रौतहटमा धार्मिक सद्भाव बिगार्ने प्रयासप्रति प्रशासन गम्भीर, शान्ति कायम राख्न अपिल
सारांश
- रौतहटको परोहा नगरपालिकामा सरस्वती पूजाको मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच झडप भएको थियो।
- ढुङ्गा प्रहारबाट तीन जना घाइते भएपछि प्रहरीले अश्रुग्याँस प्रहार गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो।
- जिल्ला प्रशासन कार्यालयले शान्ति कायम राख्न र अफवाह फैलाउने कार्य नगर्न सबैलाई आग्रह गरेको छ।
रौतहट । रौतहटको परोहा नगरपालिका–१ स्थित रामपुरखाप गाउँमा सरस्वती पूजाको मूर्ति विसर्जनका क्रममा दुई समुदायबिच मनमुटाव सिर्जना गराउने प्रयास भएको घटनाप्रति जिल्ला प्रशासन कार्यालय रौतहटले गम्भीर चासो व्यक्त गरेको छ।
प्रशासनले जारी गरेको अपिलमा स्थानीय समुदायलाई उत्तेजित बनाउने तथा समुदायबिच असमझदारी पैदा गर्ने गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएको छ। घटनापछि राजनीतिक दलहरूको सहभागितामा स्थानीय अगुवाहरूसँग छलफल गरी देखिएका समस्याहरू समाधानतर्फ पहल भइरहेको प्रशासनले जानकारी दिएको छ।
सोमबार अपराह्न सरस्वती माताको मूर्ति विसर्जनका लागि जाँदै गरेको समूहलाई लक्षित गर्दै मुस्लिम समुदायद्वारा ढुङ्गा प्रहार भएपछि अवस्था तनावग्रस्त बनेको थियो। ढुङ्गा प्रहारबाट तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले बताएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले ६८ राउण्ड अश्रुग्याँस प्रहार गरेको पनि उनले जानकारी दिएका छन्। घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दुई समुदायबिच थप विवाद उत्पन्न हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठुलो सङ्ख्यामा परिचालन गरिएको छ। हाल उक्त क्षेत्रमा पुनः तनाव नहोस् भनेर बाक्लो सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
यसैबिच जिल्ला प्रशासन कार्यालयले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिचको एकता, शान्ति र सद्भाव कायम राख्न सबै पक्षलाई संयतता अपनाउन आग्रह गरेको छ। अपिलमा राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय तह, सामाजिक तथा धार्मिक अगुवा, नागरिक समाज, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, युवा, कर्मचारी, सुरक्षाकर्मी तथा सम्पूर्ण रौतहटवासीलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरिएको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी अपिलमा शान्ति भङ्ग गर्ने गतिविधि नगर्न र अफवाहको पछि नलाग्न समेत अनुरोध गरिएको छ।
उता रौतहट क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार फिरदोस आलमले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेका छन्। निर्वाचनको समयमा केही तत्वले साम्प्रदायिक तनाव सिर्जना गरेर मतदातालाई प्रभावित पार्ने प्रयास गर्न सक्ने आशंका व्यक्त गर्दै उनले घटनाको सूक्ष्म अनुसन्धान गर्नुपर्ने बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण