आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा रवि लामिछानेः उम्मेदवार चिनाउँदै भोट माग्दै

सोमबार, २६ माघ २०८२, २१ : ५५
सोमबार, २६ माघ २०८२

सारांश

  • रास्वपाका सभापति रवि लामिछानेले रुपन्देहीमा मतदाता भेटघाट अभियान सुरु गरे।
  • उनले देवदहबाट अभियान थालेर विभिन्न क्षेत्रका उम्मेदवारहरूसँग मतदातालाई भेटे।
  • भोलि नवलपरासीमा पनि भेटघाट कार्यक्रम तय भएको छ, जसमा दुई क्षेत्रका उम्मेदवारहरू सहभागी हुनेछन्।

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्पर्क कार्यालय उद्घाटन तथा मतदाता भेटघाट कार्यक्रमका लागि आज बिहानैदेखि रुपन्देहीबाट अभियान सुरु गरे ।

बिहान ८ बजे रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत देवदहबाट सुरु भएको उनको टोली जनसम्पर्क तथा मतदाता भेटघाट कार्यक्रमका लागि राति ८ बजे सैनामैना नगरपालिका–मुर्गियामा पुगेको छ । यहाँ कार्यक्रम सकेपछि आजै लामिछाने क्षेत्र नम्बर ५ अन्तर्गत लुम्बिनी सांस्कृतिक नगरपालिकामा पुग्ने कार्यतालिका छ ।

रविसँग बिहानैदेखि सँगै हिँडेकी पार्टीकी सङ्घीय निर्वाचन समन्वय समिति सदस्य कल्पना पाण्डेयले यो कार्यक्रम चुनावी सभा नभई मतदाता भेटघाट मात्र रहेको उल्लेख गर्दै मुर्गियाको कार्यक्रम सकेर लुम्बिनी जाने रातोपाटीलाई जानकारी दिइन् ।

लामिछाने आइतबार साँझ रुपन्देही आइपुगेका थिए । उनी मणिग्रामस्थित तारे होटल ‘विश्राम बाटिका’मा बसेका थिए । आज उनले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा पुगेर कार्यक्रम गरेका छन् ।

देवदहको खैरेनी चोकबाट सुरु भएको जनसम्पर्क कार्यक्रम दिनभर पाँच निर्वाचन क्षेत्रका २६ स्थानमा पुग्ने लक्ष्यअनुसार सञ्चालन भयाे, जसअनुसार अन्तिम एक स्थान मात्रै बाँकी रहेको जनाइएको छ । क्षेत्र नम्बर १ अन्तर्गत खैरेनी चोकबाट सुरु भएको भेटघाट कार्यक्रम दिनभर कार्यकर्ता तथा समर्थकको भिडभाडमा बितेको थियो ।

rabi-lumbini3

रास्वपा लुम्बिनी प्रदेश उपसभापति सालिकराम घिमिरेका अनुसार जिल्लाका २६ स्थानमा रातिसम्म मतदाता भेटघाट गर्ने र भोलि (मंगलबार) नवलपरासीका ११ स्थानमा सम्पर्क कार्यालय उद्घाटन तथा भेटघाट कार्यक्रम तय गरिएको छ । उनका अनुसार नवलपरासीमा दुईवटा निर्वाचन क्षेत्रमा कार्यक्रम सञ्चालन हुनेछ ।

लामिछानेले रुपन्देही–१ को देवदहबाट निर्वाचन क्षेत्र भ्रमण सुरु गर्दा सो क्षेत्रका रास्वपा उम्मेदवार सुनिल लम्सालसँगै स्थानीय मतदातासँग साक्षात्कार गरेका थिए । उक्त अवसरमा उनले सबल उम्मेदवार लम्साललाई मतदान गरी विजयी गराउन अनुरोध गरेका थिए । चोक–चोकमा भेटघाट भए पनि केही स्थानमा मात्र उनले संक्षिप्त सम्बोधन गरेका थिए भने अन्यत्र उम्मेदवारको परिचय गराउँदै मतदान गर्न आग्रह गरेका थिए ।

दिउँसो भैरहवा आइपुगेका लामिछानेले सिद्धार्थनगरका विभिन्न स्थानमा पुगेर मतदातालाई अभिवादन गरेका थिए । उनी भैरहवाको गोलिगढ, बुद्धचोक हुँदै निर्वाचन क्षेत्र नम्बर ३ को प्रचार कार्यालय पुगेका थिए । त्यहाँ केही समय बिताएपछि उनले रुपन्देही–३ का उम्मेदवार डा. लेखजंग थापालाई साथमा लिएर कार्यक्रम अगाडि बढाएका थिए ।

त्यसपछि सिद्धार्थनगर वडा नम्बर २ अन्तर्गत मेउडिहवा चोक पुगेका लामिछानेलाई कार्यकर्ताले फूलमालासहित स्वागत गरेका थिए । सो अवसरमा उनले प्रत्यक्षतर्फका उम्मेदवार डा. थापासहित समानुपातिक उम्मेदवार ज्ञानु पौडेल र पुनम अग्रवाललाई मतदातासँग परिचित गराउँदै मतदान गर्न आग्रह गरेका थिए ।

त्यहाँ सम्बोधन गर्दै लामिछानेले अब मुलुक निर्माण र भ्रष्टाचार अन्त्यको जिम्मेवारी आफूहरूको काँधमा आएको उल्लेख गर्दै रास्वपाका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

रुपन्देहीका निर्वाचन क्षेत्र अनुसार रास्वपाबाट क्षेत्र नम्बर १ मा महामन्त्री सुनिल लम्साल, २ मा सुलभ खरेल, ३ मा डा. लेखजंग थापा, ४ मा कन्हैया बनिया र ५ मा तौफिक अहमद खान उम्मेदवार छन् । मर्चवार क्षेत्रमा पनि लामिछानेले कन्हैया बनियाँलाई मतदातासँग परिचित गराएका थिए । बनियाँ प्रदेशसभाबाट राजीनामा दिएर प्रतिनिधिसभा उम्मेदवार बनेका हुन् ।

यी सबै उम्मेदवारहरू क्षेत्रअनुसार लामिछानेसँगै कार्यक्रमस्थल पुगेका थिए । भोलि नवलपरासीमा पनि रास्वपाका उम्मेदवार विक्रम खनाल र नरेन्द्र गुप्ता सहभागी हुनेछन् । खनाल निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार हुन् भने रामग्राम नगरपालिका निवासी गुप्ता क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् । उनीहरू दुवै नेपाली कांग्रेस छाडेर रास्वपामा प्रवेश गरी उम्मेदवार बनेका हुन् ।

पार्टीका अनुसार सभापति लामिछानेले भोलि नवलपरासीका दुई निर्वाचन क्षेत्रका ११ विभिन्न स्थानमा उम्मेदवारसँगै मतदाता परिचय तथा भेटघाट गर्ने कार्यतालिका तय गरिएको छ ।

rabi-lumbini2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप