दुई दशकपछि फेरि सञ्चालन हुने तयारीमा काठमाडौँ-ल्हासा बस
सारांश
- काठमाडौं-ल्हासा सिधा बस सेवा पुनः सञ्चालन गर्न चीनमा भएको बैठकमा सहमति भएको छ।
- २०६२ मा सुरु भएको यो सेवा प्राविधिक, भू-राजनीतिक, र व्यावहारिक कारणले १० महिनामै बन्द भएको थियो।
- यातायात व्यवस्था विभागले बस सेवा सञ्चालनका लागि रुट परमिट जारी गर्न तयार रहेको जनाएको छ।
काठमाडौँ । दुई देशबिचको पर्यटन र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले दुई दशकअघि सुरु भएको काठमाडौँ–ल्हासा सिधा बस सेवा पुनः सञ्चालनको चर्चा चुलिएको छ । हालै चीनमा सम्पन्न नेपाल–चीन वाणिज्य सचिवस्तरीय बैठकमा यो सेवालाई ब्युँताउने सहमति भएको छ ।
माघ ६ र ७ गते (२०२६ जनजरी २० र २१) चीनमा भएको नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्र (नेपाल–चाइना कोअर्डिनेसन मेकानिजम अन बोर्डर ट्रेड एण्ड कर्पोरेसनको तेस्रो वाणिज्य सचिवस्तरीय बैठकमा काठमाडौँ–ल्हासा बस सञ्चालन गर्न दुई देशबिच सहमति भएको छ ।
चीनको सिजाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासामा भएको उक्त बैठकमा द्विपक्षीय व्यापार, भन्सार सहजीकरण, पूर्वाधार विकास लगायतका सहकार्यका विषयमा सहमति भएको थियो । जसमा नेपाली प्रतिनिधिमण्डल नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव डा. रामप्रसाद घिमिरेले गरेका थिए भने चिनियाँ पक्षको नेतृत्व सिजाङ जनसरकारका उपाध्यक्ष महामहिम चाओ पेङले गरेका थिए ।
नेपाल र चीनबिच यातायात सम्झौता भएको ११ वर्ष लामो पर्खाइपछि २०६२ वैशाख १६ गते काठमाडौँ–ल्हासा बस सेवा औपचारिक रूपमा सञ्चालनमा आएको थियो । सिधा बस सेवाले दुई देशको सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा गरिएपनि यो सेवा १० महिनाभन्दा बढी सञ्चालन हुन सकेन । त्यसयता, २०६६ र २०७३ सालमा पनि सेवा पुनः सुचारु गर्ने प्रयास भए, तर ती प्रयास कागजमै सीमित रहे । अहिले भने पुनः सञ्चालन गर्ने तयारी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव एवं विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख इन्जिनियर सुशीलबाबु ढकाल काठमाडौँ–ल्हासा बस सेवा सञ्चालन हुनुपर्नेमा मन्त्रालयको स्पष्ट र सकारात्मक धारणा रहेको बताउँछन् ।
‘यो बस सञ्चालनका लागि मन्त्रालय तयार छ । सुरक्षा लगायतका सबै मापदण्ड पूरा गरेर दुवै देशबीच सहज आवागमनको व्यवस्था हुनुपर्छ,’ उनी भन्छन्, ‘काठमाडौँ–ल्हासा बस सेवा केवल यातायातको साधन मात्र होइन, यो नेपाल र चीनबिचको कनेक्टिभिटी, पर्यटन र व्यापारमा दिगो र फलदायी हुने देखिन्छ ।’
के छ विभागको तयारी ?
हालैको वाणिज्य सचिवस्तरीय बैठकमा सहमति जुटेको छ भने यातायात व्यवस्था विभाग पनि आधिकारिक निर्देशनको पर्खाइमा रहेको बताएको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले काठमाडौँ–ल्हासा बस सञ्चालनका लागि सेवा प्रदायकहरुलाई रुट परमिट स्वीकृति दिन तयार रहेको बताएका छन् । ‘सरकारले आधिकारिक निर्देशन गरेपछि हामी यहाँबाट रुट परमिट जारी गर्न तयार छौँ । पहिला कसले बस सेवा सञ्चालन गर्ने हो ? उहाँहरु आउनुपर्यो,’ उनी भन्छन् ।
सम्झौता भएको ११ वर्ष लामो पर्खाइपछि २०६२ वैशाखदेखि काठमाडौँ–ल्हासा बस औपचारिक रूपमा सञ्चालनमा आएको थियो भने १० महिनामै बन्द भएको थियो । यो बस सेवा बन्द हुनुमा प्राविधिक, भू–राजनीतिक, नीतिगत र व्यावहारिक कारणहरू मुख्य जिम्मेवार रहेको यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेल बताउँछन् ।
विभागका निर्देशक श्रीकान्त यादवका अनुसार ६ महिनाअघि नै केही निजी सेवा प्रदायकहरूले बस सञ्चालनका लागि विभागमा प्रस्ताव पेस गरिसकेका छन् । ‘हामीले ६ महिनाअघि नै सेवा प्रदायकहरूको प्रस्तावमा सकारात्मक भएर सिफारिस गरेका थियौँ । अब वाणिज्य सचिव स्तरबाट सहमति भएको सुनिएको छ । आधिकारिक निर्देशन आउनासाथ हामी रुट परमिट जारी गर्न र चिनियाँ बसलाई नेपाल प्रवेशको अनुमति दिन तयार छौँ,’ उनी भन्छन् ।
यसअघि २०६६ साल कात्तिकमा नेपाल पर्यटन वर्ष २०११ लाई लक्षित गर्दै सेवा सुचारु गर्ने तयारी गरिएको थियो । त्यसबेला तिब्बत टुरिजम एडमिनिस्ट्रेसनका कार्यकारी निर्देशक सोनपिङ वाङले सन् २०१० को फेब्रुअरीदेखि बस चलाउने बताएका थिए । यस्तै, २०७३ असारमा पनि पर्यटन विभागका तत्कालीन महानिर्देशक सुदर्शन ढकालले नयाँ मोडालिटीसहित बस चलाउने सहमति भएको जानकारी गराएका थिए । तर उपयुक्त ‘मोडालिटी’ तय नहुँदा ती योजना कार्यान्वयनमा आएनन् ।
किन बन्द भएको थियो बस सेवा ?
सम्झौता भएको ११ वर्ष लामो पर्खाइपछि २०६२ वैशाखदेखि काठमाडौँ–ल्हासा बस औपचारिक रूपमा सञ्चालनमा आएको थियो भने १० महिनामै बन्द भएको थियो । यो बस सेवा बन्द हुनुमा प्राविधिक, भू–राजनीतिक, नीतिगत र व्यावहारिक कारणहरू मुख्य जिम्मेवार रहेको यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेल बताउँछन् । उनका अनुसार भारतसँगको खुला सिमानाका कारण दिल्ली–काठमाडौँ बस सेवा सञ्चालनमा कुनै जटिलता छैन । भारत जान पासपोर्ट र भिसाको आवश्यकता पर्दैन । अहिले सहज रुपमा बस सेवा सञ्चालनमा छ । तर चीनसँगको यात्रामा पासपोर्ट र भिसा अनिवार्य हुन्छ । विगतमा बसको टिकट काटिसकेपछि भिसा प्रक्रिया सुरु गर्दा समय लाग्ने र भिसा सुनिश्चितता नहुने समस्या देखिएको थियो ।
सन् २००८ मा चीनमा बेइजिङ ओलम्पिक आयोजना हुँदा सुरक्षाको कारण देखाउँदै बस सेवामा कडाइ गरिएको थियो । २०६६ सालतिर सेवा पुनः सञ्चालनको तयारी हुँदा पनि तत्कालीन चिनियाँ अधिकारीहरूले ओलम्पिक र तिब्बतको सुरक्षा संवेदनशीलताका कारणबन्द हुन पुगेको बताइएको थियो ।
‘यात्रुले भिसा समयमा नपाउँदा यात्रा रद्द गर्नुपर्ने अवस्थाले सेवा प्रदायकलाई समस्या पारेको थियो,’ पोखरेल भन्छन्, ‘यस कारण पनि यो बस सञ्चालन बन्द भएको थियो ।’
यस्तै अर्को कारण भौगोलिक कठिनाइ र यात्रुको स्वास्थ्यमा समस्या रहेको महानिर्देशक पोखरेलले औंल्याएका छन् । पोखरेल भन्छन्, ‘मुख्य कारण लेक लाग्ने (अल्टिच्युड सिक्नेस) पनि समस्या हो । काठमाडौँबाट हिँडेको बस एक्कासि ल्हासाको उच्च हिमाली भेगमा पुग्दा धेरै यात्रु बिरामी पर्ने समस्या देखियो । स्वास्थ्य जोखिमका कारण पनि सोचेजस्तो यात्रुहरूको आकर्षण बढ्न सकेन ।’
साथै, यो रुट ‘सिजनल’ प्रकृतिको हुन पुग्यो । गर्मीयाममा हिमाल हेर्न र ल्हासा घुम्न यात्रुहरू तयार भए पनि जाडोयाममा अत्यधिक चिसोका कारण यात्रु नै नपाउने अवस्था सिर्जना भयो । बाह्रै महिना नियमित यात्रु नपाउँदा सेवा प्रदायक कम्पनीहरूलाई आर्थिक भार पर्न जाँदा बन्द हुन पुगेको पोखरेल बताउँछन् ।
सन् २००८ मा चीनमा बेइजिङ ओलम्पिक आयोजना हुँदा सुरक्षाको कारण देखाउँदै बस सेवामा कडाइ गरिएको थियो । २०६६ सालतिर सेवा पुनः सञ्चालनको तयारी हुँदा पनि तत्कालीन चिनियाँ अधिकारीहरूले ओलम्पिक र तिब्बतको सुरक्षा संवेदनशीलताका कारणबन्द हुन पुगेको बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण