बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पोखराबाट मोटरसाइकल चोरी गर्ने तीन बालक तनहुँमा पक्राउ

सीसीटीभी फुटेजको आधारमा यसरी समातिए
मङ्गलबार, १३ माघ २०८२, १४ : ०८
मङ्गलबार, १३ माघ २०८२

सारांश

  • पोखरामा पार्किङमा राखिएको मोटरसाइकल चोरी गर्ने तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।
  • चोरी भएको मोटरसाइकल खोज्ने क्रममा प्रहरीले सीसीटीभी फुटेजको आधारमा बालकहरूलाई पहिचान गरेको थियो।
  • पक्राउ परेका बालकहरूलाई चोरी मुद्दामा अनुसन्धानका लागि कास्की जिल्ला अदालतले म्याद थप गरेको छ।

पोखरा । पोखराबाट पार्किङ गरी राखिएको मोटरसाइकल चोरी गर्ने तीन जना बालकहरूलाई प्रहरीले तनहुँको आँबुखैरेनीबाट नियन्त्रणमा लिएको छ। गत माघ १० गते पोखरा महानगरपालिका वडा नं. २९ घोतघोतेस्थित एक पसल अगाडिबाट चोरी भएको ग ६ प ६६२४  नम्बरको पल्सर मोटरसाइकलसहित उनीहरू पक्राउ परेका हुन्।

मुसीटुँडा बस्ने सीताराम श्रेष्ठले आफ्नो मोटरसाइकल हराएको सूचना दिएलगत्तै इलाका प्रहरी कार्यालय शिशुवा कास्कीले अनुसन्धान सुरु गरेको थियो। घटनास्थल आसपासका सीसीटीभी फुटेजहरूको गहन अध्ययन गर्दा तीन जना बालकहरूले उक्त मोटरसाइकल चोरी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

खोजतलासका क्रममा कास्की प्रहरीले तनहुँको इलाका प्रहरी कार्यालय आँबुखैरेनीसँग समन्वय गरेको थियो। सोमबार बिहान ४:०० बजेको समयमा पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी-२ गणेश टोलबाट मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो। 

ती बालकहरूमाथि चोरी सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप