बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी चर्चा

पञ्चायतदेखि एमालेले कब्जा जमाएको कास्की–२ मा कसको जनाधार कति ?

सोमबार, १९ माघ २०८२, १२ : ४५
सोमबार, १९ माघ २०८२

पोखरा । २०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा राजनीतिक दललाई प्रतिबन्ध लगाएका कारण कम्युनिस्ट पार्टीका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिए । तर, देशैभरिबाट कम्युनिस्ट पार्टीका ५ जनामात्रै निर्वाचित हुन सके । ती ५ जनामध्येका भाग्यमानी हुन् कास्कीका सोमनाथ अधिकारी (प्यासी) ।

अधिकारीले राष्ट्रिय पञ्चायतमै रहेर पञ्चायत विरोधी अभियान चलाए । कास्कीमा अधिकारीले चुनाव जित्नु चानचुने विषय थिएन । पञ्चायतको भर्भराउँदो समयमै अत्यधिक मत ल्याएर चुनाव जितेका प्यासी अहिलेसम्म पनि राजनीतिमा सक्रिय छन् । पछिल्लो समय उनी कोशी प्रदेश प्रमुख नियुक्त भएर कार्यकाल सम्हाले ।

कास्की क्षेत्र नम्बर २ लाई नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठले संगठित गरेको एमाले पंक्ति बताउँछ । एमाले नेता झपट रानाभाट कास्की–२ मा एमालेको हैसियत उनै पुष्पलालले बनाइदिएको बताउँछन् ।

‘लामो समय यो क्षेत्रमा पुष्पलालले बिताउनुभएको भन्ने हामीले सुनेको हो । अहिलेसम्मको रिजल्ट हेर्दा त्यो होजस्तो पनि लाग्छ,’ उनले भने, ‘नत्र देशभर ५ सिट कम्युनिस्टले जित्दा कास्की–२ पनि पर्दैनथ्यो होला ।’

यहाँ पार्टी विभाजनको समयबाहेक सबै निर्वाचन एमालेले जितेको छ । २०४८ सालमा खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याएर तुलबहादुर गुरुङले चुनाव जितेका थिए । ७६ हजार ७२० मतदातामध्ये ६४ प्रतिशत मत खसेको थियो । ४७ हजार १२९ सदर मतमध्ये गुरुङले २४ हजार ३४ मत पाएका थिए ।

दोस्रो भएका नेपाली कांग्रेसका शुक्रराज शर्माले २१ हजार ३११ मत पाए भने राप्रपाका गणेश शेरचनले १ हजार ७६७ मत पाएका थिए । यहाँ अरु पार्टीको खासै राम्रो उपस्थिति थिएन । २०५१ सालमा पनि उनै तुलबहादुर गुरुङले चुनाव जिते, तर अघिल्लो भन्दा झन्डै २ हजार मत घट्यो । गुरुङले कुल सदर मत ५० हजार ३५३ मध्ये २२ हजार ३७७ मत पाए । कांग्रेसका शर्माले झन् धेरै मत घटाए । उनको १८ हजार ६६३ मत आयो । उक्त निर्वाचनमा राप्रपाको मत निकै राम्रो देखिन्छ । राप्रपाका सूर्यबहादुर केसीले ८ हजार ५६८ मत पाएका थिए । उनी केहीपछि कांग्रेस प्रवेश गरे ।

२०५६ को निर्वाचनमा कांग्रेसका महादेव गुरुङ कास्की–३ बाट २ मा झरे । पार्टी विभाजनको समयमा चुनाव भएकाले एमालेका तुलबहादुर कांग्रेसका महादेवसँग पराजित हुन पुगे । महादेवले २६ हजार ४४३ मत पाउँदा तुलबहादुर २२ हजार १२६ मतमा खुम्चिए । नेकपा मालेका हर्क पुनले २ हजार ९६० मत पाउँदा राप्रपाका रामबहादुर भण्डारीले २ हजार ६९१ मतमात्रै पाए ।

२०६४ मा कास्की ४ वटा निर्वाचन क्षेत्रमा विभाजित भयो । हालको २ नम्बर क्षेत्रका अधिकांश भूगोल त्यतिबेला ३ नम्बरमा रह्यो । त्यो बेला एमालेका रविन्द्र अधिकारी विजयी भए । कास्कीका तीनै क्षेत्र नेकपा माओवादीले जित्दा ३ नम्बर क्षेत्रमा एमालेले बर्चश्व कायम राख्यो । अधिकारीले १३ हजार ३८६ मत पाउँदा माओवादीका झलकपाणी तिवारीले १० हजार ९२६ मत पाए । तेस्रो बनेकी कांग्रेसकी विन्दादेवी रानामगरले ९ हजार ४१ मत पाइन् । बाँकी पार्टीहरूले १ हजार मत पनि कटाउन सकेनन् ।

२०७० मा पनि ३ नम्बर क्षेत्रको चुनाव रविन्द्रकै पोल्टामा पुग्यो । उनले १३ हजार ११० मत ल्याउँदा कांग्रेसका सोभियत अधिकारी १० हजार ८०८ मतसहित दोस्रो भए । माओवादीका रामजी बरालले ४ हजार ४३१ मतमात्रै पाए । अरु कुनै पनि पार्टीले १ हजार मत कटाउन सकेनन् ।

२०७४ मा पूरानै निर्वाचन क्षेत्र फर्कियो । कास्कीमा ४ वटा निर्वाचन क्षेत्रबाट घटेर ३ क्षेत्र कायम भयो । फेरि पनि यहाँबाट उनै अधिकारीले ह्याट्रिक गरे । २७ हजार २०७ मत सहित अधिकारी विजयी हुँदा कांग्रेसका देवराज चालिसे १८ हजार ६६१ मतमा खुम्चिए । अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भयो । उपनिर्वाचनमा उनै अधिकारीकी धर्मपत्नी विद्या भट्टराई विजयी भइन्, तर अधिकारीले प्राप्त गरेको मत उनले पाउन सकिनन् । विद्याले २४ हजार ३९४ मत पाउँदा प्रतिस्पर्धी कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत प्राप्त गरे ।

२०७९ को चुनावसम्म आइपुग्दा एमालेले निकै नराम्रोसँग आफ्नो मत गुमाएको छ । दोस्रो पटक चुनाव लडेकी विद्या भट्टराईले मुस्किलले १६ हजार ९९८ मत पाइन् । यो क्षेत्रमा रास्वपा उम्मेदवार दोस्रो भए । माधव कँडेलले १२ हजार ४९५ मत पाउँदा कांग्रेससहित माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार श्रीनाथ बरालले जम्मा ९ हजार ६५९ मत प्राप्त गर्न सके । राप्रपाका सुवर्ण पन्तले ३ हजार ९९३ र गठबन्धनको विरोध गर्दै उम्मेदवारी दिएका कांग्रेस नेता महादेव गुरुङले १ हजार ३४० मत पाए ।

धेरैले गठबन्धनका कारण उम्मेदवारबाहेकका सहयोगी दलका कार्यकर्ताको मत रास्वपामा गएको आकलन गरेका छन्, तर रास्वपाको उक्त मत चुनावमा टिकट वितरणको असन्तुष्टी मात्रै थिएन, परिवर्तनका लागि जाहेर मत पनि थियो । समानुपातिकतर्फ रास्वपा यो क्षेत्रबाट पहिलो पार्टी बन्यो । रास्वपाले १४ हजार २ मत ल्याउँदा एमालेले १३ हजार ५४० र कांग्रेसले १० हजार ५५३ मत पायो । राप्रपाको ४ हजार ४६३, माओवादीको २ हजार ४०४, एकीकृत समाजवादीको १ हजार १७७ मत आयो ।

अहिले एमालेले उम्मेदवार फेरेको छ । भरतपोखरीका रश्मि आचार्यले एमालेबाट टिकट पाएका छन् । पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएर काम गरिसकेका रश्मि युवापुस्तामा लोकप्रिय छन् । उनलाई एमालेले विगतदेखि प्राप्त गर्दै आएको विरासत जोगाउन निकै चुनौती छ । सोही ठाउँबाट उम्मेदवार बनेका नेपाली कम्युनिस्ट पार्टीका हेमबहादुर थापा (किरण) नै रश्मिका लागि सबैभन्दा ठुलो तगारो हुन् । थापा र रश्मिका लागि भरतपोखरी, निर्मलपोखरी, कृष्ती लगायत क्षेत्र आधारभूमि हुन् । उनीहरूको प्रतिस्पर्धाले अर्काे पार्टीलाई फाइदा नपुग्ला भन्न सकिँदैन । किरण पनि जनयुद्धमा लडाकु कमाण्डर भएर काम गरेका व्यक्ति हुन् । पार्टीको संगठन विस्तारमा उनको ठुलो योगदान छ । यद्यपि, उनी माओवादी विभाजनको समयमा बाबुराम भट्टराईको पक्षमा लागे । केही समयअघि उनी माओवादीमा फर्किएका हुन् ।

नेपाली कांग्रेसबाट सादगी उपमा पाएका नेता माधवप्रसाद बास्तोला (मधु)ले उम्मेदवारी दिएका छन् । उनी पोखरा–११, फूलबारीका हुन्, जसका कारण माथिल्लो क्षेत्रको भोट उनले सुरक्षित गर्न सके रश्मिलाई समस्या हुन सक्छ । माधव कांग्रेसको संगठनमा सक्रिय नेता हुन् । पूर्ववडाध्यक्ष समेत भएर काम गरेका उनी २०६७ मा कांग्रेसको महाधिवेशन सकेर फर्किंदा दुर्घटनामा परे । अरु ४ सहयात्रीलाई दुर्घटनामा गुमाएका उनी भाग्यले बाँचेर फर्किएका हुन् ।

यस क्षेत्रमा प्रमुख तीन दलका लागि चुनौती बनेका छन् रास्वपाका उत्तम पौडेल । सञ्चार क्षेत्रबाट रवि लामिछानेसँगै राजनीतिमा होमिएका पौडेल कास्की २ का लागि अहिले बलियो प्रतिस्पर्धी हुन् । गुरुङ समुदायमा पारिवारिक सम्बन्ध भएका उनलाई मतदाताको भर छ । त्यसो त, राप्रपाले केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङलाई मैदानमा उतारेको छ । उनी पनि चुनाव जित्ने दाउमा छन्, तर खस्कँदो उनको संगठित भोटका कारण चुनौती भने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप