साढे आठ वर्षमा फास्ट ट्र्याक : ८३ अर्ब खर्च, प्रगति ४५ प्रतिशत
सारांश
- काठमाडौं-तराई/मधेस द्रुतमार्गको निर्माण निर्धारित समयमा सम्पन्न नहुने देखिएको छ, हालसम्म ४५% मात्र भौतिक प्रगति भएको छ।
- खोकना खण्डमा जग्गा अधिग्रहणसम्बन्धी विवादका कारण निर्माण कार्य प्रभावित भएको छ, जसले लागत बढाएको छ।
- सुरुङमार्ग र पुल निर्माणको प्रगति विवरण प्रस्तुत गरिएको छ, तर समयमै काम नसकिँदा राज्यलाई भार थपिएको छ।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण प्रक्रियामा सरकारको निर्णय क्षमता कमजोर देखिँदा आयोजना निर्धारित समयमा सम्पन्न हुन नसक्ने देखिएको छ । साढे आठ वर्ष भइसक्दा पनि आयोजनाको समग्र भौतिक प्रगति जम्मा ४५ प्रतिशतमा मात्र सीमित भएको छ ।
२०८२/८३ को पुस मसान्तसम्म ४५.१५ प्रतिशत भौतिक र वित्तीय प्रगति ४५.३३ प्रतिशत पुगेको नेपाली सेनाले जनाएको छ । अघिल्लो वर्ष २०८१/८२ को पुस मसान्तसम्म ३७.६० भौतिक प्रगति र ३९.५६ प्रतिशत वित्तीय प्रगति थियो, यसअनुसार यो एक वर्षको अवधिमा ७.५५ प्रतिशत भौतिक प्रगति भएको देखिन्छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७४ साउन २७ गते ४ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी नेपाली सेनालाई औपचारिक रूपमा निर्माणको जिम्मा दिएको थियो । तर सो अवधिमा सम्पन्न हुन नसकेपछि पहिलो पटक २०८० सम्मका लागि म्याद थप भयो । उक्त अवधिमा पनि निर्माण हुन नसकेपछि दोस्रो पटक म्याद थप गरेर २०८३ चैत मसान्तसम्म निर्माण सक्ने लक्ष्य राखिएको छ । हालसम्मको भौतिक प्रगति हेर्दा उक्त म्यादमा पनि निर्माण सम्पन्न हुन नसक्ने देखिएको छ ।
यसरी निर्धारित समयमा निर्माण सम्पन्न नहुँदा लागत बढ्दै जाँदा राज्यलाई भार थपिँदै गएको छ । सुरुको लागतअनुसार १ खर्ब ७५ अर्ब १९ करोडमा यो आयोजना बन्नुपर्ने हो । तर तोकिएको समयमा नबने पछि दोस्रो म्याद थप्दा २०.९५ प्रतिशतले लागत बढेर २ खर्ब ११ अर्ब ९३ करोड पुगेको छ । यसमध्ये हालसम्म ८२ अर्ब ९७ करोड रुपैयाँ खर्च भइसकेको सेनाले जनाएको छ ।
खोकना खण्डः सरकारी असफलताको गम्भीर उदाहरण
द्रुतमार्गको प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना–डुकुछाप खण्ड मा जग्गा अधिग्रहणसम्बन्धी विवाद साढे आठ वर्षदेखि सरकारले सुल्झाउन सकेको छैन । यही कारण द्रुतमार्गको सुरु बिन्दु र सवारी आवागमन व्यवस्थापनसम्बन्धी निर्णय हुन नसक्दा यस महत्त्वपूर्ण खण्डको खरिद प्रक्रिया समेत सुरु हुन सकेको छैन ।
आयोजनाअन्तर्गत पर्ने ७ वटा सुरुङमार्गको कुल लम्बाइ १० हजार ९७९ किलोमिटर छ । यसमध्ये महादेवटार सुरुङ ३ हजार ३५५ मिटर छ, जसको दायाँ ३ हजार ३२२ मिटर रहेको छ भने बायाँ सुरुङ ३ हजार ३८६ मिटर छ । यसमध्ये दायाँ सुरुङ २ हजार ११९ मिटर अर्थात् ६४ प्रतिशत खन्ने कार्य सम्पन्न भएको छ । यस्तै बायाँ २ हजार ५०० मिटर अर्थात् ७४ प्रतिशत खन्ने काम सकिएको छ ।
सेनाले दिएको प्रगति विवरण अनुसार हालसम्म डीपीआरबमोजिम खोकना–बुङमती इलाकामा मूल्य निर्धारण भई अधिग्रहण हुन बाँकी व्यक्तिगत जग्गा १३६–१–२–१ रोपनी, गुठीका जग्गा १४–१३–०–३ रोपनी र मूल्य निर्धारण हुन बाँकी जग्गा १६५–६–०–३ रोपनी छ । राजनीतिक र प्रशासनिक तहबाट तत्काल यो विवाद समाधान गर्न नसक्दा आयोजनाको बाँकी काममाथि समेत गम्भीर असर परेको छ ।
उक्त जग्गाहरूको मुआब्जा वितरणको लागि सम्बन्धितसँग समन्वय भइरहेको जनाएको छ । साथै जग्गा अधिग्रहणसम्बन्धी समस्या समाधानका लागि सम्भावित विकल्पहरूको अध्ययन भइरहेको छ ।
द्रुतमार्गको २४.८ किलोमिटरदेखि ७०.९७७ किलोमिटरसम्म पर्ने जग्गाहरूको अधिग्रहण सम्पन्न भई निर्माण भइरहेको छ । ६.५ किलोमिटरदेखि २४.८ किलोमिटर खण्डमा सुरुङमार्ग, स्लोप प्रोटेक्सन, रिभर ट्रेनिङ निर्माण कार्ययका लागि आवश्यक पर्ने विभिन्न नम्बरी जग्गाहरू अधिग्रहणको लागि सरकारको स्वीकृत भई मूल्य निर्धारणको क्रममा रहेको सेनाले जनाएको छ ।
_gG0c5cAQpZ.jpg)
काठमाडौँ जिल्लामा सुरुङमार्ग तथा स्लोप स्टाब्लाइजेसनका संरचनाहरू निर्माणका लागि थप आवश्यक १२८–२–०–२.५५ रोपनी नम्बरी जग्गा तथा विभिन्न जग्गाहरूमा निर्मित भौतिक संरचनाहरूको क्षतिपूर्ति प्रदान गर्ने सम्बन्धमा मूल्य निर्धारण सम्पन्न भई जिल्ला प्रशासन कार्यालयममार्फत सूचना प्रकाशन गरिएको छ ।
सुरुङमार्ग तथा स्लोप स्टाब्लाइजेसनका संरचना निर्माणका लागि थप आवश्यक ललितपुर जिल्लामा ५४–११–३–१.८२ रोपनी नम्बरी जग्गा र मकवानपुरमा २८–१५–३–१.१९ रोपनी जग्गा अधिग्रहणका क्रममा छ ।
द्रुतमार्गको समष्टिगत कार्ययोजनाअन्तर्गत १३ वटा प्याकेजमध्ये हालसम्म १, २, ३, ४, ५, ६, ७, ८(क), ८(ख), ९(क), ९(ख) र १० निर्माणाधीन चरणमा छन् ।
कुन सुरुङको प्रगति कति ?
यस आयोजनाअन्तर्गत पर्ने ७ वटा सुरुङमार्गको कुल लम्बाइ १० हजार ९७९ किलोमिटर छ । यसमध्ये महादेवटार सुरुङ ३ हजार ३५५ मिटर छ, जसको दायाँ ३ हजार ३२२ मिटर रहेको छ भने बायाँ सुरुङ ३ हजार ३८६ मिटर छ । यसमध्ये दायाँ सुरुङ २ हजार ११९ मिटर अर्थात् ६४ प्रतिशत खन्ने कार्य सम्पन्न भएको छ । यस्तै बायाँ २ हजार ५०० मिटर अर्थात् ७४ प्रतिशत खन्ने काम सकिएको छ ।
दोस्रो धेद्रे सुरुङ १ हजार ६९० मिटर लम्बाइ छ, यसको दायाँ १ हजार ६५३ र बायाँ १ हजार ७२८ मिटरको रहेको छ । यो सुरुङ ब्रेक थ्रु भएको छ । यसैगरी तेस्रो लेनडाँडा सुरुङको लम्बाइ १ हजार ६२२ मिटर छ, यसको दायाँ १ हजार ६१२ मिटर र बायाँ १ हजार ६३३ मिटर रहेको दुवै ब्रेक थ्रु भएको छ ।
_qMQZWRLI03.jpg)
यस्तै चन्द्राम भीर सुरुङ जसको दायाँ टनेल २ हजार २६१ मिटर रहेकोमा २८७ मिटर खन्ने कार्य सम्पन्न भएको छ भने बायाँ टनेल २२१३ मिटर रहेकोमा ३७५ मिटर खन्ने कार्य सम्पन्न भएको जनाएको छ । देवीचौर सुरुङ ११०० मिटर रहेको दायाँ टनेलको भर्खर पोर्टल खान्ने कार्य भएको छ भने १०७५ मिटर रहेको बायाँ टनेल ८ मिटर खन्ने कार्य सम्पन्न भएको छ ।
यसैगरी सिसौटार सुरुङको दायाँ टनेल कुल ४८० मिटरमध्ये ७ मिटर खन्ने कार्य सम्पन्न भएको छ भने ५६० मिटरको बाँया टनेल पोर्टल खन्ने कार्य जारी छ । मौरी भीर सुरुङ दायाँ टनेल ५३५ मिटर र बायाँ टनेल ६६३ मिटर लम्बाइ रहेकोमा दुवैको पोर्टलको कार्य भइरहेको सेनाले जनाएको छ ।
पुल र सडक निर्माण कति पुग्यो ?
यस आयोजनाअन्तर्गत ८९ वटामध्ये ८५ वटा पुल निर्माणका लागि ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा छ । बाँकी ४ स्थानका पुलको जग्गा अधिग्रहणसम्बन्धी समस्या छ । यस्तै निर्माणाधीन पुलमध्ये ५४ वटा पुको फाउन्डेसन र ३४ वटा स्थानका पुलको सब स्ट्रक्चर निर्माण सम्पन्न भएको छ । हालसम्म ८२ मिटरसम्म उचाइका विशेष प्रकृतिसहित १३ स्थानका पुलहरूको निर्माण सम्पन्न भएको जनाएको छ ।
_XZk2F7ysaH.jpg)
यसैगरी सडक निर्माणमअन्तर्गत ११ किलोमिटर सडकको सब बेस तथा सर्भिस लेनमा ५ किलोमिटर सडकको कालोपत्र सम्पन्न भएको छ । विभिन्न स्थानमा स्लोप प्रोटेक्सन बक्स कलभर्ट, अप्टिकल फाइबर डक्ट, इलेक्ट्रोफिकेसन एसोसिरिज डक्टलगायत संरचनाहरू निर्माण कार्य भइरहेको छ ।
यसैगरी निजगढ इलाकामा एनिमल अन्डरपासको सुपरस्ट्रक्चरको कार्य भइरहेको जनाएको छ । यसैगरी निजगढ इलाकामा टोल प्लाजा तथा इन्टरचेन्ज निर्माण कार्य भइरहेको छ । हालसम्म फास्ट ट्र्याकमा ५४ हजार १ सय ५१ वटा रूख कटान भइसकेका छन् ।
अन्य आयोजनाको प्रगति के छ ?
सेनाले फास्ट ट्र्याकबाहेक अन्य रणनैतिक सडक विस्तार तथा निर्माण गरिरहेको छ । जसमध्ये कर्णाली करिडोर (लालिबगर–दुल्लीकुन्ना, घाटपारीचौर–बद्रीगाउं–भुक्काखोला खण्ड) सडक आयोजना ९२२.०५ किलोमिटर हो । यसमध्ये आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म कुल १६ किलोमिटर नयाँ ट्रयाक निर्माण सम्पन्न भएको थियो । चालु आव २०८२/८३ को पुस मसान्तसम्म थप ०.४४० किलोमिटर ट्रयाक स्तरोन्नतिको कार्य र ०.२४० किलोमिटर नयाँ ट्रयाक निर्माण सम्पन्न भई कुल १६.२४ किलोमिटर नयाँ ट्रयाक निर्माण सम्पन्न भएको छ ।
बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजना ९२ किलोमिटरमध्ये गत आव २०८१/८२ को अन्त्यसम्म कुल ४० किलोमिटर नयाँ ट्रयाक निर्माण सम्पन्न भएको थियो । चालु आव २०८२/८३ को पुस मसान्तसम्म थप ०.४०० किलोमिटर ट्रयाक स्तरोन्नति र ०.८०० किलोमिटर नयाँ ट्रयाक निर्माण भई कुल ४०.८ किलोमिटर नयाँ ट्रयाक निर्माण भएको छ ।
_51QPA35auu.jpg)
उत्तर दक्षिण कोशी सडक खाँदबारी किमाथांका (च्याम्ताङ्ग–घोङघप्पा खण्ड) सडक आयोजना (१०.५१ किलोमिटर) गत आव २०८१/८२ को अन्त्यसम्म कुल १०.५१ किलोमिटर नयाँ ट्रयाक निर्माण ब्रेक थु भएको थियो । चालु आव २०८२/८३ को पुस मसान्तसम्म थप २.७ किलोमिटर ट्रयाक र बाँकी १.६१ किलोमिटरसहित कुल ४.३१ किलोमिटर स्तरोन्नतिको कार्य गरी चैत्र मसान्तसम्म नेपाली सेनालाई प्राप्त जिम्मेवारी (१०.५१ किलोमिटर) सम्पन्न गरिने जनाएको छ ।
यस्तै दार्चुला–टिंकर सडक आयोजना (७९ किलोमिटर) गत आव २०८१/८२ को अन्त्यसम्म कुल १७.५ किलोमिटर नयाँ ट्रयाक निर्माण भएको थियो । चालु आव २०८२/८३ को पुस मसान्तसम्म थप ०.५९० किलोमिटर ट्रयाक स्तरोन्नतिको र ०.९९० किलोमिटर नयाँ ट्रयाक निर्माण भई कुल १८.४९ किलोमिटर नयाँ ट्रयाक निर्माण भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण