बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मुम्बईको ओटीएम २०२६ मा नेपालको उपस्थिति

शुक्रबार, २३ माघ २०८२, १५ : ३०
शुक्रबार, २३ माघ २०८२

काठमाडौँ । एसियाकै अग्रणी पर्यटन व्यापार मेला आउटबाउण्ड ट्राभल मार्ट (ओटीएम) मुम्बई २०२६ मा नेपालले आफ्नो उपस्थिति जनाएको छ। फेब्रुअरी ५ देखि ७ सम्म मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा जारी मेलामा नेपाल पर्यटन बोर्डको नेतृत्वमा ३४ वटा प्रतिष्ठित पर्यटन कम्पनीहरूले भाग लिएका छन्। 

२५ वर्षभन्दा लामो समयदेखि ओटीएममा सहभागी हुँदै आएको नेपालले यसपटक आफूलाई केवल ट्रेकिङ र धार्मिक गन्तव्यका रूपमा मात्र नभई लक्जरी, एड्भेन्चर र कर्पोरेट पर्यटनको हबका रूपमा प्रस्तुत गरेको छ। पछिल्लो समय नेपालमा भएको जेनजी आन्दोलनपछि पनि पर्यटन क्षेत्र निकै छिटो तंग्रिएको र पूर्ण क्षमतामा सञ्चालन भइरहेको सन्देश यो मेलाले दिएको छ। 

विशेष गरी भारतीय पर्यटकहरूको सङ्ख्यामा सन् २०२५ को तुलनामा सन् २०२६ को जनवरीमा ३० प्रतिशतले वृद्धि भएको तथ्याङ्कले भारत नेपालको सबैभन्दा ठुलो र रणनीतिक बजार रहेको पुनः पुष्टि गरेको छ। सन् २०२५ मा मात्रै २ लाख ९३ हजारभन्दा बढी भारतीय पर्यटकले नेपाल भ्रमण गरेका थिए, जुन कुल अन्तर्राष्ट्रिय पर्यटक आगमनको करिब ३० प्रतिशत हो।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपाल भारतीय पर्यटकका लागि सुरक्षित, स्थिर र असाधारण गन्तव्य रहेको बताएका छन्। उनले भारतीय बजार नेपालको पर्यटन विकासको प्रमुख साझेदार रहेको उल्लेख गर्दै पशुपतिनाथ, मुक्तिनाथ र लुम्बिनी जस्ता धार्मिक स्थलहरूले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाएको उल्लेख गरे। 

यसपटक नेपालले मुम्बई, दिल्ली र बैंगलोर जस्ता महानगरका साथै उदाउँदा दोस्रो तहका सहरका धनी पर्यटकहरूलाई लक्षित गर्दै विलासी रिसोर्ट, क्यासिनो र एभरेष्ट हेली–टुर जस्ता प्याकेजहरू अघि सारेको छ।

कनेक्टिभिटी र डिजिटल भुक्तानीमा भएको सुधारले भारतीय पर्यटकलाई नेपाल भ्रमण अझ सहज बनाएको छ। सन् २०२४ मा एनपिसीआई र फोनपेबीच भएको सम्झौतापछि भारतीय पर्यटकले अब नेपालका १० लाखभन्दा बढी मर्चेन्टहरूमा युपिआईमार्फत सहजै भुक्तानी गर्न सक्नेछन्। यसले गर्दा भारतीय पर्यटकलाई नगद बोक्ने वा मुद्रा सटही गर्ने झन्झट हटेको छ। १८५० किलोमिटर लामो खुला सिमाना र काठमाडौँबाट भारतका प्रमुख सहरहरूमा हुने दैनिक सिधा उडानले नेपाललाई भारतीयहरूका लागि 'ह्यासल फ्री' अन्तर्राष्ट्रिय गन्तव्य बनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप