नेताहरूका भाषणको पाँच प्रतिशत काम खोजिरहेछन् पर्सा–३ का मतदाता
सारांश
- निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरू चुनावी अभियानमा केन्द्रित छन्, तर मतदाताहरू विकासको प्रतीक्षामा छन्।
- पर्सा क्षेत्र नम्बर-३ मा उम्मेदवारहरू प्रतिस्पर्धामा छन्, तर मतदाताहरू आधारभूत समस्याहरूबाट चिन्तित छन्, जसमा शिक्षा, स्वास्थ्य र बेरोजगारी मुख्य छन्।
- मतदाताहरूले यस पटक वास्तविक समस्या सम्बोधन गर्ने उम्मेदवारलाई रोज्ने र भाषण मात्र होइन, कामको अपेक्षा राखेका छन्।
वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब ३४ दिन मात्र बाँकी छ । निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूको चुनावी गतिविधि आक्रामक बन्दै गइरहेको छ । प्रचार–प्रसारदेखि मतदाता भेटघाटसम्म उम्मेदवारहरू व्यस्त देखिन थालेका छन् ।
उम्मेदवारहरू आ–आफ्ना निर्वाचन क्षेत्रमा कार्यकर्तासँग भेटघाट तथा घरदैलो अभियानमा केन्द्रित भई नतिजा हात पार्ने सपना देखिरहेका छन् भने मतदाताहरू भने आफ्नो क्षेत्रको विकास कहिले र कसले गर्ला भन्ने आशामा छन् ।
यस क्षेत्रका मतदाताहरूले भने जनताको समस्या नेताको भाषणमा मात्र सीमित हुँदै गइरहेको बताइरहेका छन् । र यसपटक वास्तविक समस्या सम्बोधन गर्ने दल तथा उम्मेदवारलाई सहयोग गर्ने मनस्थितिमा उनीहरू छन् ।
पर्सा क्षेत्र नम्बर–३ मा पनि निर्वाचनको चहलपहल बढ्दै छ । स्वतन्त्रसहित विभिन्न राजनीतिक दलका १९ जना उम्मेदवार प्रतिनिधि सभा सदस्य पदका लागि प्रतिस्पर्धामा छन्, तर सर्वसाधारण भने सानातिना समस्याका कारण अझै बेचैन र उदास छन् ।
संविधानले सुनिश्चित गरेका अधिकार व्यवहारमा नपाएको गुनासो गर्दै मतदाताहरूले निर्वाचनमार्फत उम्मेदवारसँग समस्या समाधानप्रति स्पष्ट प्रतिबद्धता खोजिरहेका छन् । यसपटक केवल भाषण होइन, काम नै जनताको मुख्य मुद्दा बनेको देखिन्छ ।
पर्सा क्षेत्र नम्बर–३ सदरमुकाम वीरगञ्जबाट करिब १० किलोमिटर पश्चिममा पर्छ । यस क्षेत्रमा ३५ वटा वडा छन् । पटेर्वासुगौली, सखुवाप्रसौनी, विन्दवासिनी, जगरनाथपुर, पकहामैनपुर गाउँपालिका तथा पोखरिया र बहुदरमाइ नगरपालिका यस क्षेत्रभित्र पर्छन् ।
सदरमुकामसँग जोडिएको क्षेत्र भए पनि यहाँ अझै खानेपानी, पर्याप्त सडक, नाला, गुणस्तरीय विद्यालय तथा उद्योग–कलकारखानाको अभाव छ । यसका कारण सर्वसाधारणलाई दैनिक कामका लागि वीरगञ्ज मात्र होइन, काठमाडौंलगायत अन्य ठाउँसम्म धाउनुपर्ने अवस्था छ ।
पोखरिया नगरपालिका वडा नम्बर–४ का वकिल मियाँले जनताका धेरै समस्या रहेको बताए । २०३६ सालदेखि मतदान गर्दै आएका मियाँका अनुसार क्षेत्र नम्बर–३ मा बेरोजगारी र शिक्षाको समस्या गम्भीर छ ।
ठाउँ–ठाउँमा सडक र नालाको विकास भए पनि गुणस्तरीय शिक्षा व्यवस्था कमजोर रहेको उनी बताउँछन् । मेडिकल क्षेत्रमा कार्यरत मियाँका अनुसार स्वास्थ्य सेवाको अवस्था पनि दयनीय छ । समयमै निःशुल्क औषधीसमेत नपाउने अवस्था रहेको उनले गुनासो गरे ।
मियाँ भन्छन्, ‘यो समस्या सुरुदेखिकै हो । केही भौतिक संरचना बने पनि देशका भविष्यसँग जोडिएका विषयमा खासै सुधार भएको छैन ।’ त्यसैले शैक्षिक सुधारतर्फ राजनीतिक दलहरूले गम्भीर पहल गर्नुपर्ने उनको भनाइ छ ।
‘स्वास्थ्य क्षेत्रमा पनि अवस्था उस्तै छ । गाउँगाउँमा अस्पताल छन्, तर निःशुल्क औषधी उपलब्ध हुँदैन । यो जनताको आधारभूत आवश्यकता भए पनि कुनै दलले यस विषयमा वकालत गर्दैन,’ उनले भने ।
गोविन्दपुरका ६३ वर्षीय मोहन साहका अनुसार जनताको वास्तविक विकास भएको छैन । जनताको लागि समर्पित नेता नभएको उनको गुनासो छ । सामान्यभन्दा सामान्य समस्याका लागि पनि धेरै सास्ती खेप्नुपरेको तर सुनुवाइ नहुने उनले बताए ।
‘मलसमेत ब्ल्याकमा किन्नुपर्ने अवस्था छ । चुनावताका ठुलाठुला भाषण गर्ने नेताहरूले त्यसको पाँच प्रतिशत मात्र काम गरिदिए पनि जनतालाई ठुलो राहत मिल्थ्यो,’ उनले भने । युवाका लागि रोजगारी सिर्जना गर्न उद्योग–कलकारखाना आवश्यक रहेको उनले बताए ।
विन्दवासिनी गाउँपालिका वडा नम्बर–२ का गया प्रसाद गुप्ताको गुनासो पनि उस्तै छ । उनले जनताको विकास नभएको भन्दै आक्रोश व्यक्त गरे । यस क्षेत्रबाट निर्वाचित नेताहरू भ्रष्टाचारमै सीमित रहेको र जनताको हिततर्फ ध्यान नदिएको उनको आरोप छ ।
‘केही ठाउँमा सडक बनेका छन्, तर पूर्ण छैनन् । खानेपानीको व्यवस्थापन पनि कमजोर छ । जनतामाथि कर मात्र थपिएको छ, तर त्यसअनुसार सेवा र सुविधा छैन,’ उनले भने । मधेस सुक्खाग्रस्त बन्दै गएकाले खानेपानीको दीर्घकालीन व्यवस्थापन अपरिहार्य रहेको उनले बताए ।
ग्रामीण भेग हासवाका जितबहादुर सहनीले सरकारी सुविधामा भेदभाव हुने गरेको गुनासो गरे । रोजगारीको अवसर सिर्जना गरिदिए मात्रै जनतालाई पर्याप्त हुने उनको भनाइ छ । ‘उद्योग स्थापना, सडक, कृषि र विद्यालयमा गुणस्तरीय शिक्षा वातावरण बनाइदिए जनताको जीवनस्तर सुधार हुन्छ,’ उनले भने ।
बहुअर्वा भाठाकी सुमित्रादेवी पटेलले बढ्दो महँगीप्रति गुनासो गरिन् । घरका युवाहरू बेरोजगार रहेको र दैनिक खर्च धान्नै गाह्रो भएको उनको भनाइ छ ।
‘शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिन जरुरी छ । विद्यालय त छन् तर पढाइको स्तर कमजोर छ । यी कुरामा सुधार गरिए जनतालाई ठुलो राहत मिल्नेछ,’ उनले भनिन् ।
यहाँ नेकपा एमालेले रुपेश कुमार पाण्डेलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले सुरेन्द्र कुमार चौधरीलाई उठाएको छ । त्यस्तै रास्वपाले कांग्रेस छाडेर आएका रामाकान्त प्रसाद चौरसियालाई यहाँ उम्मेदवार बनाएको छ । त्यस्तै नेपाली कांग्रेसका छोटेलाल यादव पनि चुनावी मैदानमा छन् । एमाले पाण्डे यहाँ नयाँ अनुहार हुन् भने २०४८ सालदेखि प्रतिनिधित्व गर्दै आएका कांग्रेसका चौधरी अनुभवी राजनीतिक खेलाडी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण