शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अभिनेत्री निकिता आचार्यसँग संवाद

‘नाटकले कलाकारमा निखार ल्याउँछ, फिल्मले चर्चा र व्यावसायिकता’

बुधबार, २८ माघ २०८२, १० : २९
बुधबार, २८ माघ २०८२

सारांश

  • निकिता आचार्यको डेब्यु फिल्म 'श्री बुकुरो' फागुन १ गते रिलिज हुँदैछ, जसमा उनी मुख्य भूमिकामा छिन्।
  • उनले फिल्ममा कुसुम नामको सरल केटीको भूमिका निर्वाह गरेकी छिन्, र बाल्यकालको प्रेम कथा पनि प्रस्तुत गरिएको छ।
  • आचार्यले थिएटर र फिल्म दुवैलाई सँगसँगै अगाडि बढाउने र दर्शकको प्रतिक्रियाको प्रतीक्षा गरिरहेको बताइन्।

काठमाडौं । निकिता आचार्यको खास लक्ष्य कलाकारिता थिएन, डाक्टर बन्न चाहन्थिन् । तर समयले उनलाई थिएटर हुँदै फिल्मको यात्रामा अगाडि बढाइदियो । ‘श्री बुकुरो’ हिरोइनको रुपमा निकिताको डेब्यु फिल्म हो । फागुन १ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको प्रचारप्रसारमा उनी व्यस्त छिन् ।

अनुप बरालको एक्टर स्टुडियोमा अभिनयको प्रशिक्षण लिएपछि सन् २०१८ देखि उनी थिएटरमा होमिइन् । पाँच-छवटा नाटक र सात-आठवटा म्युजिक भिडियोमा काम गरिसकेपछि उनी फिल्म ‘बाबरी’मा सहकलाकारको रूपमा छानिइन् । यसपछि ‘खेल’ पनि सहकलाकारकै रूपमा काम गरिन् । धैर्यता र कामप्रतिको लगावका कारण ‘श्री बुबुरो’मा उनले मुख्य भूमिका पाइन् ।

आगामी दिनमा थिएटर र फिल्मलाई एकसाथ अगाडि बढाउने सोचमा रहेकी निकितासँग फिल्म र करिअरमा केन्द्रित रहेर रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश :

फिल्म ‘श्री बुकुरो’मा अफर कसरी मिल्यो ?

निर्देशक सुदीप भुपाल सिंह दाइले नै फोन गरेर मलाई फिल्मका लागि प्रस्ताव गर्नुभयो । कोभिडअघि मैले ‘बाबरी’ भन्ने फिल्ममा एउटा सानो भूमिका निर्वाह गरेकी थिएँ । भुपाल दाइले त्यो फिल्म हेर्नुभएको रहेछ । त्यसमा मैले गरेको काम मन परेर मलाई अफर गर्नुभएको रहेछ ।

फिल्ममा तपाईंलाई कस्तो भूमिकामा देख्न सकिन्छ ?

फिल्ममा मेरो क्यारेक्टरको नाम ‘कुसुम’ हो । नाम जस्तै एउटा सरल र साधारण केटीको भूमिका छ । आफ्नो परिवारको जिम्मेवारी उसको काँधमा छ । बुबाको अलिकति डिसेबिलिटी (अपाङ्गता) हुन्छ, त्यसैले ऊ आफैं इन्डिपेन्डेन्ट भएर परिवार सम्हाल्ने कोसिसमा हुन्छे । बाल्यकालदेखिको एउटा प्रेम कथा पनि यसमा जोडिएको छ ।

नायिकाको रुपमा पहिलो फिल्म प्रदर्शनमा आउँदैछ । कस्तो अनुभूति गरिरहनुभएको छ ?

म एकदमै एक्साइटेड छु । सन् २०१८ देखि यो क्षेत्रमा लागेको थिएँ । आठ वर्षको तपस्यापछि बल्ल एउटा लिड क्यारेक्टर गर्न पाउँदा एकदमै खुसी छु । एक किसिमले भन्नुपर्दा सपना पूरा हुँदै गरेको अवस्था हो । फिल्मको प्रचारका लागि सार्वजनिक गरेको गीत र ट्रेलर हेरेर सबैले प्रशंसा गरिरहेका छन् । लाग्छ फिल्म पनि रुचाउनुहुन्छ होला ।

डर पनि छ भन्नुभयो, के कुराको ?

अभिनेत्रीको रुपमा पहिलो फिल्म हो । डर पनि छ, दर्शकले कस्तो प्रतिक्रिया दिनुहुन्छ, फिल्मको अपभनय रुचाउनुहुन्छ हुँदैन भन्ने कुराले अलिकति नर्भस पनि बनाएको छ ।

प्रचारप्रसार त राम्रो भएको होला नि ?

प्रचारप्रसार एकदमै राम्रो भइरहेको छ । हामी दिनरात यसैमा लागिरहेका छौं । प्रेसमिटदेखि विभिन्न मिडियामा अन्तर्वार्ता समेत गरिरहेका छौं । यो एउटा पारिवारिक फिल्म हो, सबैले सँगै बसेर हेर्न मिल्ने खालको छ ।

Nikita Acharya (4)

डाक्टर बन्न छोडेर कलाकारिता किन रोज्नुभयो ?

पहिला म डाक्टर बन्छु भनेर हिँडेको थिएँ । कलाकारितामा कसरी लगाव भयो त्यो आफैंलाई थाहा भएन । प्लस टुपछि नाटक हेर्दा मलाई मैले त यही पो गर्नुपर्ने रहेछ भन्ने फिल भयो । त्यसपछि एक्टर स्टुडियोमा अनुप सरसँग क्लास लिन थालें । त्यसपछि थिएटर गर्न थालें । थिएटरले मेरो संसार नै बदलिदियो ।

कलाकारितामा केही सपना पनि देख्नुभएको छ कि ?

धेरै सपना देखेको छु । प्लस टुपछि मैले आइटी पढें । तर अहिले आईटीलाई साइडमा राखेर म कलाकारितामै रमाउन चाहन्छु । मलाई क्यामराको अगाडि काम गर्दा धेरै खुसी मिल्छ र म आफूलाई भाग्यमानी ठान्छु । किनभने मैले मन परेको काम गर्न पाइरहेकी छु ।

अबका दिन के गर्नुहुन्छ थिएटर कि फिल्म ?

दुवैलाई सँगसँगै लैजानुपर्छ जस्तो लाग्छ । फिल्म त भर्खर टेस्ट मात्र गरेको छु । कलाकार भइसकेपछि कति धेरै क्यारेक्टर निर्वाह गर्न मन लाग्छ, जे देख्यो त्यही गर्न मन लाग्छ, धेरै कुरा ट्राइ गर्न मन लाग्छ । थिएटरमा हामी क्यारेक्टरका लागि धेरै वर्कसप गर्छौं, जसले गर्दा फिल्ममा पनि सजिलो हुन्छ । थिएटरको एक महिनासम्मको तयारीले एउटा कलाकारलाई निखार्न मद्दत गर्छ । थिएटरले कलाकारमा निखार ल्याउँछ, फिल्मले चर्चा र व्यावसायिकता दिलाउँछ । त्यसैले दुवै छोड्दिनँ ।

थिएटर र फिल्म अभिनयमा के भिन्नता महसुस भयो ?

फिल्म थिएटर भन्दा विल्कुलै भिन्न हुन्छ । थिएटरमा एक्सन–कट हुँदैन । यत्तिकै सरर अभिनय गर्नुपर्छ । फिल्ममा चाहिँ एक्सन–कट हुन्छ, जसले गर्दा इमोसन बिल्डअप गर्न र अलिकति समय लिएर काम गर्न पाइन्छ । दुवै अभिनय नै हो र दुवैमा मलाई रमाइलो लाग्छ ।

Nikita Acharya (5)

फिल्ममा टिक्न र बिक्न गाह्रो छ भन्छन् नि ?

त्यसका लागि आफूलाई तयारी अवस्थामा राख्ने र अपडेट पनि भइरहनुपर्छ । टिक्ने र बिक्ने कुरा दर्शकको हातमा छ । आफ्नो तर्फबाट मेहनत त गरिरहेको छु । दर्शकले मन पराइदिनुभयो भने काम नपाउने कुरै हुँदैन । नयाँ नयाँ काम पाउदा एकपछि अर्को राम्रो गर्दै अगाडि बढ्छु ।

अब कोसँग जोडीको रुपमा देखिन मन छ ?

धेरै हुनुहुन्छ । नाम लिएर साध्य छैन । पुरुष कलाकारहरु मात्र होइन, धेरै महिला सिनियर कलाकारसँग काम गर्न मन छ । सबै एकसे एक हुनुहुन्छ, आ-आफ्नो ठाउँमा अब्बल पनि । उहाँहरुसँग काम गर्दा धेरै सिक्न पाइन्छ भन्ने मेरो बुझाइ हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप