बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

५२ लाखको जागिर छाडे, ‘म:म:’ बचेर बनाए करोडौँको साम्राज्य

सोमबार, २६ माघ २०८२, १६ : ५४
सोमबार, २६ माघ २०८२

सारांश

  • गुडगाउँका साकेत सौरभले ५२ लाखको जागिर छाडेर मोमो बेच्न सुरु गरे, जसले उनलाई करोडौंको मालिक बनायो।
  • उनले 'द मोमो माफिया' ब्राण्ड स्थापना गरे, जुन भारतका सात राज्यमा फैलिएको छ र उनको वार्षिक कारोबार २.२ करोड भारु पुगेको छ।
  • सडकमा व्यापार गर्दाका चुनौतीहरूलाई पार गर्दै उनले आउटलेट खोलेर व्यवसाय विस्तार गरे, र नयाँ उद्यमीहरूलाई व्यवस्थित आउटलेटबाट सुरु गर्न सल्लाह दिए।

गुडगाउँ । भारतको गुडगाउँका एक युवा उद्यमी साकेत सौरभको सफलताको कथा यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। वार्षिक ५२ लाख भारु को आकर्षक जागिरलाई तिलाञ्जली दिएर म:म: बेच्न सडकमा ओर्लिएका साकेतले सबैलाई अचम्ममा पारिदिएका हुन्। 

सन् २०२३ मा आफ्नै केही गर्ने सपना बोकेर जागिर छाडेका उनले 'द मोमो माफिया' नामको ब्राण्ड स्थापना गरे, जुन आज भारतका सातवटा राज्यमा फैलिसकेको छ।

साकेतको यो यात्रा गुडगाउँको इन्फोटेक क्षेत्रमा एउटा सानो ठेलाबाट सुरु भएको थियो। सुरुमा आफ्नी दिदी र भिनाजुसँग मिलेर क्याफे चलाउँदा उनले प्रयोगका रूपमा म:म: बेच्न थालेका थिए। गुणस्तरीय स्वादका कारण मानिसहरूको भीड लाग्न थालेपछि उनको एउटै ठेलाबाट दैनिक १० देखि १२ हजार भारुसम्मको व्यापार हुन थाल्यो। 

अफिस जाने ग्राहकहरूले नै उनको काममा रुचि देखाएपछि उनलाई फ्रेन्चाइजी मोडलमा जाने आइडिया आयो। आज उनीसँग ४० भन्दा बढी कार्ट, २० वटा साना आउटलेट र दुईवटा ठूला रेस्टुरेन्टहरू सञ्चालनमा छन्।

1462946022_Untitled_design_-_2026-02-06T201239.341

सडक किनारमा व्यापार गर्दा प्रशासनको झमेला र मौसमको चुनौती भोगेपछि साकेतले आफ्नो व्यवसायलाई परिष्कृत गर्दै लगे। उनले ठेलाको साटो साना स्थायी आउटलेटहरू खोल्ने ‘कार्ट सर्भिस रेस्टुरेन्ट’ मोडल अपनाए। 

उनको यो मेहेनतले आर्थिक रूपमा पनि ठूलो फड्को मारेको छ। पहिलो वर्ष १६ लाख भारु कमाएको उनको कम्पनीले आर्थिक वर्ष २०२३-२४ मा २.२ करोड भारुको कारोबार गर्‍यो। यो वर्ष उनले ३ करोड भारु को व्यापार गर्ने लक्ष्य राखेका छन्।

इन्स्टाग्राममा ३ लाखभन्दा बढी पटक हेरिएको आफ्नो भिडियोमार्फत साकेतले नयाँ उद्यमीहरूलाई महत्त्वपूर्ण सल्लाह पनि दिएका छन्। उनी भन्छन्, ‘यदि तपाईं वास्तवमै ठूलो ब्राण्ड बनाउन चाहनुहुन्छ भने सडकको स्टलमा मात्र सीमित नभई एउटा व्यवस्थित आउटलेटबाट सुरुवात गर्नुहोस्।’ 

स्टलबाट केही लाख मात्र कमाउन सकिने तर ठूलो व्यवसायिक साम्राज्य खडा गर्न आउटलेट नै अनिवार्य हुने उनको अनुभव छ। ५० लाखको जागिर छाड्ने उनको आँटले आज उनलाई करोडौंको मालिक मात्र बनाएको छैन, धेरैका लागि प्रेरणाको स्रोत समेत बनाइदिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप