शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकी प्रतिबन्धको घेरामा अडानी समूह : इरानी तेल आयात गरेको आरोपमा अनुसन्धान सुरु

मङ्गलबार, २७ माघ २०८२, २१ : ३१
मङ्गलबार, २७ माघ २०८२

सारांश

  • भारतीय अर्बपति गौतम अडानीको कम्पनी इरानबाट तेल आयात गरेको आरोपमा अमेरिकी अनुसन्धानमा परेको छ।
  • अमेरिकी अधिकारीहरूले मुन्द्रा बन्दरगाहबाट आयात गरिएको एलपीजीको विवरणमाथि निगरानी गरिरहेका छन्, र इरानसँगको सम्बन्ध खोज्दैछन्।
  • अडानी समूहले इरानी इन्धन आयातमा आफ्नो संलग्नता नभएको र अनुसन्धानमा सहयोग गर्ने जनाएको छ।

वासिङ्टन डिसी । भारतीय अर्बपति व्यवसायी गौतम अडानीको 'अडानी इन्टरप्राइजेज' इरानी तेलजन्य उत्पादन आयात गरेको आरोपमा अमेरिकी अनुसन्धानको घेरामा परेको छ। अमेरिकी प्रतिबन्धको उल्लङ्घन गर्दै इरानबाट इन्धन भित्र्याएको आशङ्कामा अमेरिकी अधिकारीहरूले चासो देखाएपछि कम्पनीले मङ्गलबार आफू अनुसन्धानमा सहयोगी बनिरहेको खुलासा गरेको हो। 

वाल स्ट्रिट जर्नलले गत जुनमा अडानी समूहले इरानी मूलका पेट्रोलियम पदार्थ आयात गरेको हुनसक्ने दाबीसहितको रिपोर्ट सार्वजनिक गरेपछि यो विषय बाहिर आएको थियो।

अडानी इन्टरप्राइजेजले स्टक एक्सचेन्जमा बुझाएको विवरणअनुसार अमेरिकी अर्थ मन्त्रालय अन्तर्गतको प्रतिबन्ध कार्यान्वयन हेर्ने निकाय 'अफिस अफ फरेन एसेट्स कन्ट्रोल' (ओएफएसी) ले गत हप्ता केही महत्वपूर्ण जानकारी मागेको छ। 

अमेरिकी अधिकारीहरूले विशेषगरी मुन्द्रा बन्दरगाहबाट आयात गरिएको तरलीकृत पेट्रोलियम ग्यास (एलपिजी) को उत्पत्ति, ढुवानीमा प्रयोग गरिएका ट्याङ्कर र इन्धनको विवरणमाथि निगरानी गरिरहेका छन्। ती लेनदेनहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा इरान वा प्रतिबन्धित व्यक्तिहरूसँग जोडिएको हुनसक्ने अमेरिकी आशङ्का छ।

कम्पनीले भने मिडिया रिपोर्ट सार्वजनिक भएलगत्तै सावधानी अपनाउँदै सबै एलपिजी आयात बन्द गरिसकेको दाबी गरेको छ। अडानी समूहले इरानी मूलको इन्धन आयातमा आफ्नो कुनै जानाजानी संलग्नता नरहेको र नियमित व्यावसायिक प्रक्रियाअन्तर्गत तेस्रो पक्षमार्फत सामान ल्याइएको स्पष्ट पारेको छ। 

कम्पनीका अनुसार ती सामानको मूल बन्दरगाह ओमानको सोहर देखिने कागजातहरू प्राप्त भएका थिए। हालसम्म ओएफएसीले कुनै अन्तिम निष्कर्ष ननिकालेको भए तापनि कम्पनीले अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप