बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी चर्चा

कैलाली–१ : रेशम चौधरीको गढमा यस पटक कसले रच्ला इतिहास ?

बुधबार, २८ माघ २०८२, १५ : २७
बुधबार, २८ माघ २०८२

सारांश

  • कैलाली क्षेत्र नम्बर १ मा रेशम चौधरीको गढको रूपमा रहेकोमा, उनको दल विभाजन भएपछि चुनावी नतिजामा चासो बढेको छ।
  • रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी त्यागेर नयाँ दल बनाए पनि उनको उम्मेदवारी रद्द भएको छ, जसले गर्दा मतदाता विकल्प खोज्दैछन्।
  • नागरिक उन्मुक्ति पार्टी र नेकपाबीचको एकता, अन्य दल र स्वतन्त्र उम्मेदवारहरूको प्रतिस्पर्धाले यस क्षेत्रको चुनाव रोचक बनेको छ।

धनगढी । टीकापुर घटनापछिको राजनीतिक परिवेशमा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कैलाली क्षेत्र नम्बर १ रेशम चौधरीको गढका रूपमा रहँदै आएको छ । टीकापुर घटनाको मुख्य योजनाकारका रूपमा अदालतबाट दोषी ठहर भइ कैद भुक्तानसमेत गरेका चौधरीले थारु बाहुल्य सो क्षेत्रमा थारु समुदायको आवाज उठाउँदै आएका छन् ।

२०७४ को संसदीय निर्वाचनमा आफू कानुनको नजरमा ‘फरार’ रहेकै अवस्थामा रेशम आफैँ सो क्षेत्रबाट निर्वाचित भएका थिए । त्यतिबेला उनलाई राष्ट्रिय जनता पार्टी नेपालले उम्मेदवार बनाएको थियो । यद्यपि निर्वाचित भएलगत्तै अदालतमा आत्मसमर्पण गरेका उनी जेलमा परे । सांसदको भूमिका निर्वाह गर्न नपाएका उनले जेलमै रहेको अवस्थामा पत्नी रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरे ।

०७९को संसदीय निर्वाचनमा रेशमकी पत्नी रञ्जिता कैलाली–१ बाट निर्वाचित भइन् । रेशमकै प्रभावका कारण रञ्जिताले सहजै जित हासिल गरेकी थिइन् । त्यसबेला सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ चुनाव जितेर संघीय संसदमा पुग्ने रञ्जिता एकमात्र महिला थिइन् ।

अहिले पति–पत्नीबिचको मनमुटावका कारण उनको दल विभाजित भइसकेको छ । रेशमले नागरिक उन्मुक्ति पार्टी त्यागेर नागरिक उन्मुक्ति पार्टी नेपाल नामक दल गठन गरे । सो निर्वाचन क्षेत्रबाट रेशम चौधरी आफैँ उम्मेदवार हुन चाहन्थे, तर निर्वाचन आयोगले उनको उम्मेदवारी रद्द गरिदिएको छ ।

सो क्षेत्रमा अहिले नागरिक उन्मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालमध्ये कुनै पनि दलले उम्मेदवारी दिएका छैनन् । त्यसैले सो क्षेत्रका मतदाताले यस पटक कस्तो विकल्प रोज्लान् भन्नेबारे चासो व्याप्त छ ।

रञ्जिता श्रेष्ठको अध्यक्षतामा रहेको नागरिक उन्मुक्ति पार्टीले अहिले नेपाली कम्युनिस्ट पार्टीसँग एकता गरेको छ । तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), भीम रावलको समूह र नागरिक उन्मुक्ति पार्टीबिचको एकीकरणबाट बनेको नेकपाले यस पटकको चुनावमा परिणाम आफ्नो पक्षमा पार्ने अपेक्षा गरिएको छ । नेकपाले रामलाल डगौरा थारुलाई यस क्षेत्रमा उम्मेदवार बनाएको छ । डगौरा २०७९ मा टीकापुर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । मेयर पदबाट राजीनामा दिएर उनी संसदीय राजनीतिमा प्रवेश गर्ने उद्देश्यले प्रतिस्पर्धी बनेका हुन् ।

अर्कोतिर रेशम चौधरीको प्रभाव क्षेत्र भएकाले पनि उनको साथ र समर्थन कसलाई रहन्छ भन्ने विषय भने चुनावको नतिजा प्रभावित पार्न सक्ने आकलन गरिएको छ ।

तत्कालीन नाउपाका संस्थापक केन्द्रीय कोषाध्यक्ष कोमल ज्ञवाली यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कैलाली–१ मा उम्मेदवार बनेकी छन् । सोही पार्टीका अर्का नेता प्रदीपकुमार चौधरी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका छन् ।

हिजोको बलियो शक्ति यसरी छिन्नभिन्न हुँदा त्यसको प्रत्यक्ष लाभ अन्य ठुला दल वा स्वतन्त्र उम्मेदवारले लिने आकलन पनि अस्वाभाविक होइन । एउटै भोट बैंकमा धेरै जनाको दाबी रहेकाले यस पटकको नतिजा अनपेक्षित आउन सक्ने देखिएको स्थानीय शिक्षक मोतीराम जोशीले बताए ।

कैलाली–१ को चुनावी इतिहास फरक छ । यहाँका मतदाताले एकपटक जिताएको व्यक्तिलाई अर्कोपटक विरलै सम्झिन्छन् । २०४८ सालको चुनावमा यस क्षेत्रबाट नेपाली कांग्रेसका गङ्गाबहादुर कुँवर विजयी भएका थिए । २०५१ सालमा यस क्षेत्रबाट नेकपा एमालेका हिमाञ्चलराज भट्टराई निर्वाचित भए ।

२०५६ सालमा कांग्रेसकी सुशीला स्वाँर निर्वाचित हुँदा २०६४ सालको संविधान सभा निर्वाचनमा माओवादीकी रूपा सोसी चौधरी निर्वाचित भइन् । २०७० को संविधान सभा निर्वाचनमा यहाँबाट फोरम लोकतान्त्रिकका जनकराज चौधरी निर्वाचित भए । ०७४ सालमा भूमिगत अवस्थामै रेशम चौधरीलाई निर्वाचित गरेका यस क्षेत्रबाट मतदाताले २०७९ सालको निर्वाचनमा रेशमकै पत्नी रञ्जिता श्रेष्ठलाई निर्वाचित गराए ।

यस क्षेत्रमा १९ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । नेपाली कांग्रेसले २०७९ मा पराजित भएका पूर्वमन्त्री रामजनम चौधरीको सट्टा यस पटक जनकराज चौधरीलाई टिकट दिएको छ । नेकपा एमालेबाट द्वारिकाप्रसाद न्यौपाने प्रतिस्पर्धामा छन् । उनी संगठनको बलमा नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छन् ।

यस्तै, प्रलोपाबाट जनकराज शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लोकेन्द्र कुँवर, जनमत पार्टीबाट भगतराम डगौरा थारु, आम जनता पार्टीबाट रुपा कुमारी चौधरी र नेमकिपाबाट सुनिता भण्डारी पनि मैदानमा छन् ।

यस निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूको लर्को पनि उस्तै छ । अरुण ठकुल्ला, जनकराज शाह, तपेन्द्र शाह, नरेश रावल, फागुराम चौधरी, राजेन्द्रबहादुर शाही लगायतका स्वतन्त्र उम्मेदवारहरूले दलहरूप्रति असन्तुष्ट मतदाताको मत तान्ने प्रयास गरिरहेका छन् ।

टीकापुर र आसपासका मतदातामा दलहरूप्रति चरम वितृष्णा र आक्रोश देखिन्छ । विकास निर्माणका काम ठप्प हुनु र जितेर गएकाहरूले फर्केर नहेर्नु यहाँको साझा गुनासो हो ।

टीकापुर नगरपालिकाका विवेक रावलले भने, ‘यहाँ सधैँ यस्तै हो, जितेर जानेले केही काम गर्दैनन् । अनुहार फेरिन्छ, तर प्रवृत्ति फेरिँदैन । त्यसैले यस पटक पनि नतिजा फरक आउने निश्चित छ । हामी काम गर्न सक्ने नयाँ व्यक्तिलाई मौका दिने पक्षमा छौँ ।’

टीकापुरकी सुनिता चौधरी पनि यस पटक मत फेर्ने योजना सुनाउँछिन् । ‘हामीले आफ्नै समुदायको भनेर नागरिक उन्मुक्तिलाई जितायौँ,’ उनले भनिन्, ‘उनीहरूले केही गरेनन्, उल्टै आपसमा झगडा गरेर समय बिताए । श्रीमान्–श्रीमतीको झगडा हेर्न हामीले भोट दिएका होइनौँ । त्यसैले यस पटक हामी विकल्प खोज्छौँ ।’

२०७९ को समानुपातिक मतलाई आधार मान्ने हो भने यहाँ नागरिक उन्मुक्ति पार्टी निकै बलियो थियो । त्यसबेला नाउपाले समानुपातिकमा २७ हजार ४०६ मत पाउँदा नेपाली कांग्रेसले ११ हजार ३९५, माओवादी केन्द्रले ७ हजार ९९२, एमालेले ५ हजार २१५ र राप्रपाले ४ हजार १०३ मत पाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले यहाँबाट समानुपातिकमा २ हजार ५१७ मत पाएको थियो ।

अहिले यहाँको परिस्थिति बदलिएको छ । २७ हजार मत रहेको नाउपा विभाजित छ । त्यसको ठुलो हिस्सा नेपाली कम्युनिस्ट पार्टी मार्फत रामलाल डगौरा थारुको पक्षमा देखिए पनि रेशम चौधरीको असन्तुष्टि, कोमल ज्ञवालीको रास्वपा प्रवेश र प्रदीप चौधरीको उम्मेदवारीले त्यो मत बाँडिने पक्का छ ।

यस्तो अवस्थामा कांग्रेस, एमालेजस्ता पुराना दलहरूले संगठनको मत जोगाउँदै असन्तुष्ट मत तान्न सके नतिजा आफ्नो पक्षमा पार्न सक्ने सम्भावना पनि उत्तिकै छ । उता, रास्वपाले शहरी र युवा मतदाताको मत कति तान्न सक्छ भन्ने कुराले पनि नतिजामा प्रभाव पार्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप