काठमाडौं-९ : एमालेको सुरक्षित ‘किल्ला’मा रास्वपाको ‘धावा’
काठमाडौँ । नेपालको राजनीतिक सत्ता समीकरण र जनमतको ऐना मानिने राजधानी काठमाडौँका १० वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ९ यो पटक विशेष चासोमा छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँका अन्य क्षेत्रमा पराजय भोग्दा नेकपा एमालेका लागि बिउ जोगाउने ‘एक मात्र किल्ला’ यही क्षेत्र बनेको थियो ।
बदलिँदो समयसँगै यस क्षेत्रको राजनीतिक भूगोलमा यतिबेला ठुलो हलचल पैदा भएको छ । एकातिर एमालेले आफ्ना पुराना र अनुभवी नेता कृष्णगोपाल श्रेष्ठलाई टिकट नदिई नयाँ अनुहार अघि सारेको छ भने अर्कोतिर वैकल्पिक शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो बलियो उम्मेदवार मैदानमा उतारेको छ ।
एमाले विरासतलाई रास्वपाको चुनौती
२०७९ को निर्वाचन परिणामलाई मसिनो गरी केलाउँदा यस क्षेत्रमा एमालेको जित जति गर्विलो थियो, त्यति नै चुनौतीपूर्ण पनि थियो । अघिल्लो पटक एमालेका नेता कृष्णगोपाल श्रेष्ठले ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी झण्डा गाडेका थिए । तर उनलाई पछ्याइरहेका रास्वपाका उम्मेदवार टेकबहादुर पोखरेलले १० हजार ९६१ मत ल्याएर एमालेको साखलाई नराम्ररी हल्लाइदिएका थिए । केवल ९९५ मतको झिनो अन्तरले एमालेले यो क्षेत्र जोगाउन सफल भएको थियो ।
यसपटकको समीकरण अझ रोचक यस अर्थमा छ कि त्यतिबेला कांग्रेसले आफ्नो उम्मेदवार नउठाएर गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी कल्पना धमलालाई समर्थन गरेको थियो । धमलाले ६ हजार ४०२ मत प्राप्त गरेकी थिइन् । तर यसपटकको परिस्थिति भिन्न छ । कांग्रेस र माओवादी आफ्नै अस्तित्वको लडाइँमा छुट्टाछुट्टै मैदानमा छन्, जसले गर्दा पुराना दलको मत बाँडिने निश्चित छ र यसको प्रत्यक्ष लाभ रास्वपालाई पुग्न सक्छ । यद्यपि अघिल्लो पटक कांग्रेसको उम्मेदवार नहुँदा रास्वपाको उम्मेदवारलाई राम्रै मत गएको कांग्रेसका नेताहरुले दाबी गर्दै आएका छन् ।
समानुपातिक मतमा पनि रास्वपा बलियो
निर्वाचनमा प्रत्यक्षतर्फको नतिजा एउटा पाटो भए पनि दलहरूको वास्तविक लोकप्रियता समानुपातिकतर्फको मतले स्पष्ट पार्छ । निर्वाचन आयोग अनुसार २०७९ को समानुपातिक मतमा रास्वपाले एमालेलाई उल्लेख्य मतान्तरले पछाडि पारेको थियो । रास्वपाले ११ हजार ५०२ मत प्राप्त गर्दा एमालेले ९ हजार ४०७ मत मात्रै बटुल्न सफल भएको थियो ।
_D7hR1OwAbj.jpg)
यो तथ्याङ्कले के पुष्टि गर्छ भने काठमाडौँ–९ का मतदाताले पार्टीगत रूपमा रास्वपालाई बढी रुचाएका छन् । प्रत्यक्षमा कृष्णगोपाल श्रेष्ठको व्यक्तित्व र स्थानीय प्रभावका कारण एमालेले जिते पनि समग्र जनमत ‘घण्टी’ तिरै आकर्षित भएको देखिन्छ । यसपटक रास्वपाले आफ्नो संगठन र ‘स्वीङ भोट’लाई थप व्यवस्थित बनाएको अवस्थामा एमालेका लागि आफ्नो विरासत जोगाउनु फलामको चिउरा चपाउनु सरह हुने देखिन्छ ।
एमालेभित्रको कलह र नेतृत्वको जोखिम
यस निर्वाचनमा एमालेका लागि सबैभन्दा ठुलो टाउको दुखाइको विषय पार्टीको आन्तरिक व्यवस्थापन बनेको छ । पाँच पटकसम्म चुनाव जितेका र काठमाडौँको राजनीतिमा गहिरो पकड भएका कृष्णगोपाल श्रेष्ठलाई यसपटक टिकटबाट वञ्चित गरिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिने अजयक्रान्ति शाक्यलाई टिकट दिनुको पछाडि पार्टीभित्रको गुटबन्दीले मुख्य भूमिका खेलेको चर्चा एमाले वृत्तमा छ ।
श्रेष्ठलाई १० औँ महाधिवेशनमा ईश्वर पोखरेलको समूहलाई साथ दिएको आरोपमा टिकट नदिइएको बुझिन्छ । एमाले जस्तो क्याडर बेस पार्टीमा ‘अन्तर्घात’ हुनु सामान्य मानिँदैन, तर श्रेष्ठका असन्तुष्ट समर्थकहरूले मौन रूपमा अर्को पक्षलाई सहयोग गरेमा वा चुनावमा निष्क्रिय बसेमा अजयक्रान्तिका लागि निर्वाचन परिणाम प्रतिकूल आउन सक्छ । अजयक्रान्तिका लागि पुराना नेताको रिक्तता भर्नु र चिढिएका कार्यकर्तालाई मिलाउनु नै पहिलो र कठिन खुड्किलो हुने देखिन्छ ।
रास्वपालाई फाइदा
रास्वपाले यस क्षेत्रलाई आफ्नो प्रतिष्ठाको लडाइँ बनाउँदै पार्टीका उपसभापति डीपी अर्याललाई चुनावी मैदानमा उतारेको छ । अर्यालका लागि यसपटक अनुकूल वातावरणका धेरै पाटा छन् । साझा पार्टीका पूर्व नेता मिलन पाण्डे, जसले अघिल्लो निर्वाचनमा स्वतन्त्र रूपमा २ हजार ३२७ मत ल्याएका थिए, उनले यसपटक डीपी अर्याललाई समर्थन गर्ने घोषणा गरेका छन् । पाण्डेको यो ‘बौद्धिक’ मत रास्वपाको खातामा जोडिनु अर्यालका लागि महत्त्वपूर्ण हुन्छ ।
काठमाडौँका निवर्तमान मेयर बालेन शाहको लोकप्रियता र उनले निर्वाचनमा लिएको ‘लौरो’ चुनाव चिह्नकव प्रभाव पनि यस क्षेत्रमा देखिन्छ । अघिल्लो पटक हाम्रो नेपाली पार्टीको ‘लौरो’ चिन्हले १ हजार ८८८ समानुपातिक मत पाएको थियो । अहिले ‘लौरो’ र ‘घण्टी’बिचको एकताका कारण त्यो मत पनि रास्वपातिरै समाहित हुने सम्भावना प्रबल छ । यसरी हेर्दा विभिन्न समूहमा छरिएका साना र वैकल्पिक मतहरू रास्वपाको पक्षमा केन्द्रित हुँदा यसले एमालेको बलियो संगठनलाई पनि चुनौती दिने सामर्थ्य राख्न सक्छ ।
कांग्रेस र नेकपाको आफ्नै बाटो
यसपटकको चुनावमा कांग्रेसले नानुमैया बास्तोलालाई उम्मेदवार बनाएको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राधाकृष्ण महर्जनलाई मैदानमा उतारेको छ । अघिल्लो पटक ८ हजार ४ समानुपातिक मत पाएको कांग्रेसले आफ्नै उम्मेदवार उठाउँदा एमाले र रास्वपा दुवैको मत काटिन सक्छ । तर कांग्रेसका युवा मतदाताहरू ‘परिवर्तन’ को नारा दिने रास्वपातर्फ बढी झुकाव राख्ने गरेकाले बास्तोलाका लागि आफ्नो परम्परागत मत जोगाउनु नै ठुलो चुनौती हुनेछ ।
नेकपाका लागि भने अवस्था झनै कमजोर देखिन्छ । अघिल्लो पटक ६ हजार भन्दा बढी मत ल्याएकी कल्पना धमलालाई कांग्रेसको पूर्ण साथ थियो । अहिले एक्लै लड्दा माओवादीको मत निकै संकुचित हुने देखिन्छ । कांग्रेस र माओवादीको छुट्टाछुट्टै उम्मेदवारीले एमाले विरोधी मतहरू विभाजित हुने र त्यसको प्रत्यक्ष फाइदा रास्वपाका डीपी अर्याललाई पुग्न सक्छ ।
काठमाडौँ-९ को यो महासंग्राम केवल एउटा सिटको हारजित मात्र होइन । एमालेका लागि यो क्षेत्र गुम्नु भनेको काठमाडौँको आफ्नो अन्तिम किल्ला भत्किनु हो । तर रास्वपाको लहरले काठमाडौँमा काम गर्छ कि गर्दैन भनेर फागुन २१ नआई थाहा हुँदैन । काठमाडौँका सहरी मत अधिकांश ‘सेलेक्टिभ’ हुने भएकाले रास्वपाका डीपी अर्याललाई कसरी हेर्छन् भनेर सजिलै भन्न सकिँदैन । अर्कोतिर एमालेका स्थानीय र बौद्धिक मानिने डा. अजयक्रान्ति शाक्यले एमालेको विरासत जोगाउन कसरी जान्छन् भनेर हेर्न बाँकी छ । विशेष महाधिवेशनबाट नयाँ कांग्रेसको नारा सहित गगन थापालाई प्रधानमन्त्रीको घोषणा गरेको कांग्रेसलाई पनि यो क्षेत्रमा कम आँक्न भने मिल्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण