बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निर्वाचनको तयारी तीव्र : प्रत्यक्षतर्फ ३० लाख मतपत्र छापिए

आइतबार, १८ माघ २०८२, १६ : ५०
आइतबार, १८ माघ २०८२

सारांश

  • निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको तयारीलाई तीव्रता दिएको छ, जसमा मतपत्र र मतदाता नामावली छपाइलाई प्राथमिकता दिइएको छ।
  • समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको छ भने प्रत्यक्षतर्फ २५ जिल्लाका लागि ३० लाख मतपत्र छापिएको छ।
  • आयोगले निर्वाचन आचारसंहिता पालना गराउन र मतदाता शिक्षा कार्यक्रम सुरु गर्ने योजना बनाएको छ।

काठमाडौँ । निर्वाचन आयोगले तोकिएको कार्यतालिका अनुसार आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीलाई तीव्र गतिमा अघि बढाएको छ। आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पछिल्लो साता मतपत्र र मतदाता नामावली छपाइलाई मुख्य प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए।

आयोगका अनुसार समानुपातिकतर्फको मतपत्र छपाइ यसअघि नै सम्पन्न भइसकेको छ भने प्रत्यक्षतर्फ अहिलेसम्म २५ जिल्लाका लागि ३० लाख मतपत्र छाप्ने काम सकिएको छ। अहिले दैनिक १२ देखि १५ लाखको सङ्ख्यामा मतपत्र छपाइ भइरहेकाले बाँकी जिल्लाको काम पनि छिट्टै सकिने आयोगको दाबी छ। त्यस्तै, मतदाता नामावली छपाइको काम अन्तिम चरणमा पुगेको र आउने हप्तासम्म देशभरकै नामावली तयार भइसक्ने प्रवक्ता भट्टराईले बताए।

निर्वाचन आचारसंहिता पालना गराउन आयोग सक्रिय रहेको र उल्लङ्घन गर्ने व्यक्ति तथा संस्थालाई स्पष्टीकरण सोध्ने कार्य भइरहेको उनले जानकारी दिए। मतदातालाई मतदान प्रक्रियाबारे जानकारी दिन छिट्टै मतदाता शिक्षा कार्यक्रम सुरु गर्ने आयोगको योजना छ। 

संसद् पुनर्स्थापनाको विषय अदालतमा विचाराधीन रहेकाले त्यसमाथि कुनै टिप्पणी नगर्ने भन्दै आयोगले आफ्नो एकमात्र जिम्मेवारी कार्यतालिका अनुसार अघि बढ्नु रहेको प्रस्ट पारेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप