बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जुम्लालाई विकास र समृद्धिको मोडेल बनाउन चाहन्छौँ : नरेश भण्डारी

आइतबार, २५ माघ २०८२, १४ : ०८
आइतबार, २५ माघ २०८२

सारांश

  • नेकपाका नरेश भण्डारीले जुम्लामा आफ्नो चुनावी अभियान सुरु गरेका छन्, र उनी दोस्रो पटक प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार छन्।
  • भण्डारीले जुम्लामा सांसद दोहोर्याउने कुरालाई लिएर चलिरहेको भाष्यको आलोचना गर्दै, आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्।
  • उनले जुम्लाको विकास र समृद्धिका लागि आफूले संसदमा सिञ्जा सभ्यता विधेयक पास गराउने र भाषाको दाताको रूपमा स्थापित गर्ने लक्ष्य लिएको बताए।

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट जुम्लामा उम्मेदवार रहेका नरेश भण्डारीले आफ्नो चुनावी अभियान सुरु गरिसकेका छन् ।

०६४ मा जुम्लाबाट संविधान सभा सदस्यमा निर्वाचित भण्डारी दोस्रो पटक प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छन् । ०७४ मा प्रदेश सभातर्फ निर्वाचित भएर कर्णालीको कानुनमन्त्री बनेका उनी बौद्धिक नेता मानिन्छन् । प्रस्तुत छ, उनीसँग चुनावबारे गरिएको छोटो कुराकानीः

  • चुनावी अभियानका क्रममा जुम्ली जनताको प्रतिक्रिया कस्तो पाउनुभयो ?

एकदम राम्रो छ । अहिलेसम्मको माहोल हाम्रै पक्षमा छ ।

  • तपाईं प्रतिनिधि सभा चुनाव दोस्रो पटक लड्दै हुनुहुन्छ, तर जुम्लाले सांसद दोहोर्‍याउँदैन भन्छन् नि ?

हो यो एउटा भाष्य छ । यो भाष्यले जुम्लालाई नै ‘ब्याक फायर’ गर्‍यो । यो कुरा आफैँमा अन्तरविरोधी छ । एकातिर हामी जुम्लाले नेतृत्व पाउनुपर्छ, मन्त्री पाउनुपर्छ भन्छौँ, अर्कोतिर सांसद दोहोर्‍याउनु हुँदैन भन्छौँ । जुम्ला त ऐतिहासिक रूपमा खस साम्राज्यको राजधानी र राजनीतिक केन्द्र हो । पञ्चायतकालदेखि नै यो प्रशासनिक र राजनीतिको एउटा हब रहिआएको छ ।

यति ठुलो इतिहास भएको जिल्लाले राष्ट्रिय राजनीतिमा प्रभाव राख्न बलियो नेतृत्व र निरन्तरता आवश्यक हुन्छ । सुन्दाखेरि यो भाष्य कर्णप्रिय नै लाग्छ । यद्यपि जुम्लाको नेतृत्व विकासमा यो ‘सांसद नदोहोर्‍याउने’ सोचले बाधा पुर्‍याएको छ । यो पटक भने भाष्य परिवर्तन गर्न जुम्ली जनता आतुर छन् ।

  • त्यसोभए यस पटक तपाईं चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ ?

एकदम ढुक्क छु ।

  • त्यसको आधार को हो ?

हाम्रो पहिलो आधार नै सांगठनिक रूपमा हामी बलियो छौँ । दोस्रो, विकासका कार्य जुम्लामा जति भएका छन्, ती माओवादीको अगुवाइमा भएका हुन् । हामीले जुम्लाको विकासका लागि कालिगढकै भूमिका निर्भाह गरिरहेका छौँ । सांगठनिकदेखि विकासको कार्यसम्पादनसम्म सबै तथ्यतथ्याङ्कमा हामी बलियो छौँ । जनताले त्यो बुझेका पनि छन् ।

आगामी एजेन्डा, लोकप्रियतादेखि रणनीति, कार्यनीतिसम्म सबैको हिसाब नै हाम्रो जित्ने आधार हो ।

  • तपाईंलाई आफ्नै पार्टीभित्रको समस्याले चुनौती थपिएको छ भनिन्छ नि ?

पार्टीभित्र अहिले कुनै समस्या छैन, सबै कुरा समाधान भइसकेको छ ।

  • जुम्लामा तपाईंको मुख्य प्रतिस्पर्धी को हो ?

सांगठनिक रूपमा हाम्रो मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँगै हो ।

  • ज्ञानेन्द्र शाही, तपाईंकै पूर्वसहकर्मी मनऋषि धितालदेखि रास्वपालाई प्रतिस्पर्धी मान्नुहुन्न ?

बाहिर सामाजिक सञ्जालहरूमा उनीहरूको पनि चर्चा छ । सांगठनिक रूपमा रूपमा उनीहरू कमजोर छन् ।

  • चुनाव जित्नुभयो भने के गर्ने योजना छ ?

जुम्ला एउटा ‘मातृ जिल्ला’ हो, जसले नेपाललाई भाषा, सभ्यता र संस्कृति दियो, तर केन्द्रीय राजनीति र राज्यसत्ताबाट जुम्ला सधैँ विभेदमा पर्‍यो । संसदमा कानुनी विषयमा मेरो लडाइँ हुन्छ । संसदमा ‘सिञ्जा सभ्यता विधेयक’ पास गराउने र जुम्लालाई भाषाको दाता र सांस्कृतिक राजधानीको रूपमा स्थापित गर्ने लक्ष्य हुनेछ । यद्यपि अहिले यही कुरा लिएर म भोटचाहिँ माग्दिनँ, तर तथ्य, तथ्याङ्कसहित म बहसचाहिँ गर्छु ।

म जुम्लालाई विकास र समृद्धिको मोडेल बनाउन चाहन्छु । त्यसैले, कुनै पनि भ्रम र अफवाहको चक्रव्यूहमा नफसी आफ्नो अमूल्य मत दिएर मलाई विजयी गराउन आम जनसमुदायलाई अनुरोध गर्दछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप