सबैले पार्टी रोजे, मैले जनता रोजेँ
सारांश
- धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू स्थानीय तहकै जिम्मेवारीमा समर्पित रहने बताएका छन्।
- मेयर हमालले धनगढीलाई भ्रष्टाचारमुक्त बनाउने अभियान, डुबान नियन्त्रण, र सडक सुधारलगायतका विभिन्न विकास निर्माणका काम गरेका छन्।
- स्थानीयको विश्वास जितेका हमालले उपमेयर र वडाध्यक्षहरूसँग समन्वय गरी धनगढीमा विकासका काम गरिरहेका छन्।
धनगढी । आइतबार बिहान ११ बजे धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफ्नो फेसबुकमा एउटा स्ट्याटस लेखे– ‘सबैले पार्टी रोजे, मैले जनता रोजेँ ।’
अहिलेको अस्थिर राजनीतिमा हमालको यो स्ट्याटसले सबैको ध्यान तान्यो । जेनजी आन्दोलनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो ।
आन्दोलनकै बलमा बनेको अन्तरिम सरकारले प्रतिनिधि सभाको निर्वाचन घोषणा गर्यो । सोही अनुसार फागुन २१ गतेका लागि मतदानको तयारी भइरहेको छ ।
२०७९ को स्थानीय चुनावमा स्वतन्त्रबाट जितेका केही मेयरले राजीनामा दिँदै प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बन्न दलीय राजनीतिमा प्रवेश गरे ।
काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) रवि लामिछाने नेतृत्वको रास्वपामा मिसिएर झापा–५ बाट केपी ओलीसँग भिड्दैछन् । उता, धरानका हर्क साम्पाङ श्रम संस्कृति पार्टी खोलेर सुनसरी–१ बाट उम्मेदवार भएका छन् ।
स्वतन्त्र पृष्ठभूमिका उनीहरू अब पार्टीमा आबद्ध भएर संसद् छिर्न प्रयासरत छन् । बालेन शाह र हर्क सम्पाङ दलीय राजनीतिमा आबद्ध भएपछि हमाल पनि कुनै पार्टीमा जान्छन् कि भन्ने कतिपयले आशङ्का गरेका थिए । उनी कुन पार्टीलाई सघाउँछन् भन्नेमा धेरैको चासो थियो । हमालले ‘काम गर्ने समयमा राजनीतिको कुरा नगर्नुहोस्’ भन्दै आफूलाई स्थानीय तहकै जिम्मेवारीमा समर्पित गर्ने अठोट बोके ।
गोपाल हमालको यो जनता मोह बुझ्न उनको विगत कोट्याउनुपर्ने हुन्छ । उनको पुर्ख्यौली घर कपिलवस्तु हो । धनगढीमा झाडी फाँडेर बस्ती बस्न थालेपछि हमालको परिवार यता सरेको थियो । सुरुमा टीकापुरको मनिकापुरमा खेती किसानी गरेर बसेको उनको परिवार पछि बुबाको जागिर वन विभागमा भएपछि धनगढीमा आयो ।
धनगढीको वनदेवी नजिकै डेढ कठ्ठा जमिनमा बनेको सानो घरमा ६ जना सन्तान हुर्किए । अभाव र सङ्घर्षका बिच हुर्किएका हमाललाई सानैदेखि केही गर्ने हुटहुटी थियो ।

कैलाली बहुमुखी क्याम्पसबाट प्रवीणता तह सकेपछि उनी व्यवसायमा होमिए । सुरुमा गौरीफन्टा नाकाबाट सामान ल्याएर धनगढीमा बेचे । पछि ५ हजार रुपैयाँ ऋण काढेर टिनको बाकस बनाएर बेच्ने व्यवसाय सुरु गरे । त्यही ५ हजारको लगानी र टिनको बाकसको व्यापारले आज उनलाई सुदूरपश्चिमकै नामी व्यवसायी बनाएको छ । उनको व्यवसायले सयौँलाई रोजगारी दिएको छ ।
व्यवसायसँगै हमाल समाजसेवामा जोडिए । ‘सुन्दर सुदूरपश्चिम’ अभियान, कपडा बैंक र शववाहन सञ्चालन जस्ता कामले उनलाई जनताको मनमा स्थापित गरायो ।
मेयर बन्ने सपना बोकेर उनी २०७४ सालमै चुनाव लडेका थिए, तर कांग्रेसका नृप वडसँग पराजित भए । त्यसपछि समर्थकको सुझावमा विवेकशील साझा पार्टीमा लागे र सुदूरपश्चिम संयोजक भए, तर दलभित्रको किचलो र जनताको सुझावपछि उनले पार्टी छोडे ।
‘मेयर बन्ने सपनामा पार्टीकै कारण ब्रेक लाग्ने देखेपछि मैले स्वतन्त्र उम्मेदवारी दिएँ,’ उनी भन्छन् ।
नभन्दै २०७९ वैशाखको चुनावमा धनगढीवासीले आँप चुनाव चिह्नमा २६ हजार ८६५ मतसहित उनलाई जिताए । सत्ता गठबन्धनका साझा उम्मेदवार नृप वड १४ हजार ८१७ मतमा खुम्चिए । यो जित हमालप्रतिको विश्वास र आशाको मत थियो ।
हमालले चुनाव जितेको तीन महिनौ हरेक वडामा महिनाको एक दिन विशेषज्ञ डाक्टरसहितको निःशुल्क क्लिनिक सुरु गरे । अस्पताल जान नसक्ने गरिब, वृद्धवृद्धाका लागि यसले धेरै राहत पुगेको छ ।
हमालले अहिलेसम्म धेरै नमुना काम गरेर देखाएका छन् । सुदूरपश्चिमका ८८ वटा स्थानीय तहमध्ये उनको कार्यशैली कामकाज आफैँमा नमुना भएको धेरैको बुझाई छ । उनी खासै विवादित कुरा गर्दैनन् । आफ्नो फेसबुकमा पनि उनी काम लाग्ने कुराबाहेक कसैको विरोध, गाली गर्दैनन् ।
मेयर हमालले चुनाव जिते लगत्तै उपमहानगरलाई भ्रष्टाचारमुक्त बनाउने अभियान थाले । उनले धनगढीमा डुबान नियन्त्रण र अतिक्रमण हटाउने अभियान सुरु गरे ।
उनका अनुसार धनगढीको पुरानो रोग भनेकै डुबान हो । खोलानाला अतिक्रमण गरेर घर बनेका थिए । निर्वाचित भएको एक महिना नबित्दै हमालको नेतृत्वमा डोजर चल्न थाल्यो । २०२१ सालको नापी नक्सा खोजेर खोला, नाला र ताल फिर्ता ल्याउने काम भयो । साँघुरो सडक र ट्राफिक जाम धनगढीको अर्को समस्या थियो । यो अभियान अन्तर्गत पनि धेरै काम भएका छन् ।
यस्तै धनगढीको मुख्य सडक बनाउन हमालले सडकको केन्द्रबाट दायाँ–बायाँ १५–१५ मिटर खाली गराउने अभियान चलाए । स्थानीयलाई नै सम्झाइ–बुझाइ उनले सडक अतिक्रमण खाली गराए । उनले सम्झाएपछि ४२८ घरधनी आफैँ घर भत्काउन राजी भए । अहिले धनगढीको कैलालीपुलदेखि क्याम्पसचोक हुलाकी सडकसम्मको यो सडक कालोपत्रे भइसकेको छ ।

हमालले चुनाव जितेको तीन महिनौ हरेक वडामा महिनाको एक दिन विशेषज्ञ डाक्टरसहितको निःशुल्क क्लिनिक सुरु गरे । अस्पताल जान नसक्ने गरिब, वृद्धवृद्धाका लागि यसले धेरै राहत पुगेको छ । गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सुरु गरियो, जसले घरमै सुत्केरी हुने जोखिम अन्त्य गरेको छ ।
ज्येष्ठ नागरिक र एकल महिलालाई पनि तीर्थयात्रा गराउने काम भइरहेको छ । धनगढीलाई प्लास्टिकमुक्त बनाउने आँट हमालले गरे । प्लास्टिकको सट्टा सालको पातका दुना–टपरी प्रयोगमा ल्याइयो । यसका लागि महिलाहरूलाई तालिम दिइयो, जसले गर्दा फोहर व्यवस्थापन मात्र भएन, महिलाहरूको आम्दानी पनि बढ्यो ।
युवालाई बिदेसिनबाट रोक्न माघ ५ गतेदेखि ‘सिप तथा रोजगार मेला’ सञ्चालन भइरहेको छ । ४० दिन चल्ने यो मेलामा सुदूरपश्चिमका ६ सय युवाले अटोमोबाइल, इलेक्ट्रिकल, हस्पिटालिटी लगायत ६ विधामा तालिम लिइरहेका छन् । यो मेला गत वर्ष पनि चलाइएको थियो ।
यसका साथै धनगढीको मुख्य सडकमा झिलीमिली बत्ती (स्मार्ट लाइट) जडानको काम भएको छ । हाइमास्ट लाइट पनि धनगढीका मुख्य सडकदेखि विभिन्न बजार र धार्मिक स्थलमा जडान गरिएका छन् । यसका साथै ६ लेन सडक, मुख्य बजार, शाखा सडकहरूमा बोटबिरुवा रोपिएका छन् ।
सार्वजनिक शौचालयको व्यवस्था गरिएको छ भने धनगढी विगतको तुलनामा सफा देखिएको छ । फोहर मैला सुक्ष्म वर्गीकरण केन्द्र सञ्चालन गरी कुहिने/नकुहिने फोहर मैला वर्गीकरण गरिएको छ । बजारमा जथाभाबी फोहर फाल्न पाइँदैन ।
केही समय यता नगर प्रमुख गोपाल हमाल अस्वस्थ छन् । यद्यपि उनको काम गर्ने जोस कम भएको छैन । उनी हरेक दिन कार्यालय पुग्छन्, फिल्डमा खटिन्छन् ।
बजारमा ठेला व्यापारलाई व्यवस्थित पारिएको छ । शनिबारी मेला आयोजना गरी स्थानीय परिकार लगायत विभिन्न सामग्री बिक्री हुने गरेको छ । ग्रासरुटबाट खेलकुदको विकासका लागि बजेट छुट्ट्याएर काम भइरहेका छन् ।
यसैगरी ताल, तलैयाहरूको संरक्षणको काम भएका छन् । जमिन मुनिको पानी पुनर्भरण गर्ने काम भइरहेको छ । काजकिरिया गर्न नसक्ने विपन्न परिवारलाई उपमहानगरले आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
धनगढीका सामुदायिक विद्यालयको सुधार अन्तर्गत पाँच वटा सामुदायिक विद्यालयलाई नमुना बनाएर पठनपाठनको काम हुँदैछ । शैक्षिक सुधार तथा विद्यार्थीलाई छात्रवृत्ति दिने काम भइरहेको छ । हमालले आफ्नै व्यक्तिगत पैसाबाट विद्यार्थीलाई शैक्षिक सामग्री दिने गर्छन् । यी र यस्ता धेरै काम उनले गरिरहेका छन् ।
केही समय यता नगर प्रमुख गोपाल हमाल अस्वस्थ छन् । यद्यपि उनको काम गर्ने जोस कम भएको छैन । उनी हरेक दिन कार्यालय पुग्छन्, फिल्डमा खटिन्छन् ।
‘मेरो स्वास्थ्यको चिन्ता मलाई पनि लाग्छ, तर जनताको विश्वासले मलाई घरमा बस्न दिँदैन,’ उनले भने ।
हमालको कार्यशैली देखेर धनगढीका जनता पनि खुसी छन् । ‘धनगढीको मेयरको कार्यशैली अरूभन्दा फरक छ । उहाँ हजारौँमा एक हुनुहुन्छ । यस्तो मेयर पाउन अब मुस्किल छ,’ स्थानीय वसन्त जोशीले भने ।
सबैले सङ्घीय संसद्सम्म पुग्न पार्टी रोजिरहँदा, गोपाल हमालले भने धनगढीका जनता रोज्दा उनलाई गर्व लाग्छ ।
धेरैजसो स्वतन्त्र जनप्रतिनिधिलाई दलका प्रतिनिधिहरूसँग तालमेल गर्न समस्या हुने गरेको छ । हमालले नेकपा एमालेबाट चुनाव जितेकी उपमेयर कन्दकला राना र एमाले, कांग्रेस पृष्ठभूमिका वडाध्यक्षहरूसँग गज्जबको समन्वय गरेका छन् ।
सुरुमा बजेट बनाउँदा उपमेयरसँग सामान्य विवाद भए पनि त्यसपछि उनीहरू मिलेर अघि बढे । ‘धनगढीमा जति पनि काम भएका छन्, हामी सबैको सल्लाहमा भएका छन्,’ उपमेयर रानाले भनिन् ।
वडाध्यक्षहरू पनि अरू जनप्रतिनिधिको कुरा सुन्ने मेयर हमालको बानी प्रशंसायोग्य रहेको बताउँछन् । वडा नम्बर ६ का अध्यक्ष भागीराम चौधरीले भने, ‘उहाँ धेरै बोल्नुहुन्न, समस्या सुन्नुहुन्छ र समाधानको उपाय दिनुहुन्छ । हामीलाई काम गर्न एकदमै सहज छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण