रुपन्देही–१ का मतदाता भन्छन्, ‘लालपुर्जा देऊ, झुटा आश्वासन होइन’
सारांश
- रुपन्देहीको तिलोत्तमा र देवदहका बासिन्दाले लालपुर्जा पाउन समस्या भोगिरहेका छन्, जसमा भूमि आयोगको अस्थिरता कारक देखिएको छ।
- स्थानीय सरकारले कर असुले पनि लालपुर्जा वितरणमा ढिलाइ हुँदा मतदाता निराश छन्, र नेताहरूले चुनावमा आश्वासन मात्र दिने गरेको गुनासो छ।
- राष्ट्रिय भूमि आयोगले लालपुर्जा वितरणको प्रयास गरे पनि राजनीतिक अस्थिरताका कारण प्रक्रिया प्रभावित भएको छ, तर अहिले फेरि काम सुरु हुने संकेत देखिएको छ।
बुटवल । रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर ११ रामनगर चोकमा लिलाम्बर सापकोटाको ८ धुरमा बनेको दुईतले पक्की घर छ । ५९ वर्षका सापकोटा २०६० सालदेखि यहीँका बासिन्दा हुन् ।
केही समयअघि छोरीलाई जापान पठाउन उनी विभिन्न बैंक धाए, तर लालपुर्जा नभएकै कारण उनले ऋण पाएनन् । सरसापट गरेर भए पनि उनले काम चलाए । उनका दुई छोरी अहिले जापानमा छन् ।
सापकोटाको घर आसपास एक दर्जनभन्दा धेरै पक्की घरहरू निर्माण भएको वर्षौँ भयो, तर उनीहरूले लालपुर्जा भने पाएका छैनन् ।
तिलोत्तमा–११ को आकासे पुल भन्ने ठाउँमा ३० वर्षदेखि बसोबास गरेका पदमबहादुर विश्वकर्मा किसान हुन् । लालपुर्जाका लागि वर्षौँदेखि वडा कार्यालयमा कर तिर्ने गरे पनि अझैसम्म नपाउँदा उनी पनि मर्कामा छन् ।
रामनगर चोकमा रातोपाटीसँग भेटिएका विकले भने, ‘हाम्रो मुख्य समस्या लालपुर्जा हो । नेताहरूले लालपुर्जा दिन्छु भन्छन्, तर अहिलेसम्म पाएको अवस्था छैन । हामीलाई सधैँ झुटो आश्वासन नदिए हुन्थ्यो ।’
नेताहरूले पटक–पटक लालपुर्जा समस्या समाधान चुनावका बेला प्रतिबद्धता गरे पनि काम भने कहिल्यै नगरेका दुःख सापकोटा सुनाउँछन् । वर्षैपिच्छे नापजाँच गरे पनि लालपुर्जा कहिले हात पर्छ भन्ने टुंगो नभएको उनी बताउँछन् । साथै आफूहरूले वडा कार्यालयमा कर तिरिरहेको पनि उनले जानकारी दिए ।
राष्ट्रिय भूमि आयोगले तिलोत्तमा–११ मा रहेका स्थानीयलाई लालपुर्जा दिने भन्दै २०७७ सालमा फारम भराएको थियो । त्यो बेला वडा नम्बर ११ का मात्रै ३ हजार ३ सय २२ जनाले फारम भरेका थिए, तर लालपुर्जा वितरण भएन ।

फेरि आयोगले अन्तिम पटक भन्दै २०८२ साउन ३० गते सूचना जारी गर्दै देशभर ३५ दिने म्याद राखेर फारम भर्न सूचना जारी गरेको थियो र त्यसैअनुसार यहाँका स्थानीयले वडाबाट फारम भरेका थिए । तर यस पटक पनि उनीहरूलाई लालपुर्जा दिइने कुनै ग्यारेन्टी छैन ।
तिलोत्तमा नगरपालिका राष्ट्रिय भूमि आयोगका प्राविधिक राजु पाण्डेका अनुसार यहाँबाट ८ हजार २ सय ९० जनाले फाराम भरेका थिए । र सबैभन्दा धेरै फारम भर्ने तिलोत्तमा–११ का बासिन्दा रहेका उनले सुनाए । ‘नगरपालिकाभित्र १ हजारजति नयाँ फारम थपिने अनुमान छ, त्यसको इन्ट्री माघ मसान्तसम्म सक्ने लक्ष्य छ,’ उनले भने । तिलोत्तमामा लालपुर्जाको समस्या वडा नम्बर ११ पछि क्रमशः १० र ९ मा छ ।
देवदह नगरपालिका, तिलोत्तमाकै पर्ने रामनगर, भूपू सैनिक, गणेश नगर, कालिका स्थान, कान्छी बजारलगायत स्थानमा ऐलानी जग्गामा बसोबास गर्नेहरू थुप्रै छन् ।

रुपन्देही क्षेत्र नम्बर १ मा देवदह नगरपालिका, रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकाका वडा नम्बर ७, ८, ९, १०, ११, १२, १५, १६, १७ र ओमसतिया गाउँपालिकाका वडा नम्बर १, ३, ४, ५ र ६ समावेश छन् ।
राष्ट्रिय भूमि आयोग रुपन्देहीका पूर्वजिल्ला सदस्य एवं देवदह निवासी भरत तिवारीका अनुसार जिल्लाका ५ वटा निर्वाचन क्षेत्रमध्ये तुलनात्मक रूपमा क्षेत्र नम्बर १ मा लालपुर्जा समस्या धेरै छ । उक्त क्षेत्रमा देवदह नगरपालिका, तिलोत्तमा र ओमसतियामा अधिकांश ऐलानी जग्गाको समस्या छ ।
राष्ट्रिय भूमि आयोगका सेवा केन्द्र देवदहका संयोजक विष्णु बस्यालका अनुसार यसभन्दा अघिल्लो आयोगमा देवदह नगरपालिकाबाट १५ हजार ३ सय ६३ वटा फारम भरिएका थिए । पछिल्लो पटक ९ सय ६५ जनाले भरेका छन् । जसमा पुराना ७ सय ८६ जनाले लालपुर्जाको प्रमाणपत्र प्राप्त गरिसकेका छन् । यहाँ स्थानीय तह र राष्ट्रिय भूमि आयोगका कर्मचारीहरू खटिएका छन् ।
देवदहका सामाजिक अभियन्ता प्रेम थापाका अनुसार देवदह–१२ का अधिकांश क्षेत्रमा ऐलानी जग्गा छ । ती ऐलानी जग्गामा स्थानीय सरकारले प्रत्येक वर्ष कर लिने गरेको छ । तर समस्या समाधानका लागि प्रतिनिधिसभाका उम्मेदवारहरूले घोषणापत्रमा उल्लेख गरे पनि पूरा गरेका छैनन्, अन्य कुनै पनि तरिकाले राज्यले सम्बोधन गरेको अवस्था छैन ।
तिलोत्तमा–११ रामनगर निवासी पूर्वप्रधानाध्यापकसमेत रहेका कृष्णप्रसाद पोखरेलले यो ठाउँमा २०३९ सालदेखि बसोबास तथा खेतीपाती गर्दै आए पनि किसानले लालपुर्जा नपाएका बताए । ‘यहाँ धेरै पटक चुनाव भए, नेताहरू आए गए, तर लालपुर्जाको समस्या जस्ताको तस्तै रह्यो,’ उनले भने । उम्मेदवारहरूले चुनाव सकिएपछि पनि यो समस्यालाई गम्भीर रूपमा बुझ्नुपर्ने उनको आग्रह छ ।
देवदहका स्थानीय खिम ठटराईले सुकुमबासी समस्या मुख्य भएको उल्लेख गर्दै सिँचाइ र सडकजस्ता समस्यामा पनि उम्मेदवारले ध्यान दिनुपर्ने बताए । उनले नेताहरूले चुनावमा सुकुमबासी समस्यालाई भोट बैंकका रूपमा प्रयोग गरेको उल्लेख गरे । ‘हरेक निर्वाचनमा त्यही सुकुमबासी समस्याको नारालाई देखाउँदै नेताहरू मत माग्न आउँछन्,’ उनले भने ।
रुपन्देही–१ मा १ लाख ४६ हजार ८ सय २४ मतदाता छन् भने यहाँ स्वतन्त्रसहित ३१ जना उम्मेदवार रहेका ।
अस्थिर आयोगबाट झन् समस्या
राष्ट्रिय भूमि आयोग वा सुकुमबासी समस्या समाधान आयोग पटक–पटक गठन र विघटन हुँदै आएको छ । जसका कारण सुकुमबासीलाई लालपुर्जा पाउन समस्या भइरहेको छ । र यही समस्या देखाएर उम्मेदवारहरूलाई मत माग्न पनि सजिलो भएको देवदहका प्रेम थापाको बुझाइ छ ।
माथि उल्लेख गरेका पात्रहरू क्षेत्र नम्बर १ का मतदाता हुन् ।
भदौ २३/२४ गते भएको जेनजी आन्दोलनपछि सरकारले फेरि आयोग खारेज गर्यो । आयोगका पदाधिकारीहरू अदालत गएपछि पुनः बहाली भए । यसरी आयोग अस्थिर हुँदा त्यसको असर तलसम्म परेको छ ।
देवदह र तिलोत्तमा नगरपालिकामा आयोगले लालपुर्जा वितरण तयारी गरिरहेको बेला तत्कालीन सरकारले रुपन्देही जिल्लामा हरिबहादुर आचार्य क्षेत्रीको नेतृत्वमा रहेको आयोगलाई खारेज गर्यो । अनि २०८१ साल पुस २९ गते रुपन्देहीमा कुमार थापा मगरको नेतृत्वमा जिल्लास्तरीय नयाँ आयोग गठन गरेको थियो । नयाँ आयोग आएपछि ठाउँ–ठाउँमा जग्गा नापजाँचको काम भइरहेको थियो । केही ठाउँमा लालपुर्जा दिने प्रक्रिया अगाडि बढाएको थियो ।
भदौ २३/२४ गते भएको जेनजी आन्दोलनपछि सरकारले फेरि आयोग खारेज गर्यो । आयोगका पदाधिकारीहरू अदालत गएपछि पुनः बहाली भए । यसरी आयोग अस्थिर हुँदा त्यसको असर तलसम्म परेको छ ।
यसैबिच तिलोत्तमा नगरपालिकामा करिब ११ सय लालपुर्जा वितरणको तयारी भइरहेको उक्त नगरपालिका राष्ट्रिय भूमि आयोगका प्राविधिक पाण्डेले जानकारी दिए । भूमि आयोग रुपन्देहीका अध्यक्ष कुमार थापा मगरका अनुसार सरकारले अन्तिम पटक भन्दै जारी गरेको सूचनाका आधारमा काम गरिरहँदा बिचमै आयोग खारेज भएकाले काम अवरुद्ध भएको थियो । अदालतबाट ब्युँतिएपछि बल्ल काम चलिरहेको उनले बताए ।

रुपन्देहीको सबैभन्दा धेरै सकुमबासी समस्या देवदह क्षेत्रमै रहेको उनको पनि भनाइ थियो ।
अहिले पनि जिल्लाका विभिन्न ठाउँमा नापजाँच तथा अन्य प्रक्रिया सकिएको अवस्थामा निर्वाचन आचार संहिता लागु भएको छ । अब निर्वाचन सकिएपछि प्रक्रिया पूरा भएका जग्गाको राजस्व सङ्कलनका लागि नियमअनुसार सूचना जारी गर्ने उनको भनाइ थियो । त्यसपछि बल्ल लालपुर्जा वितरणको काम सुरु हुने उनले खुलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण