कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन
सारांश
- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीहरूलाई इमानदारिताका साथ काम गर्न निर्देशन दिए।
- अख्तियारमा उत्कृष्ट काम गर्ने प्रहरीलाई सम्मान गर्दै, उनले सुशासन र भ्रष्टाचार नियन्त्रणमा जोड दिए।
- कार्यक्रममा ३५ जना प्रहरी कर्मचारीलाई उत्कृष्ट कार्यसम्पादनका लागि पुरस्कृत गरिएको थियो।
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका प्रहरी कर्मचारीहरूलाई इमानदारिता, पारदर्शिता र उच्च कर्तव्यनिष्ठाका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।
प्रहरी प्रधान कार्यालय, नक्सालमा बुधबार आयोजित कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालमा कार्यरत रही उत्कृष्ट कार्यसम्पादन गरी पुरस्कृत भएका प्रहरी कर्मचारीहरूलाई उनले राष्ट्र र सङ्गठनप्रति थप जिम्मेवार भई काम गर्न निर्देशन दिए ।
महानिरीक्षक कार्कीले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उक्त आयोगमा खटिएका प्रहरी कर्मचारीहरूले निर्वाह गरेको जिम्मेवारी प्रशंसनीय रहेको बताए ।
उनले अनुसन्धानमा व्यावसायिक दक्षता, लगनशीलता र निष्ठाले नेपाल प्रहरी सङ्गठनको गरिमा अझ उँचो बनाएको उल्लेख गरे । उनले भने, “आफ्नो व्यावसायिक ज्ञान, सीप र अनुभवको उच्चतम प्रयोग गर्दै अनुसन्धान क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्न सफल हुनुभएका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी सङ्गठनको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु । आगामी दिनमा समेत अझ बढी जिम्मेवार, इमानदार र कर्तव्यनिष्ठ भई राष्ट्र र जनताको सेवामा समर्पित रहनु हुनेछ भन्ने विश्वास लिएको छु ।”
प्रहरी महानिरीक्षक कार्कीले भ्रष्टाचार विरुद्धको अभियानलाई प्रभावकारी बनाउन अनुसन्धान कार्यलाई प्रमाणमुखी, तथ्यपरक र निष्पक्ष बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले अनुसन्धानमा संलग्न कर्मचारीहरूले कानुनी प्रक्रिया, मानवअधिकारको सम्मान र पेशागत आचारसंहितालाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसको अवसर पारेर आयोगमा कार्यरत ३५ जना प्रहरी कर्मचारीहरूलाई उत्कृष्ट कार्यसम्पादनको आधारमा सम्मान तथा पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने कर्मचारीहरूले विभिन्न जटिल तथा संवेदनशील मुद्दाहरूको अनुसन्धान सफलतापूर्वक सम्पन्न गरी भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको जनाइएको छ ।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । नेपाल प्रहरीले पछिल्लो समय अनुसन्धान क्षमताको सुदृढीकरण, तालिम तथा स्रोतसाधनको व्यवस्थापनमार्फत सङ्गठनलाई थप प्रभावकारी बनाउने अभियानलाई तीव्रता दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण