शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

क्यान्सर पहिचानका लागि सम्झौता

बुधबार, २१ माघ २०८२, २१ : ५९
बुधबार, २१ माघ २०८२

सिरहा । क्यान्सर रोगको समयमै पहिचान र उपचारका लागि लहान नगरपालिकाले लहान क्यान्सर केयर सेन्टरसँग औपचारिक सम्झौता गरेको छ ।

विश्व क्यान्सर दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले उक्त अभियानको घोषणा गरेका हुन् । सम्झौता अनुसार लहान नगरपालिकाको २४ वटै वडामा गाउँगाउँ पुगेर क्यान्सर पहिचानसम्बन्धी शिविर सञ्चालन गरिनेछ ।

ती शिविरमार्फत क्यान्सरको प्रारम्भिक पहिचान, निःशुल्क उपचार तथा आवश्यक परे थप उपचारका लागि समन्वय गरिने नगरप्रमुख चौधरीले जानकारी दिए । यसका लागि आवश्यक बजेटसमेत नगरपालिकाले व्यवस्था गरिसकेको छ ।

नगरप्रमुख चौधरीले भने, “क्यान्सर जस्तो गम्भीर रोग समयमै पहिचान भए उपचार सम्भव हुन्छ । त्यसैले नगरका सबै वडामा पुगेर निःशुल्क शिविरमार्फत सेवा दिने लक्ष्य राखेका छौँ । करिब एक हजार जनालाई यो सेवा उपलब्ध गराउने हाम्रो योजना छ ।”

कार्यक्रममा लहान क्यान्सर केयर सेन्टरका प्रमुख अशेकलाल अमात्यले आगामी फागुन ७ गतेदेखि वडा नं ७ बाट क्यान्सर पहिचान अभियान सुरु गरिने जानकारी दिए।

उनका अनुसार लहान क्यान्सर केयर सेन्टरले यसअघि पनि पूर्वाञ्चल क्यान्सर अस्पताल, झापा र भक्तपुर क्यान्सर अस्पतालसँग समन्वय गरी निरन्तर सेवा प्रदान गर्दै आएको छ । त्यसका साथै मागअनुसार समुदायस्तरमा, विद्यालय तथा क्याम्पसमा क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

केयर सेन्टरले प्रत्येक महिनाको अन्तिम बुधबार विशेषज्ञ चिकित्सकमार्फत क्यान्सर सम्भावित व्यक्तिको स्क्रिनिङ गर्ने, साथै महिलामा हुने पाठेघरको क्यान्सरसम्बन्धी ‘प्यापीलोमा परीक्षण’ दैनिक रूपमा गर्दै आएको पनि जनाएको छ ।

विश्व स्वास्थ्य सङ्ठन (डब्ल्यूएचओ)का अनुसार हरेक वर्ष करिब १० लाख मानिस क्यान्सरका कारण मर्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप