शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

संसद् पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन कांग्रेस पूर्व सांसदहरूले प्रधानन्यायाधीशको ध्यानाकर्षण गराउने

बुधबार, १४ माघ २०८२, १७ : २८
बुधबार, १४ माघ २०८२

सारांश

  • कांग्रेसका पूर्व सांसदहरूले प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन प्रधानन्यायाधीशको ध्यानाकर्षण गराउने भएका छन्।
  • पूर्व सांसदहरूको टोलीले रिट छिटो अगाडि बढाउन भोलि प्रधानन्यायाधीशसँग भेट्ने समय लिएको छ।
  • श्यामकुमार घिमिरेले रिटको सुनुवाइ अगाडि बढाउन ध्यानाकर्षण गराइने बताएका छन्, र एमाले सांसदलाई पनि खबर गरिएको छ।

काठमाडौँ । सर्वोच्च अदालतमा परेको प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन कांग्रेसका पूर्व सांसदहरूले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको ध्यानाकर्षण गराउने भएका छन् ।

विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक रहेका श्यामकुमार घिमिरे नेतृत्वको पूर्व सांसदहरूको टोलीले आफूहरूको रिट छिटो अगाडि बढाउन ध्यानाकर्षण गराउनका लागि प्रधानन्यायाधीश राउतसँग बिहीबारका लागि समय लिएको हो ।

घिमिरेले कांग्रेस एमालेलगायतले दायर गरेको रिटको सुनुवाइ अगाडि बढाउन भोलि (बिहीबार) प्रधानन्यायाधीश राउतलाई भेटेर ध्यानाकर्षण गराइने जानकारी दिए ।

‘कांग्रेस एमालेलगायतका दर्जन बढी रिट संसद् पुनर्स्थापना माग गर्दै परेका छन् । सर्वोच्च अदालतले अहिलेसम्म त्यो रिटको पेसी तोकेन । आलटाल गरिरहेको छ,’ घिमिरेले रातोपाटीसँग भने, ‘रिट परेपछि त्यसलाई टुङ्ग्याउनुपर्छ । जे हो न्यायालयले संविधानको व्याख्या गर्नुपर्छ । पेसी तोक्नुस्, सुनुवाइ गर्नुस् र मुद्दा टुङ्ग्याउनुस् भन्दै भोलि ध्यानाकर्षण गराउन प्रधानन्यायाधीशको समय लिएका छौँ ।’

घिमिरेले एमालेका सांसदलाई पनि सर्वोच्च जानका लागि खबर गरेको जानकारी दिए । कांग्रेसका ६५ पूर्व सांसदले संसद्  पुनर्स्थापनाका लागि रिट दायर गरेका छन् । 

काठमाडौँ उपलब्ध पुनर्स्थापनाका लागि रिट दायर गर्ने सबै पूर्वसांसद भोलि सर्वोच्चमा जाने घिमिरेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप