‘नेपाली युवाको भविष्य पपुलिजमको पछाडि लागेर सुरक्षित हुँदैन’
काठमाडौं । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय शंकर पोखरेलले बौद्धिक र शालीन नेताको परिचय बनाएका छन् । नेकपा एमालेको मार्ग निर्देशक सिद्धान्त जनताको बहुदलीय जनवादका व्याख्याता र मार्गदर्शकको रुपमा पनि पोखरेललाई लिइन्छ ।
वैचारिक, राजनीतिक र संगठनात्मक तीनै कुरामा कुशल मानिने पोखरेलको पछिल्लो समय भने पार्टी अध्यक्षका गलत निर्णयको साक्षी बनेको भन्दै आलोचना समेत हुने गरेको छ । २०१९ सालमा दाङको तुलसीपुरमा जन्मिएका पोखरेल २०५१ सालमा ३२ वर्षको उमेरमा संसदीय राजनीतिमा प्रवेश गरेका हुन् ।
पोखरेल लुम्बिनी प्रदेशका संस्थापक मुख्य मन्त्री पनि हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समेत सम्हालेको अनुभव उनीसँग छ । कम बोल्ने पोखरेललाई सीमित घेरामा रमाउने नेता भनेर पार्टीभित्रै आलोचना पनि हुने गरेको छ ।
२०३६ सालमा भएको विद्यार्थी आन्दोलन, २०४६ मा पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलन र २०६२/६३ मा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका पोखरेलले एमाले महासचिवको दोस्रो कार्यकाल भर्खरै प्रारम्भ गरेका छन् ।
आगामी फागनु २१ गते हुने निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका महासचिव पोखरेलसँग निर्वाचन, टिकट वितरणमा देखिएको विवाद, निर्वाचनमा एमालेले मत माग्ने आधार लगायत विषयमा रातोपाटीको ‘वारपार’मा कुराकानी गरिएको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न सकिन्छ) :
निर्वाचन हुने कुरामा एमालेलाई अझै पनि आशंका छ कि ?
निर्वाचनको वातावरणको कोणबाट हेर्ने हो भने अझै ढुक्क हुने स्थिति छैन । हामीले उठाएका प्रश्नहरूलाई सम्बोधन गरिएको छैन । खासगरी शान्ति सुरक्षाको कोणबाट नेपाल प्रहरीको मनोबल उच्च बनाइनु पर्थ्यो । प्रहरीमाथि प्रहार गर्नेहरू, प्रहरीलाई हत्या गर्नेहरू, प्रहरीका हतियार खोस्नेहरू, प्रहरीका पोसाक लगाएर हिँड्नेहरू कारबाहीको दायरामा आएका छैनन् ।
त्यसले गर्दा प्रहरीको मनोबल कति बढ्यो होला भन्ने कुरामा आशंका नै छ । अर्कोतर्फ लुटेका हतियारहरू, भागेका कैदीबन्दीहरू, गोलीगठ्ठाहरू, पोसाकहरू बाहिर हुँदा त्यसको दुरुपयोग हुँदैन भन्ने कुराको सुनिश्चितता छैन ।
यति भनिरहँहदा निर्वाचनमा त भाग लिनुभएको छ त ?
सरकार आफूले प्राप्त गरेको कार्यादेशअन्तर्गत चुनाव गराउने पक्षमा उभिएको छ । खासगरी प्रधानमन्त्री चुनाव गराइछाड्ने मुडमा हुनुहुन्छ । निर्वाचन आयोगले तयारीको काम गरिरहेको भन्दैछ । निर्वाचन हुने भएपछि निर्वाचनबाट बाहिरिने कुरा उचित हुँदैन भन्ने हाम्रो मान्यता हो । लोकतन्त्र डिरेल भएको छ । प्रतिगमनतर्फ मुलुक गएको छ । त्यसलाई सही बाटोमा ल्याउन जनमतको स्थापना नै उपयुक्त बाटो हो भन्ने हाम्रो मान्यता हो ।
यो चुनावले मुलुक सही बाटोमा आउँछ भन्ने विश्वास चाहिँ छ ?
चुनाव हुन सक्यो र चुनावले जनादेशलाई रिफ्लेक्ट गर्यो भने त्यसबाट पनि लोकतन्त्र स्थापित हुन्छ । त्यस अर्थमा चुनौती हुँदाहुँदै त्यो प्रक्रियामा सामेल हुने हिसाबले हामी संलग्न भएका छौँ ।
निर्वाचन हुन्छ कि हुँदैन एउटा आंशका होला । तर एमालेले निर्वाचन हुन दिन्छ कि दिँदैन भन्ने अर्को आशंका पनि छ नि ?
चुनाव गर्न खोजेको हो भने चुनावको तरिकाबाट जानुपर्यो । चुनाव बिथोल्न खोजेको हो भने त अनेक बहानाहरू त फेला परिहाल्छन् नि । तर एमाले चुनावबाट भाग्ने पार्टी चाहिँ होइन ।
चुनाव कसैले बिथोल्न खोजिरहेको आभास छ एमालेलाई ?
गतिविधिहरू हेर्दाखेरि त्यस्तै देखिन्छन् ।
कस्ता र कसका गतिविधि ?
अदालतमा मुद्दा विचाराधीन अवस्थामा छन्, त्यसको टुङ्गो लागेको छैन । कतिबेला के हुने हो भन्ने कुराको अन्योल कायमै छ । अर्कोतिर राजनीतिक दलहरू निर्वाध ढंगले चुनाव प्रचारको प्रक्रियामा संलग्न भएका छैनन् । निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेको छ, निर्वाचन प्रचारमा रोक लगाएको छ । अहिले तुरुन्तै निर्वाचनसम्बन्धी गतिविधि गर्न त मिल्दैन ।
यो खालका कतिपय विरोधाभाषी कुराहरू पनि छन् । अर्कोतिर बालेनहरू भिड जम्मा गरेर घुमिराखेका छन् । अरु पार्टीले भिड जम्मा गर्यो भने आचारसंहिताको कुरा हुन्छ, बालेनका हकमा आचारसंहिताको विषय छैन ।
बालेनलाई स्पष्टीकरण सोधिसक्यो त निर्वाचन आयोगले ?
स्पष्टीकरण सोध्नु र यात्रा रोक्नु बिच भिन्नता हुन्छन् । यात्रा जारी छ, स्पष्टीकरण सोध्ने कुराको के अर्थ हुन्छ ?
त्यसो भए बालेनजीले जुन यात्रा गरिराखेका छन्, त्यो रोक्नुपर्छ भन्ने हो ?
चुनाव प्रचार हो भने सबैलाई खुला गरिदिनुपर्यो । तर अहिले चुनाव प्रचार गर्न त निर्वाचन आयोगले दिएको छैन ।
बालेन त अहिले जिल्ला घुमिराखेका मात्रै न छन् । यसो हेर्दा बाटोघाटो मात्रै घुमिरहेको देखिन्छ, होइन र ?
जे गरे पनि आखिर त्यसको प्रयोजन के हो भन्ने कुरा लुकेको कुरा छ र ?
तपाईंको विचारमा यसअघिका निर्वाचन र अहिलेको निर्वाचनमा मुद्दाका हिसाबले, वातावरणका हिसाबले के–के फरक देख्दै हुनुहुन्छ ?
विश्व व्यवस्थामै फेरबदल आइराखेको छ । खासगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व विश्वयुद्ध पूर्वको अवस्थामा प्रवेश गरेको भनेर घोषणा गरेका छन् ।
घोषणा मात्रै होइन, केही काम त गरिसके पनि ट्रम्पले । होइन ?
ट्रम्पले अमेरिकी सरकारको इन्ट्रेस्ट अन्तर्गत विश्व व्यवस्था सञ्चालन गर्न खोज्नुभएको छ । त्यहाँ संयुक्त राष्ट्र संघ, त्यसका चार्टरहरू, विश्व संस्थाहरू, त्यसका अभिसन्धिहरू अहिले निलम्बनमा छन् ।
अमेरिकी राज्य व्यवस्थाभन्दा पनि ट्रम्पको आफ्नो नीति र आदेशले चलेको देखिन्छ नि होइन र ?
ट्रम्पका आदेशमा विश्व व्यवस्था सञ्चालन गर्ने कोसिस भएको छ । यसले साना राष्ट्रहरूको सोभरेन्टी (सार्वभौमिकता)माथि त्यसको भौगोलिक अखण्डतामाथि गम्भीर जोखिम उत्पन्न हुन्छ । नेपालमा जे घटना घटाइयो भदौ २३–२४ गतेका दिन, त्यो स्वाभाविक रूपमा भूराजनीतिक द्वन्द्वको एउटा पटाक्षेप हो भन्ने हामीले बुझ्नुपर्छ ।
ट्रम्पले आफ्नै निर्देशनमा विश्व व्यवस्था चलाउन खोजिरहेका छन् अर्थात् मेरो निर्देशनमा विश्व व्यवस्था चलोस् भन्ने हिसाबले अभ्यास गरेको देखिन्छ । नेपालमा भदौ २३ र २४ गते भएको घटनालाई त्यहीसँग जोड्न खोज्नुभएको हो ?
पछिल्लो समय पुँजीवादी साम्राज्यवादीहरूको एउटा प्रयोग डिप स्टेटका नाममा प्रयोग सुरु भएको छ । सोसल मिडियाका माध्यमबाट त्यसका योजनाहरूलाई कार्यान्वयन गर्ने काम हुने गर्छ ।
डिप स्टेट भनेको चाहिँ के रहेछ ? कतै तपाईंहरुको मनोगत कुरा मात्र हो कि ?
वैधानिक राज्यसत्तालाई कमजोर बनाउन राज्यसत्ताभन्दा बाहिर शक्ति निर्माण गर्ने रणनीति हो । साम्राज्यवादी र पुँजीवादीहरूको रणनीति हो यो ।
त्यसअन्तर्गत चाहिँ के–के हुने रहेछ ?
सत्ताभन्दा बाहिर शक्ति निर्माण गरिन्छ ।
नेपालमा यस्तो अभ्यास यसअघि पनि भएको थियो ?
पञ्चायतकालमा भूमिगत गिरोह भन्ने चलन थियो । त्यो दरबारभित्रको शक्ति संघर्षको परिणाम थियो । उदाहरणका रूपमा सरकार भन्दा गोविन्द केसीलाई शक्तिशाली बनाइयो स्वास्थ्य शिक्षाका मामिलामा । फलस्वरुप आज नेपालको स्वास्थ्य, शिक्षा धरासायी भयो । नेपालको नर्सिङ शिक्षा अत्यन्त गुणस्तरीय थियो, त्यसलाई कोल्याप्स गरियो ।
गोविन्द केसीलाई यस्तो प्रकारको नायक बनाइयो कि सरकारले ऊसँग हरदम सम्झौता गरोस् । यो एक प्रकारको डिप स्टेटको फर्मुलाअन्तर्गत गरिने अभ्यास हो ।
डिप स्टेटको थप व्याख्या गरिदिनुस् त ।
खास व्यक्तिहरूलाई लोकप्रिय बनाइन्छ । उनीहरूलाई अन्तर्राष्ट्रिय पुरस्कारद्वारा सम्मानित गरिन्छ र सत्ताका विरुद्ध परिचालित गरिन्छ । अर्कोतर्फ राज्यसत्ताका अङ्गहरूबिचमा कन्फ्लिक्ट सिर्जना गरिन्छ । मुलुकमा भएका प्रमुख शक्तिहरूका नेतृत्वकर्ताहरूलाई बदनाम गर्ने अभियान चलाइन्छ ।
भ्रष्टाचारका नाममा, अरु के-केका नाममा बदनाम गर्ने कोसिस गरिन्छ । अन्त्यमा सोसल मिडियाको माध्यमबाट कथित कलर रिभोलुसनका नाममा जनता भड्काउने काम गरिन्छ । हाम्रो मुलुकमा चाहिँ जेनजीका नाममा नवयुवाहरूलाई भड्काउने काम भयो । हाम्रोमा भदौ २४ गतेका दिन मुलुक राज्यविहीनताको स्थितिमा पुग्यो । राष्ट्रको अस्मितामाथि धावा बोल्ने काम भयो ।
डिप स्टेटको अभ्यास भएका अन्य मुलुक पनि छन् ?
पाकिस्तानमा कहिले संसद् र सरकारका बिचमा, कहिले सेना र सरकारका बिचमा, कहिले अदालत र सरकारका बिचमा द्वन्द्व गराएर अस्थिरता निम्त्याइयो । त्यो पनि डिप स्टेटकै खेल हो ।
यी र यस्ता कुरा संसारभर हुन्छन् । त्यही रोक्न हामीलाई राज्य चाहिएको होला । सरकार चाहिएको होला । सरकारको नेतृत्व चाहिएको होला । त्यसले रोक्न सकेन भन्न चाहिँ मिल्दैन ?
निश्चित रूपमा षडयन्त्रका सामु राज्य निरीह सावित भयो । यसलाई त स्वीकार्नै पर्छ ।
त्यो बेलामा तपाईं महासचिव भएकै पार्टीका अध्यक्षले देशको नेतृत्व गर्नुभएको थियो त ।
उहाँले राजीनामा दिनुपर्ने परिस्थिति उत्पन्न भयो । राज्यका सुरक्षा अङ्गले हात उठाउने स्थिति उत्पन्न भयो । राज्यले ट्याकल गर्नै सकेन । त्यसलाई कमजोरीका रूपमा मानिन्छ । राज्य कमजोर भयो ।
तपाईंहरु बारम्बार भन्नुहुन्छ– देश जलाउने र देश बनाउनेबिचको चुनाव । यो कसलाई भन्नुभएको ?
भदौ २४ गते बिहानै नख्खुबाट हात हल्लाउँदै विजयको भावमा रवि लामिछाने बाहिर निस्किनुभयो । रवि लामिछानेलाई प्रधानमन्त्रीका रूपमा चर्चामा ल्याइयो । एक प्रकारले भन्ने हो भने विद्रोहको स्टेक होल्डर उहाँ बन्न खोज्नुभयो । मेरा लागि भएको विद्रोह हो म तयार छु भन्दै आउनुभयो । बालेनले गुप्त कोठामा बसेर खबरदार भनेर क्याम्पेन चलाउनुभयो । उत्साहित भएका रवि लामिछाने निराश हुँदै फेरि झोला बोकेर नख्खु फर्किनुभयो । अहिले आएर त्यही रवि लामिछानेको पार्टीमा वरिष्ठ नेताको रूपमा प्रधानमन्त्रीको क्यान्डिडेटका रूपमा बालेन शाह आउनु के सामान्य घटना हो र ?
तपाईंले कुनै समय भन्नुभएको र आलोचना पनि खेप्नुभएको विषय दुईदलीय व्यवस्थामा मुलुक जानुपर्छ भन्ने थियो । यो अहिले पनि कायम छ कि ? खण्डित भयो ?
मैले टु–पार्टीको कुरा गरेको होइन । दुईवटा शक्तिको कुरा गरेको हो । शक्ति त पार्टीमै रिफ्लेक्ट हुन्छ नि । लोकतान्त्रिक बाटोबाट समाजवाद निर्माणका विश्वमा प्रचलित दुईवटा बाटा हुन्छन् । एउटा प्रजातान्त्रिक समाजवाद, अर्को वैज्ञानिक समाजवाद । अर्थात् नेकपा एमालेको भाषामा भन्ने हो भने समाजवादी लोकतन्त्र ।
संविधानले दुईवटा बाटो निर्दिष्ट गर्छ । नेपालका राजनीतिक दलहरू संविधानको बाटोमा हिँड्ने हो भने दुईतिर ध्रुवीकृत हुनुपर्छ । एउटा बाटोको नेतृत्वमा कांग्रेस देखिएको छ भने अर्को बाटोको नेतृत्वमा एमाले देखिएको छ ।
तपाईंले दुईवटा ध्रुव भन्नुभएको थियो त्यतिखेर । एउटा शक्तिको नेतृत्व एमालेले गर्छ, अर्को शक्तिको नेतृत्व कांग्रेसले गर्छ । बाँकी यिनैका पछि लाग्छन् । अब त्यो समीकरण जस्ताको तस्तै छ कि ? त्यो ध्रुव परिवर्तन भइसक्यो भन्ने मेरो जिज्ञासा हो ।
अहिले चुनौती उत्पन्न भएको छ । खलबलिएको छ । नयाँ–नयाँ पार्टीहरू जन्मिएका छन् । तर यो अस्थायी फिनोमेना हो । नेपालको राजनीति सही दिशातर्फ अगाडि बढ्ने हो भने फर्किने बाटो त्यही नै हो ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई तपाईंले धेरै मन पराउनुभएन जस्तो देखियो, किन ?
मैले टिप्पणी त गरेको छैन । त्यो नेपाली कांग्रेसको आन्तरिक मामिला हो ।
गगन थापाजीको भाषणप्रति लक्षित गरेर एउटा स्टाटस लेख्नुभएको थियो त ? दास र लास भन्ने भनाइमा ।
उहाँले गरेको गलत टिप्पणीको त विश्लेषण त गर्नैपर्यो नि ।
उहाँले एमालेको नाम लिनुभएको त थिएन नि ?
मैले पनि कसैको नाम लिएर लेखेको छैन ।
पार्टी अध्यक्ष र एकजना पार्टी सचिवले मधेस विरोधी अभिव्यक्ति दिनुभयो । यसमा तपाईंको प्रतिक्रिया ?
भाषा नबुझ्दाखेरिको अभिव्यक्तिलाई लिएर धेरै टीकाटिप्पणी गर्नु उचित होइन । भाषा नबुझ्न पाइन्छ ।
नबुझी टिप्पणी नगर्नु नि त ।
उहाँले मैले कमी गरेँ भनेर आत्मालोचना गरेपछि सकियो होला नि । त्यही विषय उठाइरहनुपर्छ त ?
अध्यक्षले जनकपुर र महोत्तरी जस्तो दमक फोहोर छैन भनेको विषय नि ?
कहिलेकाहीँ बिम्बहरू प्रयोग गर्दा के प्रयोग गर्ने भन्ने कुरामा ध्यान दिएको भए हुन्थ्यो भन्ने मलाई लाग्छ । तर अब हामी चलनचल्तीको भाषामा फलानो ठाउँ चाहिँ पछाडि परेको ठाउँ भन्ने अर्थमा चित्रण गर्दा आर्थिक-सामाजिक विकासका हिसाबले पछाडि परेको ठाउँ र अगाडि बढेको ठाउँ भन्ने अर्थमा चित्रण गर्ने कुरालाई अपमानको विषय ठान्नु हुँदैन ।
झापा–५ मा पार्टी अध्यक्षसँग प्रतिस्पर्धाका लागि बालेन शाह गएका छन् । कति डर लागेको छ ?
चर्चामा आउन गरिएको काम भएकाले चर्चा त भइहाल्छ । त्यसमा पार्टीका तर्फबाट भन्नुपर्ने कुरा केही छैन । किनकि हाम्रो पार्टी त्यहाँ बलियो छ, परिणामका सन्दर्भमा हामीलाई कुनै चिन्ता छैन ।
अहिलेको निर्वाचनमा एमालेको अवस्थाबारे के आँकलन गर्नुभएको छ ? एमालेको पोजिसन कस्तो होला ?
हामी पहिलो शक्तिका रूपमा स्थापित हुन्छौँ । हाम्रो कोसिस बहुमत प्राप्त गर्ने रहन्छ । तर हामी पहिलो पार्टीका रूपमा चाहिँ जित हासिल गर्छौँ ।
टिकट वितरणमा एकपक्षीय गरियो । इतर पक्षलाई अन्याय गरियो भन्ने छ । किन यस्तो गरियो ?
मलाई त्यस्तो लाग्दैन । आकांक्षा राख्ने सबैले टिकट प्राप्त गर्छन् भन्ने होइन । टिकट नपाउने जति अयोग्य हुन् भन्ने पनि होइन । आखिर एउटा निर्वाचन क्षेत्रमा एक जनालाई टिकट दिन सक्छौँ । जसले पाउनुभयो उहाँलाई त्यतिबेलाका लागि उपयुक्त ठान्यो पार्टीले ।

मापदण्ड पनि अरुलाई लाग्ने । आफू निकट खास गरेर भर्खरै सकिएको महाधिवेशनमा आफूलाई सहयोग गर्नेलाई नलाग्ने । त्यस्तो पनि हुन्छ र ?
महाधिवेशनका समयमा प्यानलमा परेका मान्छेहरूको सूची र अहिले देखिएका सूची पल्टाएर हेर्नुभयो भने उल्लेख्य संख्यामा पार्टी अध्यक्षको प्यानलभन्दा बाहिर भएका साथीहरू उम्मेदवार हुनुहुन्छ ।
मापदण्ड किन मिचिएको त ?
मापदण्ड मिचिएकै छैन ।
कांग्रेसको विशेष महाधिवेशनले पनि तपाईंहरुलाई सेटब्याक भयो । यदि शेरबहादुर देउवाजी सभापति नै रहनुभएको भए तालमेल गर्दै हुनुहुन्थ्यो क्यारे, होइन ?
त्यो तहमा छलफल पुगेको थिएन । संस्थागत हिसाबले हामी कुनै निष्कर्षमा पुगेका थिएनौँ । बरु प्रचण्डजीको प्रस्ताव चाहिँ प्रमुख नेताको हकमा मात्रै तालमेल गरौँ भन्ने थियो । तर हामी कुनै निष्कर्षमा पुगेका थिएनौँ ।
विप्लवजीसँगको चुनावी तालमेल चाहिँ नितान्त महासचिवका लागि मात्रै गरियो भन्ने कुरा आएको छ । यसमा भएको के हो ?
तालमेल भएकै छैन । विशुद्ध महासचिवका लागि गरियो भन्ने कुरा नै होइन । तालमेल हुन्थ्यो भने त लिखित भइहाल्थ्यो नि ।
तालमेलबारे कुरै भएको छैन त ?
उहाँहरूले तालमेलको प्रस्ताव राख्नुभएको हो, हामीले छलफल गरौँला भनेका थियौँ । जब हामीले छलफलका लागि उहाँहरूलाई अनुरोध गर्यौं, उहाँहरू आउनुभएन । आउनुभएको भए केही न केही छलफल हुन्थ्यो, एउटा निष्कर्षमा पुगिन्थ्यो होला ।
तपाईं दाङ क्षेत्र नम्बर २ बाट प्रत्यासी हुनुहुन्छ । पहिला पनि झिनो मतले पराजित हुनुभयो । अहिले चाहिँ तयारी कस्तो छ ?
अहिले अलग–अलग उम्मेदवार भएको अवस्थामा हामी एक प्रकारले सुरक्षित अवस्थामै छौँ । परिणाम त चुनाव नै सुरू नभई मैले कसरी जवाफ दिने ?
रास्वपाको घण्टीले कत्तिको झड्का दिइरहेको छ ? बालेन शाह हिँड्दा मात्रै पनि भिडभाड देख्नुहुन्न ?
मान्छे जम्मा हुनु अनौठो कुरा होइन । त्यही ठाउँमा बालेन दोस्रो पटक जाँदा त्यो भीड देखिन्छ होला र ? एक पटक जाँदा देखिएको भिड निर्णायक हुन्छ र ?
घोषणापत्र त लेख्दै हुनुहुन्छ होला । आफ्नै नेतृत्वमा सरकार भएको बेला देश खरानी भयो । एमाले जनतासँग के एजेण्डा लिएर भोट माग्न जाँदैछ ?
राष्ट्र, लोकतन्त्र, संविधान, समावेशिता, गणतन्त्रमाथि चुनौती आएको छ, त्यसको सामना हामी गर्छौँ र रक्षा गर्छौँ । मुलुकलाई लोकतन्त्रको दिशामा फर्काउँछौँ । पहिलो एजेन्डा यही नै हो ।
दोस्रो, नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा छ । यदि हामीले देशभक्त शक्तिलाई चुनाव जिताउन सकेनौँ र कठपुतलीहरूले चुनाव जिते भने नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डता असुरक्षित हुन्छ । यतिबेला देशभक्त शक्तिलाई बलियो बनाउन आवश्यक छ र त्यो देशभक्त शक्तिका रूपमा जनताले पटक पटक अनुभव गरेको बलियो शक्ति नेकपा एमाले हो ।
तेस्रो, मुलुकमा विकास र समृद्धिको यात्रा कसको पालामा प्रभावकारी भयो भन्ने कुराको सन्दर्भका बारेमा कुनै बहस गर्नुपर्ने विषय नै होइन । जतिबेला केपी ओली प्रधानमन्त्री हुनुभयो, त्यतिबेलै रणनीतिक विकासका कामहरूको थालनी भयो । थुप्रै महत्त्वपूर्ण आयोजना सम्पन्न भए र सम्पन्न हुने क्रममा छन् । त्यो प्रकृतिको काम अरु कसैले गर्न सकेका छैनन् । एमालेले गर्छ र भविष्यमा पनि गर्नेछ भन्ने हाम्रो कुरा हो ।
अर्को, नेपालको सन्दर्भमा सामाजिक सुरक्षाको अवधारणा र नेतृत्वकर्ता नै एमाले हो । चौथो कुरा, नेपालका युवाहरूको भविष्य पपुलिजम र एनार्किजमका पछाडि लागेर होइन, बलियो राष्ट्रिय शक्तिको छहारीमुनि मात्रै सुरक्षित हुनसक्छ । युवाहरूको भविष्यलाई कसैले सुरक्षित गर्छ भने त्यो एमाले पार्टी हो भन्ने कुरालाई बोकेर हामी नवयुवाहरूका बिचमा जान्छौँ ।
तपाईंले राष्ट्रिय स्वाधीनताको मूल मुद्दा भन्नुभयो । राष्ट्रिय स्वाधीनता त एमालेले सरकारको नेतृत्व गरेकै समयमा जोगिएन त भन्ने प्रश्न पनि आउँला नि त ? अनि विकास र समृद्धिको गरेको कुरा गर्दा राम्रै–राम्रो गर्नुभएको थियो भने बालुवाटार छोडेर किन भाग्नुभएको त ? भनेर प्रश्न पनि त आउला नि त ?
त्यो त षडयन्त्रका सामु, मूर्खताका सामु, भिडका सामु हामीले राम्रो काम गरेका छौँ भनेर बहस गर्ने कि भविष्यमा बहस गर्नका लागि सुरक्षित हुने ? कसैले पनि मूर्खतापूर्ण ढङ्गले आक्रोशित भिडका सामु गएर बहस गर्दैन ।
फोटो/भिडियो : मनोज खड्का
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण