक्रियता बढ्दो, कांग्रेसमा देउवा–शेखर पक्षकालाई कति ‘स्पेस’ देलान् गगनले ?, देशका तीन चर्चित निर्वाचन क्षेत्रका प्रत्येक वडामा कति मतदाता ?, बालेनविरुद्ध निर्वाचन आयोगमा उजुरी, ओली र बस्नेतको अभिव्यक्तिले मधेसमा एमालेलाई कस्तो प्रभाव पार्ला ?, ‘हेभीवेट’सँग प्रत्यक्षतर्फ निर्वाचनमा भिड्दैछन् कांग्रेसका ११ महिला लगायत छन् ।

१. बालेनको सक्रियता बढ्दो
राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेसँगै बालेन्द्र (बालेन) शाहको सक्रियता बढ्दो छ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा–५ मा उम्मेदवारी दर्ता गरेपछि पूर्वी पहाडी जिल्लाको भ्रमण सकेर काठमाडौँ फर्किएका उनी अहिले पश्चिम नेपालमा विभिन्न कार्यक्रमका साथ पुगेका छन् ।

२. कांग्रेसमा देउवा–शेखर पक्षकालाई कति ‘स्पेस’ देलान् गगनले ?
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णय अनुसार चाँडै नै केन्द्रीय कार्यसम्पादन समिति गठन हुने भएको छ । समिति गठनको जिम्मेवारी सभापति गगन थापालाई दिइएको छ । उक्त समितिमा सभापति थापाले शेरबहादुर देउवा र शेखर कोइराला पक्षलाई कति ‘स्पेस’ देलान् भन्नेबारे चासो बढेको छ ।

३. देशका तीन चर्चित निर्वाचन क्षेत्रका प्रत्येक वडामा कति मतदाता ?
आसन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा–५, सर्लाही–४ र रुकुम पूर्वलाई चर्चित निर्वाचन क्षेत्रका रूपमा हेरिएको छ । झापा–५ एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहको उम्मेदवारीका कारण चर्चामा छ । यस्तै सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपाबाट उम्मेदवार बनेका अमरेश कुमार सिंहबिच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ भने रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड उम्मेदवार छन् । यी तीन निर्वाचन क्षेत्र अन्तर्गत प्रत्येक वडामा कति मतदाता छन् भन्ने विवरण रातोपाटीले तयार पारेको छ । 

४. बालेनविरुद्ध निर्वाचन आयोगमा उजुरी
काठमाडौँ महानगरपालिकाका पूर्वनगर प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । बालेनले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिलाई लिएर उजुरी परेको हो । यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका पूर्वमन्त्री शक्ति बस्नेतसँग आयोगले निर्वाचन आचारसंहिता उल्लंघनको उजुरीका आधारमा स्पष्टीकरण सोधेको छ ।

५. ओली र बस्नेतको अभिव्यक्तिले मधेसमा एमालेलाई कस्तो प्रभाव पार्ला ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सोही पार्टीका सचिव महेश बस्नेतले मधेससँग सम्बन्धित विषयमा हालै दिएका अभिव्यक्ति विवादित बनेका छन् । उनीहरूको अभिव्यक्तिले मधेसमा एमालेलाई कति प्रभाव पार्ला भन्नेबारे लेखाजोखा हुन थालेको छ ।

६. ‘हेभीवेट’सँग प्रत्यक्षतर्फ निर्वाचनमा भिड्दैछन् कांग्रेसका ११ महिला
नेपाली कांग्रेसले प्रतिनिधि सभाको आसन्न निर्वाचनमा प्रत्यक्षतर्फ ११ महिलालाई उम्मेदवार बनाएको छ । उनीहरूले आ–आफ्नो क्षेत्रमा चर्चित तथा ‘हेभीवेट’ प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ ।

७. नेकपामा माओवादी पृष्ठभूमिका उम्मेदवारको लेखाजोखा
नेपाली कम्युनिस्ट पार्टीमा माओवादी पृष्ठभूमिका चर्चित पुराना उम्मेदवारमध्ये १० जना यस पटक पनि उम्मेदवार बनेका छन् । चर्चित र पुराना दुई जनाले भने साविकको दल त्यागेका छन् ।

८. बालेनको राजीनामासँगै काठमाडौँ महानगरले सार्वजनिक स्थानमा राखिएका कुर्सी हटाएको हो ?
काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदबाट बालेन शाहले राजीनामा दिएसँगै सार्वजनिक स्थलमा राखिएका बेन्च तथा कुर्सी हटाइएको भन्दै सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । यद्यपि काठमाडौँ महानगरले यस्तो हल्लामा सत्यता नरहेको दाबी गरेको छ ।

९. ६ महिनामै ६ लाख युवा बाहिरिए
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत विभिन्न राजनीतिक दल तथा उम्मेदवार गाउँ केन्द्रित हुन थालेका छन् । यद्यपि, रोजगारीका लागि युवाहरू विदेश जानुपर्ने बाध्यताका कारण गाउँ सुनसानजस्तै छ । पछिल्लो ६ महिनामा मात्र करिब ६ लाख युवा विदेश गएको तथ्याङ्क छ ।

१०. जनकपुर पुगे पूर्वराजा 
पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार जनकपुरधाम पुगेका छन् । परिवारका केही सदस्यसहित उनी जनकपुरधाम पुगेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप