शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
जसपा नेपालका नेता डा. सुरेन्द्र झासँग ‘वारपार’

‘कुनै बहानामा चुनावबाट विमुख भयौं भने नेपाल असफल राष्ट्र घोषणा हुन्छ’

बिहीबार, २२ माघ २०८२, २० : ००
बिहीबार, २२ माघ २०८२

काठमाडौं । बौद्धिक छवि बनाएका डा. सुरेन्द्र झा अहिले जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)का नेता हुन् । जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबिच एकीकरण हुनुअघि उनी लोसपाका महासचिव थिए । 

महन्थ ठाकुर निकट डा. झा लामो समय शक्तिको वरिपरि त बसे, तर लाभको पद अहिलेसम्म लिएनन् । अध्ययनशील र मृदुभाषी डा. झासँग अहिलेको निर्वाचनको हट सेन्टर बनेको मधेस, जसपा नेपालको  अवस्था लगायत विषयमा आधारित रहेको रातापाटीको ‘वारपार’मा कुराकानी गरिएको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न सकिन्छ) :

निर्वाचन हुन्छ कि हुँदैन भन्नेमा अब पनि छलफल र बहस गर्न आवश्यक छ ? 

आवश्यक नहुनु पर्ने हो । कुनै बहानामा हामी निर्वाचनबाट विमुख भयौं भने नेपाल असफल राष्ट्र घोषणा हुन्छ । त्यसकारण साथीभाइ, आम नागरिक, सरकारसँग पनि अनुरोध छ फागुन २१ गते निर्वाचन हुनुपर्छ । हामी चुनावकै वातावरणमा गइसकेका छौँ । सबै पार्टी जनताको बिचमा छन्, उम्मेदवारहरू जनताको बिचमा छन् । थोरै भए पनि आशाको त्यान्द्रो निर्वाचनमा जोगिएको छ । त्यसकारण त्यसलाई जगेर्ना गरौँ र निर्वाचनमा सहभागी बनौँ । सम्माननीय प्रधानमन्त्रीज्यूबाट पनि अन्योलग्रस्त कुराहरू आउनु हुँदैन ।

तपाईंहरूको जसपा नेपाल र संघीय लोकतान्त्रिक मोर्चाबिच चुनावी तालमेल किन हुन सकेन ?

हामीले तालमेल चाहिँ गर्‍यौँ । पाँचवटा पार्टी एकीकरण नै भएर जसपा नेपाल पार्टी घोषणा गर्‍यौं । आठ पार्टीबिच लुज एलायन्स पनि बनायौं । सीके राउतजीको जनमत पार्टी र राजेन्द्र महतोजीको राष्ट्रिय मुक्ति क्रान्तिबिच भने प्राविधिक कारण एलायन्स हुन सकेन । 

कस्तो प्राविधिक विषयले अड्कियो र ?

महतोजी, अशोक राईजीहरू, रेशमजीहरूले पहिले नै जाँतो चिह्नमा चुनाव लड्ने भनेर निर्णय गरेर निर्वाचन आयोग गइसक्नुभएको थियो । हाम्रो चाहना हुँदाहुँदै प्राविधिक रूपले त्यो सम्भव भएन ।

Surendra Jha

जसपा नेपालमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण भन्ने विषय कहिल्यै उठ्दैन ? 

जुन–जुन पार्टीहरूमा हामीले काम गर्‍यौँ, त्यहाँनेर हामीले एजेन्डामा नवीनता ल्याउन खोज्यौँ, त्यो सकेनौँ । नेतृत्वमा रूपान्तरण गर्न खोज्यौँ, त्यो सकेनौँ । त्यो नसक्दा हामीले त पार्टी छोडेरै नयाँ पार्टी खोल्यौँ नि त । जुन कुरा आज जेनजीले गर्दैछ, चाहे उहाँहरूको जुन चाहना थियो, त्यो चाहना त हामी आजभन्दा २० वर्ष अगाडि नै  पूरा गर्‍यौं । हामीले आफ्नो पार्टी, पुरानो पार्टी जहाँनेर हाम्रो युवा उमेरको सबै शक्ति सामर्थ्य त्यहाँ लगानी गरेका थियौँ, त्यो सबै छोडेर हामीले नयाँ कोर्स, नयाँ पार्टी, नयाँ चीज सुरुवात गर्‍यौं । 

निर्वाचनमा पार्टीको ५२ सिट हुँदा पनि त्यही अध्यक्ष हुन्छ । पार्टी धरासायी हुँदा पनि त्यही हुन्छ । फुट्छ, त्यही हुन्छ । कहिलेकाहीँ जनताबाट अनुमोदन पनि हुन सक्दैन, फेरि पनि अध्यक्ष उही हुन्छ । यस्तोले छोड्नुपर्छ कि ? 

हामीले त्यो व्यक्तिको उपयोगिता के हो, त्यो व्यक्तिको अनुशासनको परिधि के हो, त्यो व्यक्तिको भिजन के हो, त्यो व्यक्तिको सक्रियता के हो र त्यो व्यक्ति फेरि जनतामा जाँदाखेरि नागरिकबाट अनुमोदित भएर आउन सक्ने क्षमता छ कि छैन ? जस्तै कहिलेकाहीँ हामीले यो पनि हेर्नुपर्छ कि एकदम कम उमेरको मान्छे हामी नागरिकमा गयौँ, नागरिकले अनुमोदन गरिदिएन । एकदमै प्रौढ उमेरको मान्छे नागरिकको बिचमा जाँदा नागरिकले उहाँलाई पत्याइदिए । 
 
तरुण उमेरको, युवा उमेरको मान्छे छ तर त्यो लायक छैन, जीवनशैली आपत्तिजनक छ, विचारशून्य छ, अराजक छ भने त्यसलाई तपाईँले कहाँ लिएर जानुहुन्छ ? त्यसलाई उमेरकै कारणले नेतृत्व दिनुभयो भने त कहिलेकाहीँ प्रश्न उठ्छ नि । जेलेन्स्कीको खोजीमा आज के स्थिति भयो, जेलेन्स्कीले नेतृत्व गरेको देश र त्यसको अवस्था कहाँ पुग्यो भन्ने देखिराख्नुभएको छ नि ।

नातावाद पनि त्यस्तै देखियो । उदाहरणको रुपमा महन्थ ठाकुरजीलाई राष्ट्रियसभामा लैजानुभयो, उता छोरीलाई प्रत्यक्षमा टिकट दिनुभयो । जसकारण नेताले पार्टी नै छोडे । टिकट वितरण गर्ने समितिमा तपाई स्वयं हुनुहुन्थ्यो नि, होइन ? 

माननीय महन्थजीको श्रीमती २०४४ सालतिर बित्नुभयो । उहाँ लगभग ८ वर्ष जेलनेल बसेको मान्छे हो । उहाँको छोरा २०५२/५३ सालमा बित्यो, एउटा मात्र छोरा थियो । यी छोरी जसको बारेमा तपाईँ हामीले कुरा गरिरहेका छौँ, मिनाक्षी ठाकुर, अहिले विवाहपछि झा थरमा भएको छ । छोरीको कुरा गर्दा यिनी भनेको त कस्तो बच्चा हो भने जसले आमाको माया पनि पाएन, पिताजीको समय पनि पाएन । दाजुभाइ भन्ने पनि भएन ।

Surendra Jha1

महन्थ ठाकुर अदालतमा बहस गर्दा छोरीलाई त्यहीँ बारमा राख्नुहुन्थ्यो । बहसबाट आएको पारिश्रमिकले नानीलाई पाल्नुपर्ने स्थिति थियो । फेरि उनले म चुनाव लड्दिनँ पनि भनेको हो । महन्थजीले पनि यो कुरा भन्नुभएको थियो । तर पार्टीले निर्णय गरेपछि उहाँले मान्नुभएको हो ।

तपाईं आफू चाहिँ चुनाव लड्नुहुन्न भन्ने आरोप छ । तपाईं आफैँ चाहिँ किन लड्नुहुन्न चुनाव ? 

अहिलेसम्म कुनै लाभको पद पार्टीबाट लिएको छैन ।
 
नलिनुभएको कि नपाउनुभएको ?

नलिएकै हो मैले । पाउन खोजेको भए केही न केही त अवश्य पाउँथे । म एकतर्फी हरेक संघर्षमा म नेतृत्वमा छु । २४ घण्टा म पार्टीको काम गर्छु । २४ घण्टै सामाजिक जीवनमा बस्ने मान्छे हो । मैले हप्तामा एक दिन आफ्नो लागि पनि काम गर्नुपर्छ । नभए त फेरि मेरो रगत जाँच कसले गर्ने, मेरो प्रेसरको औषधि कसले किन्ने, मेरो गाडी कसरी चढ्ने, मेरो दाल–रोटी कसरी खाने ?

म गल्ती छैन भने अलिकति जातीय कुराले पनि काम गर्छ रे तपाईंहरुको पार्टीमा, हो ?

अलिकति यो जातीय समीकरणहरू हेरेर उम्मेदवारी दिन्छौँ हामी । जातीयताको हिसाबले मत खस्ने परम्परा छ । तराई मधेसका जिल्लाहरूमा कहिलेकाहीँ के लाग्छ भने हजुरको यो जातीय ’माइन्डसेट’ सिस्टम थियो हाम्रो गाउँ समाजमा । त्यो माइन्डसेट र नेतामा भिन्नता छुट्याउन सक्ने सचेत चेतनशील समूह चाहिँ अझै निर्माण नभइसकेको एउटा त्यो डर त्रास भए चाहिँ त्यहाँ पनि देखिन्छ ।

एमालेसँग चुनावी तालमेलका विषयमा केही कुराकानी भइरहेको छ ? 

अहिले त्यस्तो प्रकारको संवाद छैन । निर्वाचन ओरिएन्टेड संवाद भएको छैन । तर मुलुकमा राजनीतिक तरलता, निर्वाचनपछि पनि जुन संसद् बन्छ, त्यो संसद् कस्तो बन्ला ? त्यसले कसरी मुलुकलाई अगाडि लिएर जाला ? समस्याहरूको समाधान कसरी गर्ला ? र, साँच्चिकै अहिले भन्नुहुन्छ भने ऐतिहासिक रूपमा नेपाल चाहिँ एकदमै कठिन घडीमा छ । नागरिकहरूमा नैराश्यता छ ।

Surendra Jha2

एउटा मुर्दा शान्तिको अवस्था छ । र राजनीतिक दलहरू अनुभवले खारिएका मान्छेहरू पनि चिन्तित हुनुहुन्छ कि मुलुक कता जाँदैछ, हामीले यसलाई सायद कन्ट्रोल गर्न सक्ने स्थितिमा हुन्छ कि हुँदैन ?

अहिले जनता समाजवादी पार्टीको अवस्था नाजुक हुन्छ भन्ने आकलनहरू गरिन थालिएको छ । तपाईंको आकलन चाहिँ के छ ?
 
कसरी आयो आकलन ? हामी सबैभन्दा ठुलो पार्टी बन्छौँ मधेस प्रदेशमा ।

कसरी आयो भने मधेसी समुदायबाट प्रधानमन्त्री बालेन्द्र शाह बन्ने भनेपछि असर गर्दैन त ?

फेसबुकमा, त्यो मञ्चमा भनेर प्रधानमन्त्री हुने स्थिति म देख्दिनँ । बालेनजीको पिताजी चाहिँ मधेस मूलको हुनुहुन्थ्यो, यद्यपि उहाँ सारा जीवन राष्ट्रको सेवामा रहनुभयो, काठमाडौँमै रहनुभयो । बालेनजी चाहिँ मधेसको मान्छे हुनुहुन्छ वा मधेसी हुनुहुन्छ भनेर भन्दा मूल चाहिँ भयो । तर उहाँको जीवनशैली, शिक्षादीक्षा, संस्कृति, रहनसहन, लवाइखवाइ, हिँडाइ चाहिँ छैन । 

बालेनजीका कारण जसपा नेपाललाई असर गर्छ कि गर्दैन ?

कुनै असर गर्दैन । 

बालेन र रास्वपाले क्लिन स्विप गर्छन् भन्ने छ त ।

के थाहा बालेनजी ‘अल क्लियर’  भएर जानुहुन्छ कि ? ’बोल्ड’ नै भइजानुहुन्छ कि उहाँ ? जुन ढंगले उहाँलाई त्यहाँ पुर्‍याइएको छ, उहाँ पनि त ’क्लिन बोल्ड’ हुन सक्नुहुन्छ नि त । 

मधेसले मुलुकको कार्यकारी पाएन । हामीलाई मुलुकको कार्यकारी प्रमुख चाहियो भन्ने माग सुनिन्थ्यो । अब अहिले म मधेसी समुदायकै व्यक्तिले प्रधानमन्त्री घोषणा नै गर्दा तपाईंहरु त खुसी हुनुपर्ने, समर्थन गर्नुपर्ने होइन र ?
 
मैले कतिखेर समर्थन गर्न मिल्छ भने मभन्दा गुणात्मक रूपले परिष्कृत हुनुभयो भने । तपाईँको एजेन्डा परिष्कृत हुनुपर्‍यो । तपाईँको योगदान परिष्कृत हुनुपर्‍यो । तपाईँको विश्वसनीयता त्यो लेबलको हुनुपर्‍यो । त्यस्तो काम त बालेनजीले अहिलेसम्म केही गरिदिनुभएको छैन, न मेरो पार्टीको लागि गरिदिनुभएको छ, न मेरो समुदायको लागि गरिदिनुभएको छ, न यो देशको लागि गरिदिनुभएको छ । 

उहाँ काठमाडौँमा मेयर हुँदाखेरि सबैभन्दा बढी बेरुजु भएको पालिका काठमाडौँ नै हो । बजेट कम खर्च गर्ने महानगरपालिकामा काठमाडौँ एक नम्बरमा हो । बालेनजीको सबैभन्दा बढी लखेट्याइँमा पर्ने मधेसी नै छन् । 

कांग्रेस सभापति पनि भावी प्रधानमन्त्री बन्ने घोषणा गरेरै मधेस झर्नुभएको छ । उहाँबारे तपाईंको भनाइ के हो ? 

मधेस प्रयोगशाला हो ? तपाईँहरू आउँदै गर्ने अनि प्रयोग गर्दै गर्ने ? मधेसको युवाले चाहिँ नेतृत्व दिन नसक्ने अवस्थामा छ ? आज यस्तो परिस्थिति किन आयो ? आज जुन परिवारवादको कुरा तपाईंहरूले गरिराख्नुभएको छ, तपाईंहरूले पनि त त्यो उपयोगवाद गर्दै हुनुहुन्छ । आज गगनजीले नयाँ तरुण कांग्रेस बनाउन खोज्दै हुनुहुन्छ भने, त्यो सर्लाहीमा भएको सुरेन्द्र सिंह, वीरेन्द्रहरू छ, उनीहरुलाई काठमाडौँ-४ नम्बरबाट तिमीलाई जिताउँछु र नेपाली कांग्रेसको सभापति बनाउँछु र प्रधानमन्त्री तिमीलाई बनाउँछु भन्न सक्नुपर्छ नि त । उहाँ त्यागी हो र उहाँले यो गर्न खोज्नुभएको छ भने त यति कुरो त हामीले बुझेको छ नि ।

गगन थापाले चुनाव जित्ने, नजित्ने विषयमा तपाईंको टिप्पणी ?

मैले सुन्दै छु ५१ करोड रुपैयाँ त्यहाँ गएको छ रे गगनजीलाई जिताउनलाई ।
 
केपी ओली, गगन थापा र बालेन्द्र शाहमध्ये को होलान् त प्रधानमन्त्री ?

तीनै जना हुन्छन्, आलोपालो हुन्छ र बाँकी भएको ६–७ जना हामी पनि हुन्छौँ नि । बालेन्द्रजीलाई घोषणा गरेको छ, अब उहाँले त पार्टीमै के गर्ला भन्ने मलाई ठुलो शंका छ । एउटा व्यक्तित्वलाई समाप्त गर्ने किसिमले उहाँलाई उपयोग गरेको छ भन्नेमा म चिन्तित छु । 

भिडियो/फोटो : मनोज खड्का

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप