मैथिल विवाह : एक सुव्यवस्थित पद्धति
सारांश
- मिथिला विवाह प्रणाली दैव विवाहमा आधारित छ, जसमा कन्यादानको परम्परा रहेको छ।
- मैथिल विवाहमा बेहुला र बेहुली विवाह अनुष्ठानका दौरान मात्र एकअर्कालाई चिन्छन्।
- यस विवाहमा लोकगीतको विशेष महत्व छ, जहाँ हरेक संस्कार र रितिका लागि छुट्टाछुट्टै गीत गाइन्छन्।
प्रकृतिले जीवहरूमा सन्तानोत्पादनका लागि पुलिङ्ग र स्त्रीलिङ्गी स्वरूप निर्मित गरेको छ । र, मानव जीवनमा यस कुराले विशेष महत्त्व पाएको छ । समाजमा विवाह दुई व्यक्तिहरू मध्ये अर्थात् प्रायः नर र नारीबिचको सामाजिक, धार्मिक अथवा कानुनी रूपमा सँगै जीवन व्यतीत गर्ने सामाजिक प्रणाली हो ।
विवाहले दुई व्यक्तिबिच दाम्पत्य सम्बन्ध स्थापित गर्छ । हरेक संस्कृति, हरेक जाति र हरेक क्षेत्रमा आ–आफ्नै विधि, व्यवहार र परम्परा अनुसार विवाह कार्यक्रम सम्पन्न गर्ने गरिन्छ ।
सनातन संस्कृतिमा विवाहका अनेक प्रकार रहेका छन् । शास्त्रहरूमा आठ प्रकारका विवाह पद्धतिहरू वर्णित छन् । सनातन दर्शनमा विवाह भनेको वंशक्रम अघि बढाउन स्त्री र पुरुषबिचको मर्यादित साहचर्य हो । यद्यपि आज जीवनयापनका लागि मानवीय एवं सामाजिक सम्बन्धका रूपमा यो रहेको बुझिन्छ ।
भौगोलिक, धार्मिक एवं जातीय स्थितिमा विवाहका पद्धति र परम्पराहरूमा विविधता पाइन्छ । वैदिक दर्शनमा विवाहका आठवटा विधि बताइएको छ । संसारमा प्रचलित विवाहका विधिहरू यिनै स्वरूपको सामीप्य रहेको पाइन्छ । यिनलाई ब्रह्म विवाह, दैव विवाह, आर्य विवाह, प्रजापत्य विवाह, असुर विवाह, गन्धर्व विवाह, राक्षस विवाह र पैशाच विवाह पद्धतिको नाम दिइएको छ ।
मिथिला विवाह पद्धतिले दैव विवाह पद्धतिको अनुसरण गर्छ । दैव विवाह पद्धतिमा कन्यादानको परम्परा छ । सुयोग्य वरलाई कन्या दान गर्नुपर्छ भन्ने मान्यता छ । मिथिला विवाह सनातन संस्कृतिमा प्रचलित विवाहको पारम्परिक प्रणालीमाथि आधारित छ । मैथिल विवाह प्रक्रियाको प्रमुख स्रोत वैदिक शास्त्रका मन्त्रहरू हुन् ।
मिथिला क्षेत्रमा मैथिल विवाहलाई समर्पित एक अलग साहित्यिक ग्रन्थ नै छ । यस ग्रन्थलाई श्री मैथिली विवाह पदावलीको नामले जानिन्छ । मैथिल विवाह संसारमै एक व्यवस्थित विवाह प्रणाली हो । मैथिल विवाह प्रणालीमा दूल्हा र दुल्ही केवल विवाह अनुष्ठानका दौरान मात्र एकअर्काबाट परिचित हुन पाउँछन् ।
मैथिल विवाहको प्रणाली जडवादी छ, किनभने यसले विवाहित दम्पतीलाई हमेशाको लागि मजबुत वैवाहिक जीवन बनाउनुमा मद्दत गर्छ ।
मैथिल विवाह परम्परामा, एक घटक, जो मूलतः वर र वधूका माता–पिताबिच मध्यस्थ हुन्छ, वधूका लागि वर खोज्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । मिथिलामा वधूका लागि वर खोज्ने र उनीहरूबिच विवाह सुनिश्चित गर्ने प्रक्रियालाई घटकैती भनिन्छ ।
मैथिल विवाह प्रक्रियामा केही विशेष परम्पराहरू छन्, जो सामान्यतया मिथिलामा बाहेक अन्य हिस्सामा देखा पर्दैन । उदाहरणका लागि जब बेहुला बेहुलीको घरमा आउँछ तब बेहुलालाई सबैको सामुन्ने लुगा फेर्न लगाइन्छ ताकि यो कुरा जाँच्न सकियोस् कि बेहुलामा कुनै शारीरिक दोष त छैन ।
यसैगरी आम–महू विवाह (आँप र महुआ वृक्षबिच विशेष विवाह) प्रक्रिया दूल्हा र उसको बरियाती दुलहीको ढोकामा पुग्नुअघि दुलहीको घरमा सम्पन्न गरिन्छ । यो प्रकृति पूजा हो, जसमा प्रकृतिलाई सन्तुष्ट गरी कन्या विवाहको अभीष्ट पूरा गर्न प्रकृति समक्ष प्रार्थना गरिन्छ ।
दुलहा–दुलहीको घरमा दुलहा वा दुलही वैवाहिक प्रक्रियाहरू पूरा गर्न एक–एक विधकरी नियुक्त गरिन्छ । यस्तो विधकरी प्रायः बेहुलाको विवाहिता दिदीबहिनी वा सो नभए भाउजू वा सो पनि नभए फुपू हुन्छन् ।
मैथिल विवाहको परम्परामा विवाहको प्रक्रिया परीछनबाट शुरू हुन्छ । परीछनका दौरान, दूलहासँग विधकरी र दुलहीकी सखी नातेदार महिलाहरूले घरेलु जीवनसँग सम्बन्धित केही व्यावहारिक प्रश्न सोध्दछन् । परीछन प्रक्रियापछि, दूल्हालाई कोहबर (कोबर) घरमा लगिन्छ ।
कोहबर घर दुल्हीको घरको विशेष कक्ष हुन्छ, जहाँ कुलदेवताको स्थापना गरिन्छ र उनैको सामु अन्तिम चरणमा सिन्दूर दान जस्तो मुख्य विवाह कार्य सम्पन्न गरिन्छ । कोहबर घरमा सबैभन्दा पहिले नैना–जोगिनको प्रक्रिया पूरा गरिन्छ ।
नैना–जोगिन प्रक्रियामा, दुल्ही र उसको सखीलाई साडी मुनि लुकाई दिइन्छ र दुलहालाई उसको हुने वाली धर्म पत्नी र अन्यलाई नदेखिकनै चिन्न लगाइन्छ । यहाँनेर गाइने नैना जोगिनको गीतमा पत्नी भन्ने दायाँको हो कि बायाँको हो भन्ने संकेत लुकेको हुन्छ । यस प्रक्रियाबाट दुलहाको बुद्धिको परीक्षण गरिन्छ । परीक्षणका अलावा, दुलहीकी महिला नातेदार यस प्रक्रियाको आनन्द लिन्छन् । यसपछिको प्रक्रिया मडवामा आयोजना गरिन्छ ।
यज्ञ मण्डपलाई प्रचलित भाषामा मडवा भनिन्छ । मडवामा विवाह यज्ञ, कन्यादान, घोंघट र सोहागको प्रक्रिया पूरा गरिन्छ । आँगनमा यज्ञ मण्डप र वेदी निर्माण गरिएको हुन्छ । वेदीमा अग्नि प्रज्वलित गरेर वर–वधुको सात फेरि लगाइन्छ ।
मैथिल विवाह परम्परामा सात फेरी र त्यससँगै दिइने सात वचन विवाहको सबैभन्दा पवित्र र भावनात्मक पक्ष हुन्छ । यी सात वचन धार्मिक क्रिया मात्र होइन, बल्कि जीवनभरि निर्वाह गरिने सात संकल्प हो, जो पति–पत्नीले एक–अर्काका लागि संकल्पित हुन्छन् ।
वर्तमान बदलिँदो जीवनशैलीमा वैवाहिक जीवनलाई सुखद् र सफल बनाउन समय–समय ती वचनहरूको मर्यादा कायम राख्नु आवश्यक हुन्छ । यी वचनहरूमा जीवनको आवश्यकताहरूको पूर्ति गर्ने, एक–अर्काको शक्ति र सहयोगी बन्ने, धन र समृद्धिका लागि संयुक्त प्रयास, एक–अर्काको परिवारको सम्मान गर्ने, सन्तान र उसको पालन–पोषण, कुनै पनि परिस्थितिमा एक–अर्काको साथ नछोड्ने, सात जन्म–जन्मान्तरसम्म सँगसाथ रहने कुराहरू रहेको देखिन्छन् ।
वरले वधुको लागि मूल्यवान गहना, शुभताको उपहार, लाल रंगको लहठी, चूड़ी, सिंदूर, कुमकुम, पहिरन र फल आदि लिएर जान्छन् । बेहुलालाई वधु पक्षले पहिरन, घडी, औंठी, चेन आदि दिन्छन् । मिथिलाको आदर्श विवाहमा कुनै प्रकारको दाइजो व्यवहार हुँदैन । केही जातजातिमा नगद, मोटरसाइकल, फर्निचर आदि दाइजो माग्ने चलन पनि छ । दाइजोको कारण घरेलु हिँसाका घटना पनि नपाइएको होइन । तर वर्तमान समयमा परिस्थिति बदलिएको छ ।
सिन्दूरदान विवाहको मूल रीत हो । विवाह कार्यको लक्ष्य नै वरले कन्याको सिउँदोमा सिंदूर भर्नु हो । सौभाग्यवती सनातनी स्त्री आफ्नो माँगमा सिन्दूर भर्छन् । यस परम्परा अनुसार सिन्दूर नारीको सौभाग्यको चिह्न मानिन्छ । सिन्दूर दानपछि विवाहका केही फूटकर विधि व्यवहार गरेर वर र वधुसहित बारातीको विदाई गरिन्छ ।
विवाहमा वरियाती लैजाने चलन सबैतिर छ । तर मिथिलामा वरियातीको विषय निकै विविधतापूर्ण छ । वरियातीमा वरपक्षका अभिभावक र मान्य नातेदारको जानु अनिवार्य मानिन्छ । बेहुलाका नातेदार, सम्बन्धी, छिमेकी, इष्टमित्रको बरियातीमा जानु सामाजिक शिष्टाचार मानिन्छ । बालबालिकाको लागि वरियाती अत्यन्तै रहरको विषय हुन्छ ।
अचेल महिलाहरू पनि वरियाती जान थालेका छन् । वरियातीको मर्यादा, स्वागत, भोजन, विश्राम, सुविधा आदि कुरा पनि निकै महत्त्वपूर्ण मानिन्छ । सम्मानमा उँचनिच हुन गएमा निकै गहमागहमी हुने अवस्था हुन्छ । दरबारमा वरियाती रहुञ्जेल घरपटि सतर्क रहन्छन् ।
मिथिलामा बरियातीको विषयमा एउटा उखान निकै प्रचलित छ– ‘सारा वरियाती कते मन ? सारा वरियाती तीन मन– वरके निक कनिया चाही, वरके बापके दहेज चाही आ वरियातीके निक भोजन चाही ।’
मैथिली विवाह पद्धतिमा लोकगीत एक अनुपम विशेषताका रूपमा रहेको छ । मैथिली लोकगीत सामान्यतया सामाजिक–सांस्कृतिक अवसरहरूमा विचार वा भावनाहरू साझा गर्न गाइन्छ । तिनीहरूका विषयवस्तुहरू देव कार्य र संस्कार क्रियादेखि कृषि कर्मसम्मका छन् । मैथिली लोकगीतहरूमा देवताहरूको बारेमा धेरै गीतहरू छन्, तर ऋतुहरू र कृषिको बारेमा पनि धेरै गीतहरू छन् ।
विवाहलाई अझ अविस्मरणीय बनाउन, विवाहका हरेक चरणका लागि छुट्टै गीतहरू गाइन्छ । मानिसहरूको संस्कृति, पहिरन र बोली ठाउँअनुसार परिवर्तन हुँदै जाँदा, विवाह गीतहरू पनि उल्लेखनीय रूपमा परिवर्तन हुन्छन्, तर केही विवाह गीतहरू धेरै हदसम्म उस्तै रहन्छन्, जस्तै कन्यादान र सिन्दूर दानको गीत ।
मिथिला क्षेत्रको लोक गीत संसारमै एक विशिष्ट र समृद्ध परम्परा मानिन्छ । यस क्षेत्रमा जन्मदेखि मृत्युसम्मका हरेक संस्कार र ऋतुहरूका लागि छुट्टाछुट्टै गीतहरू छन् । मैथिली लोक गीत कुनै पनि समाजको मौलिक पहिचान र संस्कृतिको ऐना हुन्, जो पुस्तौँदेखि जनजिब्रोमा झुन्डिएका हुन्छन् । प्रसिद्ध कवि विद्यापतिका गीतहरू मिथिलाको लोक संगीतको आत्मा मानिन्छन् ।
मैथिल लोक गीतको मुख्य विशेषता यिनीहरूमा माटोको सुगन्ध र ग्रामीण जीवनको भोगाइ सरल किसिमले अभिव्यक्त गरिन्छ । जो सोहर, झिझिया, समदाउन, बटगमनी, मधुश्रावणी, सामा–चकेवा, नचारी, महेशवाणी आदि नामले जानिन्छ ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा रुचि राख्छन्)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण