बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कैलाली–४

मतदाता भन्छन् : इन्डियामा भाँडा नमाझी हाम्रो चुलो बल्दैन, जितेपछि नेताले मुख देखाउँदैनन्

पार्टीभन्दा असल व्यक्तिको खोजी
आइतबार, १८ माघ २०८२, ०६ : ५७
आइतबार, १८ माघ २०८२

सारांश

  • अत्तरिया बजारमा चुनावी चहलपहल सुरु भएको छ, तर स्थानीय मतदाताहरू पुरानो दलप्रति असन्तुष्ट छन्।
  • कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्, जसमा पुराना दलका साथै नयाँ दलका उम्मेदवारहरू पनि छन्।
  • स्थानीय मतदाताहरूले चुनाव जितेपछि नेताहरू फर्केर नआएको गुनासो गरेका छन्, र विकास र पूर्वाधारको अभावमा असन्तुष्टि व्यक्त गरेका छन्।

धनगढी । सुदूरपश्चिमको मुख्य प्रवेशद्वार मानिने अत्तरिया बजारमा सधैँ चहलपहल देखिन्छ । पूर्व–पश्चिम राजमार्ग र पहाडी सात जिल्ला जोड्ने भीमदत्त राजमार्गको केन्द्रबिन्दु भएकाले यहाँ चौबीसै घण्टा गतिविधि चलिरहन्छ । बाहिरबाट हेर्दा यो क्षेत्र विकसितजस्तै देखिन्छ । अझ सुदूरपश्चिम प्रदेश सरकारले गोदावरी क्षेत्रलाई प्रदेशको स्थायी राजधानी घोषणा गरेपछि यसको चर्चा झन् बढेको छ, तर मुख्य बजारबाट केही भित्र बस्तीतिर पस्दा वास्तविकता भने फरक देखिन्छ । राजधानीको उपमा पाएको यस क्षेत्रका मतदाताको अनुहारमा निराशा छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी चहलपहल देखिन थालेको छ । कार्यकर्ताहरू आ–आफ्ना पार्टीका उम्मेदवारका लागि भोट माग्न सक्रिय छन् ।

यसपटक यहाँ ठुला, साना दल र स्वतन्त्रका गरी जम्मा १६ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेकपा एमालेबाट ६६ वर्षीय लेखराज भट्ट, नेपाली कांग्रेसबाट ५३ वर्षीय गोरखबहादुर विष्ट, नेपाल कम्युनिस्ट पार्टीबाट ४७ वर्षीय हरिराम चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४८ वर्षीय खेमराज कोइराला उम्मेदवार छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३१ वर्षीय कमल रजवार, राष्ट्रिय जनमोर्चाबाट ३४ वर्षीय हेमराज भट्ट, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)बाट ४४ वर्षीय मोहनदेव मिश्र उम्मेदवार छन् । नेपाल मजदुर किसान पार्टीबाट ३६ वर्षीया अमृता भुल, मितेरी पार्टी नेपालबाट ४४ वर्षीय दिनेशकुमार मल्ल, नेसनल रिपब्लिक नेपालबाट ३८ वर्षीय गोपीलाल चौधरी उम्मेदवार छन् ।

यसैगरी नेपाल मानवतावादी पार्टीबाट ४६ वर्षीय यज्ञबहादुर टमोटा, श्रम संस्कृति पार्टीबाट ५० वर्षीय भीमबहादुर थापा मगर, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट ४२ वर्षीय भक्तबहादुर शाही, उज्यालो नेपाल पार्टीबाट ३८ वर्षीय सुभास कुँवर, नागरिक उन्मुक्ति पार्टीबाट ४० वर्षीय धनबहादुर सुनार र स्वतन्त्रबाट ५३ वर्षीय छत्रबहादुर भट्ट खत्री चुनावी मैदानमा होमिएका छन्, मुख्य प्रतिस्पर्धा ठुला दलहरूबिच नै हुने अनुमान गरिए पनि यहाँ नयाँ दलप्रति मतदाताको आकर्षण बढ्दो देखिन्छ ।

गोदावरी नगरपालिका–१०, चुरे गाउँपालिका, मोहन्याल र गौरीगंगाका भित्री बस्तीहरूमा अधिकांश मतदाताको गुनासो उस्तै थियो— नेताहरू चुनावको बेला आउँछन्, आश्वासन दिन्छन् तर जितेपछि फर्केर आउँदैनन् ।

इतिहास हेर्दा यस क्षेत्रमा मतदाताले कहिले एक दल त कहिले अर्को दललाई जिताउँदै आएका छन् । २०५१ सालमा एमालेका महेश्वर पाठक विजयी भएका थिए । २०५६ मा कांग्रेसका टेकबहादुर चोखालले जिते । २०६४ को संविधानसभा निर्वाचनमा माओवादीको लहर चल्दा कृष्णकुमार चौधरी निर्वाचित भए भने २०७० मा पनि माओवादीकै गौरीशंकर चौधरी विजयी भएका थिए ।

२०७४ सालमा वाम गठबन्धनका साझा उम्मेदवार लेखराज भट्टले जिते, जो यसपटक पनि एमालेबाट उम्मेदवार छन् । २०७९ सालको पछिल्लो निर्वाचनमा भने नेपाली कांग्रेसका वीरबहादुर बलायर निर्वाचित भए । यसरी हेर्दा यहाँ कुनै एक दलले निरन्तर जित हासिल गरेको देखिँदैन ।

हामीले यस निर्वाचन क्षेत्रका विभिन्न बस्तीमा पुगेर मतदातासँग चुनावबारे बुझ्यौँ । गोदावरी नगरपालिका–१०, चुरे गाउँपालिका, मोहन्याल र गौरीगंगाका भित्री बस्तीहरूमा अधिकांश मतदाताको गुनासो उस्तै थियो— नेताहरू चुनावको बेला आउँछन्, आश्वासन दिन्छन् तर जितेपछि फर्केर आउँदैनन् ।

गोदावरी नगरपालिका–३ खमौरा टोलकी ३५ वर्षीया लक्ष्मी कसेरा आक्रोशित देखिन्थिन् । उनको घरअगाडिको बाटो कच्ची छ । हिउँदमा धुलो र बर्खामा हिलोले हैरानी हुन्छ ।

laxmi kasera

‘भोट माग्न आउँदा हजुर–नमस्कार गर्छन्, जितेपछि हामीलाई चिन्दैनन्,’ उनले भनिन् । ‘हाम्रो बस्तीमा बिजुलीका पोलसमेत छैनन् । एउटै पोलबाट धेरै घरले तार तान्नुपरेको छ, जुन कहिले चुँडिएर आगलागी हुन्छ भन्ने डर छ । खानेपानीको त कुरै नगरौँ, नल्काको पानी पिउनुपर्छ ।’

उनको सबैभन्दा ठुलो पीडा बेरोजगारी र गरिबी हो । ‘ऐलानी जग्गामा बस्नेलाई लालपुर्जा दिन्छौँ भनेर कति पटक ढाँटे,’ उनले भनिन् । ‘सिँचाइ नहुँदा खेत बाँझै छन् । यहाँ काम पाइँदैन । छोराछोरी पढेर पनि बेरोजगार छन् । इन्डिया गएर अरूको जुठो भाँडा नमाझी हाम्रो घरमा चुलो बल्दैन । जसको सरकार आए पनि गरिबको हालत उस्तै रहेछ ।’

2 number ko batao godawori ko

पहिले कांग्रेसलाई भोट दिएकी लक्ष्मी यसपटक भने दोधारमा छिन् । ‘मोटर, सिँचाइ ल्याउँछु भनेर भोट मागे । बजेट कहाँ गयो थाहा छैन,’ उनले भनिन्, ‘अब जसले गरिब र दुखीलाई हेर्छ, उसैलाई भोट दिने हो ।’

सोही टोलकी ३८ वर्षीया राधिका कसेराको अनुभव पनि उस्तै छ । ‘दुई पटक भोट हालिसकेँ, अवस्था उस्तै छ,’ उनले भनिन् । ‘चुनावको बेला मात्रै जनता खोजेर हुन्छ ? जितेपछि नबोल्ने, नआउनेलाई किन भोट दिने ?’

radhika kasera

उनका अनुसार १६ जना उम्मेदवार भए पनि उनी कसैलाई राम्रोसँग चिन्दिनन् । ‘गाउँमा आएर जसले राम्रो एजेन्डा सुनाउँछ, टोलमा सल्लाह गरेर उसैलाई भोट दिने हो,’ उनले भनिन् । यहाँका मतदातामा पुराना दलप्रति वितृष्णा छ भने नयाँप्रति पनि पूर्ण विश्वास देखिँदैन ।

गोदावरी–८ की ४८ वर्षीया विष्णुमाया बुढा पेसाले स्वास्थ्यकर्मी हुन् । उनी २०७४ सम्म सरकारी सेवामा थिइन्, अहिले घरमै मेडिकल सञ्चालन गरिरहेकी छन् । देशमा विकास नहुनुमा उनी बिचौलिया र अस्थिर सरकारलाई दोष दिन्छिन् ।

bishnumaya budah

‘बजेट आउँछ, बिचौलियाले खाइदिन्छन्, अनि कसरी विकास हुन्छ ?’ उनको प्रश्न छ । उनी भने यसपटक लेखराज भट्टलाई नै भोट दिने सोचमा छन् । ‘केन्द्रमा पहुँच भएको नेताले मात्र बजेट ल्याउन सक्छ । मालाखेती अस्पतालमा १५ शय्या थप्ने र गेटा मेडिकल कलेजको संरचना बनाउने पहल लेखराज भट्टले गरेका हुन्,’ उनले भनिन्, ‘पुरानाले सिस्टम बुझेका हुन्छन्, नयाँले के गर्छन् भन्ने विश्वास छैन ।’

युवा मतदाताको सोच भने फरक छ । गोदावरी–१० का २९ वर्षीय गोपाल अवस्थी यसपटक मत बदल्ने तयारीमा छन् । ‘पहिले कांग्रेसलाई भोट हालेँ, जितेपछि न बाटो बन्यो, न खानेपानी आयो,’ उनले भने, ‘अब नयाँ भिजन भएको युवालाई भोट दिने हो ।’

bhawwani awasti

गोदावरी–२ का ६० वर्षीय भवानी अवस्थी पूर्वनेपाली सेना हुन् । ३० वर्ष सेवा गरेर अवकाश पाएपछि उनी अहिले पशुपालनमा लागेका छन् । उनी एमाले नेतृत्वप्रति असन्तुष्ट छन् । ‘मदन भण्डारी मन परेर एमालेमा भोट दिएको थिएँ, अहिले पार्टीको हालत देख्दा दिक्क लाग्छ,’ उनले भने । ‘आसेपासेलाई मात्र काम, कर्मचारी घुस नखाई चल्दैनन् । संस्कार र नैतिकता हरायो ।’

godawri 3 ra 10 jodne bato

यसपटक उनी विकल्प खोजिरहेका छन् । ‘राप्रपाका ज्ञानेन्द्र शाहीका कुरा मन पर्छन्, त्यसैले रास्वपा वा राप्रपामध्ये एकलाई भोट दिन्छु,’ उनले बताए ।

गोदावरीलाई राजधानी घोषणा गरिएको वर्षौं भइसक्यो । तर आधारभूत पूर्वाधार बन्न सकेको छैन । गोदावरी–२ का ६१ वर्षीय गणेश बम भन्छन्, ‘राजधानी भनेर बोर्ड टाँसेर मात्र हुँदैन । यहाँबाट जित्नेले राजधानीको काम अघि बढाउनुपर्छ ।’

ganesh bam

सोही वडाकी ३१ वर्षीया मीना जोशी भन्छिन्, ‘हाम्रो बस्तीमा बाटो नै छैन । राजधानी बनाउँछु र बाटो ल्याउँछु भन्ने उम्मेदवारलाई भोट दिने हो ।’

सुकुमबासी समस्या र नदी कटानको समस्या पनि यहाँ उस्तै छ । गोदावरी–१० की ५० वर्षीया डम्बरीदेवी विष्ट भन्छिन्, ‘थोरै ऐलानी जग्गा छ । बर्खामा मछेली खोलाको बाढी बस्तीमै पस्छ । रातभर जाग्राम बस्नुपर्छ । जसले लालपुर्जा र तटबन्ध दिन्छ, उसैलाई भोट दिने हो ।’

dambari devi bist

मोहन्याल र चुरे गाउँपालिकाका पहाडी क्षेत्रका बासिन्दाको पीडा पनि कम छैन । मोहन्यालकी पूजा बुढामगर भन्छिन्, ‘कैलाली भनेपछि सबैले तराई सम्झिन्छन् । हाम्रो गाउँ विकट पहाडमा छ । यहाँ न बाटो छ, न राम्रो नेटवर्क । पर्यटन विकास गर्ने योजना बोकेको नेता चाहिएको छ ।’

यसै क्षेत्रभित्र सुदूरपश्चिमकै गौरव मानिने सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय पर्छ । अर्बौँ लगानीमा भवन बने पनि सञ्चालनमा आउन सकेको छैन ।

गोदावरी–१ की मीना विक ती भवन हेरेर दुःख मान्छिन् । ‘यत्रो भवन बने, तर सय बेडको अस्पताल मात्र चल्यो,’ उनले भनिन् । ‘म भोट माग्न आउनेलाई भिडियो खिचेर वाचा गराउँछु । गेटा मेडिकल कलेज चलाउने, नदीमा तटबन्ध बाँध्ने र छाडा चौपाया व्यवस्थापन गर्नेले मेरो भोट पाउँछ ।’

godawori basti 2

गौरीगंगाका मजदुर सन्तु चौधरी भन्छन्, ‘यसअघि कांग्रेसलाई भोट हाल्यौँ, केही भएन । अब नयाँलाई हेर्ने हो । एउटा कुरा पक्का हो—जितेपछि यिनीहरूले मुख देखाउँदैनन् ।’

कैलाली–४ का मतदाता यसपटक निकै सचेत र चनाखो देखिन्छन् । गोदावरी–२ का ५५ वर्षीय गोपाल खड्का भन्छन्, ‘नयाँलाई भोट दिने हो भने पनि सोचेर दिने हो । पार्टीभन्दा पनि व्यक्ति हेर्ने समय आएको छ ।’ उनका अनुसार मतदाता अब बौद्धिक, विज्ञ, नैतिक र चरित्रवान् व्यक्तिलाई भोट दिन चाहन्छन् ।

gopal khadka

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप