बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय बजारमा घट्याे तेलकाे मूल्य

शुक्रबार, १६ माघ २०८२, १६ : १०
शुक्रबार, १६ माघ २०८२

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार कच्चा तेलको भाउ घटेको छ । इरानमाथि अमेरिकाले आक्रमण गर्न सक्ने आशङ्काका कारण हालैका दिनमा तीव्र रूपमा बढेको तेलको मूल्य घटेको हो । 

विश्व बजारमा उक्त दिन तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १ प्रतिशतले घट्दै ७० डलरमा आएको छ । 

न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि १ दशमलव १२ प्रतिशतले घटेर ब्यारेलकै ६४ डलर ६९ सेन्टमा समेटिएको छ । शुक्रबार तेलको भाउ केही महिनायताकै उच्च स्तरबाट तल किनबेच भइरहेको छ ।

इरान संलग्न सम्भावित द्वन्द्वले विश्वको ऊर्जा आपूर्तिमा असर पार्न सक्ने चिन्ताले अघिल्ला दिनहरूमा तेलको मूल्य उकालो लागेको थियो । 

विशेष गरी विश्वको तेल निर्यातका लागि अत्यन्तै महत्त्वपूर्ण हर्मुज जलडमरूमध्यमार्फत ढुवानी अवरुद्ध हुन सक्ने जोखिमका कारण मूल्यले टेवा पाएको थियो । तर अपेक्षित सैन्य तनाव नबढेपछि बजार केही शान्त बनेको विश्लेषकहरूको भनाइ छ ।

रातारात कुनै सैन्य कारबाही वा आपूर्ति अवरोधको सङ्केत नदेखिएपछि तेलको मूल्य घटेको विश्लेषकहरू भन्छन् । सम्भावित सैन्य कारबाही भए पनि सीमित र लक्षित हुने अमेरिकी बहुराष्ट्रिय वित्तीय सेवा प्रदायक कम्पनी जेपी मोर्गनले जारी गरेको एउटा नोटमा उल्लेख गरिएको छ । 

नोटका अनुसार आक्रमणमा इरानको तेल उत्पादन र निर्यात पूर्वाधारलाई निशाना बनाइने सम्भावना कम छ । 

यसअघि सिटी ग्रुपले पनि अमेरिका वा इजरायलको कुनै कदम संयमित हुने अनुमान गर्दै दीर्घकालीन तेल आपूर्तिमा अवरोधको सम्भावना न्यून रहेको जनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप