आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
टिकटमा धोखाधडी

जसले मधेसमा रास्वपा चिनायो, अन्तिममा उनकै टिकट काटियो

मङ्गलबार, १३ माघ २०८२, २१ : ०८
मङ्गलबार, १३ माघ २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीले मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मालाई टिकट नदिएपछि विवाद चर्किएको छ।
  • ममता शर्माले पार्टीले टिकट दिने आश्वासन दिए पनि अन्तिममा चन्दन सिंहलाई दिएको गुनासो गरिन्।
  • पार्टीका नेताहरूले टिकट वितरणमा विभिन्न टिमको संलग्नता रहेको र ममताको नाम काट्नुको कारण अज्ञात रहेको बताए।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मधेस प्रदेशका संस्थापक सभापति ममता शर्मालाई चुनावको टिकट नदिएपछि पार्टीभित्र आन्तरिक विवाद चुलिँदै गएको छ । 

ममता शर्मा बाराकी हुन् । उनी रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति हुन् । यसपालि टिकट पाउने आशामा रहेकी उनले अन्तिम समयमा टिकट नपाएपछि मधेस प्रदेशमा यो चर्चाको विषय बनेको छ । बारा–१ का क्षेत्रीय सभापतिसमेत रहेका रजनीश कुशवाहाले भने, ‘ममताजीलाई टिकट नदिँदा हामी बाराबासी छक्क परेका छौँ । मधेसमा रास्वपाको कोही पनि नभएको बेला ममताले साथ दिनुभएको थियो । त्यतिबेला मनीष झाको पनि अत्तोपत्तो थिएन, तर आज उहाँले नै टिकट नपाउँदा हामीलाई दुःख लागेको छ ।’ 

समानुपातिकमा पनि ममताले उम्मेदवारी दिएकी थिइन् । उनले प्राइमरी निर्वाचनबाट तेस्रो नम्बरमा नाम निकाल्न सफल भएकी थिइन्, तर लिस्ट बनाउँदा पार्टीले उनको नाम सात नम्बरमा पुर्‍याएको थियो, त्यसपछि उनले समानुपातिकमा बस्न अस्वीकार गरेकी थिइन् ।

पछि पार्टी सभापति रवि लामिछानेले नै मधेसमा प्रत्यक्षबाट चुनाव लड्नुपर्छ भनी आश्वासन दिएका थिए । अन्तिम समयसम्म टिकट दिने भनी उनलाई आश्वासन दिइएको थियो । तर बारा–२ मा अरू कसैले उम्मेदवारी दिएपछि मात्र ममताले आफूले टिकट नपाएको थाहा पाएको नेता जयसवाले बताए । 

रास्वपाकी नेतृ शर्माले भनिन्, ‘म राति १२–१ बजेसम्म जनकपुरमा टिकटका लागि होटलमा कुरेर बसेकी थिएँ । पार्टीका सभापतिज्यू, उपसभापति डीपी अर्यालज्यू, मनीष झाज्यूहरूसहित सबैले ‘टिकट तपाईंले नै पाउने हो, पख्नुस्’ भन्नुभएको थियो, तर राति एक–एक गरी उहाँहरू विभिन्न बहानामा होटलबाट निस्कनुभयो । कोही कता, कोही कता भएर जानुभयो । त्यसपछि दुई बजे राति मात्र म बारा फर्केँ ।’

मनीष झालाई सोध्दा उनले माघ ६ गते नै सबैलाई टिकट वितरण गर्ने हो, तपाईंले नै टिकट पाउने हो भनी अन्तिमसम्म त्यही भनेका उनले बताइन् । त्यसैअनुसार तयारीमा आफू लागे पनि अन्तिममा चन्दन सिंहलाई पार्टीले टिकट दिएको ममताले बताइन् । भनिन्, ‘मधेसमा रास्वपाको कोही नभएको बेला आठवटै जिल्लामा गएर संगठन बनाएँ, एक–एक मान्छे जोडेँ, तर जब अहिले पार्टी बन्यो अनि अर्को पार्टीबाट ल्याएर टिकट दिएको छ, त्यसमा दुःख लागेको छ ।’

आफू पार्टीमा सुरुदेखि लागेकी तर पटक–पटक आश्वासन दिएर आफूलाई पछाडि पार्दै आएको गुनासो गर्दै उनले भनिन्, ‘परिवर्तनका लागि लडेको रास्वपाजस्तो पार्टीमा मधेसकी एउटी महिलासँग विश्वासघात भएको छ । एक त मधेसका महिलाहरू राजनीतिमा आउन चाहँदैनन्, त्यसमाथि रास्वपालाई संकटको बेलामा साथ दिएँ, तर मलाई धोखा दियो, यसले मलाई दुःखी बनाएको छ ।’ 

रास्वपा मधेस प्रदेशका सभापति तपेश्वर यादवले पनि ममता शर्माको नाम एक नम्बरमै सिफारिस भएको थियो, तर अन्तिममा उनको नाम कसरी काट्यो भन्ने आफूलाई थाहा नभएको बताए । उनले भने, ‘मधेसमा रास्वपालाई जन्म दिने ममता नै हुन्, उनी टिकटकी हकदार थिइन्, तर केन्द्रले त्यस्तो किन गर्‍यो, त्यो आफ्नो जानकारी छैन ।’ 

यसपालि रास्वपाको टिकट विभिन्न माध्यमबाट वितरण भएको, बालेन, अमरेश सिंहलगायत टिमहरूबाट पनि टिकट वितरण भएकाले कुन टिमले ममताको नाम काट्यो भन्ने बुझ्न नसकिएको उनको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप