शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी चर्चा

ब्याटल ग्राउन्ड मधेस : जहाँ हुँदैछ ‘हेभीवेट’ भिडन्त

शनिबार, ०२ फागुन २०८२, १५ : ००
शनिबार, ०२ फागुन २०८२

सारांश

  • निर्वाचन नजिकिँदै गर्दा मधेसमा हेभीवेट उम्मेदवारहरूबीच प्रतिस्पर्धा बढ्दै गएको छ।
  • सर्लाही-४ मा गगन थापालाई अमरेश कुमार सिंहले चुनौती दिने सम्भावना रहेको छ भने धनुषा-३ मा विमलेन्द्र निधि, जुली कुमारी महतो र मनिष झा बीच प्रतिस्पर्धा हुने देखिन्छ।
  • सप्तरी-२ मा डा. सीके राउतलाई सतिश सिंह र उमेश यादवले टक्कर दिने अनुमान गरिएको छ।

जनकपुरधाम । फागुन लागेसँगै मौसमी गर्मी पनि बिस्तारै बढ्दैछ । उता प्रतिनिधिसभाको निर्वाचनको दिनगन्ती सुरू हुँदै गर्दा चुनावी सरगर्मी भने झनै बढ्दैछ ।
यसपटकको निर्वाचनमा झापा-५ सँगै मधेस पनि ‘इपिसेन्टर’ बन्दैछ । किनकि मधेस प्रदेशमा हेभीवेट उम्मेदवारहरूको संख्या निकै छ । सर्लाही-४ नेपाली कांग्रेसका सभापति गगन थापाका कारण चर्चामा छ । उनलाई यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले चुनौती दिँदैछन् ।

 यस्तै धनुषा-३ मा कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र नेकपा एमालेकी नेतृ एवं पूर्व मन्त्री जुलीकुमारी महतो आमनेसामने हुँदैछन् । सर्लाही-२ मा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का महिन्द्र राय यादवबिच प्रतिस्पर्धा हुँदैछ ।

यसैगरी धनुषा-४ मा एमाले उपमहासचिव रघुवीर महासेठलाई कांग्रेसका निवर्तमान सहमहामन्त्री एवं पूर्व मन्त्री महेन्द्र यादवले चुनौती दिँदैछन् । सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई उनीबाटै छुट्टिएएका स्वाभिभान पार्टीका सतिश सिंह र जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश यादवले टक्कर दिँदैछन् ।   

  • सर्लाही-४ : गगनलाई अमरेशको चुनौती 

कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा लामो समयदेखि निर्वाचन लड्दै आएको क्षेत्र काठमाडौं–४ छोडेर यसपालि मधेसको सर्लाही-४ झरेका छन् । यो क्षेत्रमा थापालाई कुनै बेला उनकै सहयात्री रहेका डा. अमरेशकुमार सिंहले चुनावी मैदानमा चुनौती दिने आकलन गरिएको छ । अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका सिंह यसपटक रास्वपाबाट चुनाव लड्दैछन् । 

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा सिंहले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसबेला उनी २० हजार १७ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५३ मत पाएका थिए । उनलाई तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सघाएका थिए । उक्त निर्वाचनमा रास्वपाका उम्मेदवार धिरज ठाकुरले ३१८ मत मात्रै पाएका थिए । तर अमरेशको प्रवेशले यसपटक रास्वपाले बलियो उपस्थिति जनाउने अनुमान गरिएको छ ।

यद्यपि सर्लाही–४ मा कांग्रेसको मजबुत संगठन रहेककाले गगनलाई जित्न असहज नरहेको विश्लेषण पनि सुनिन्छ ।

धनुषा-३ : निधि, जुली र मनिषबिच त्रिपक्षीय प्रतिस्पर्धा

धनुषा क्षेत्र नम्बर ३ मा कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि, एमाले नेतृ एवं पूर्वमन्त्री जुलीकुमारी महतो र रास्वपा प्रवक्ता मनिष झाको त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । अघिल्लो निर्वाचनमा निधि समानुपातिक कोटाबाट प्रतिनिधिसभा पुगेका थिए । २०७४ को निर्वाचन यस क्षेत्रबाट निर्वाचन लड्दा निधिलाई तत्कालीन राजपाका उम्मेदवार राजेन्द्र महतोले पराजित गरेका थिए ।

collage

एमाले उम्मेदवार जुलीकुमारी महतोले २०७९ को निर्वाचनमा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार अनिलकुमार झालाई पराजित गरेकी थिइन् । तर यस पटकको निर्वाचनमा कांग्रेस र एमाले दुवैको राम्रो पकड रहेको यो क्षेत्रमा निधि र जुलीसँगै रास्वपा पनि चुनौती दिँदै मैदानमा छ । रास्वपा र बालेन शाहको देशव्यापी लहरको प्रभाव मधेसका जिल्लामा पनि पर्ने संकेत देखिएको छ । जसकारण धनुषा-३ मा कांग्रेस, एमाले र रास्वपाको त्रिपक्षीय भिडन्त हुने देखिन्छ ।

  • धनुषा-४ : रघुवीर भर्सेस महेन्द्र

मधेसमा हेभीवेट नेतालाई हेवीवेटले नै चुनौती दिने अर्को क्षेत्र हो धनुषा-४ । यो क्षेत्रमा एमाले उपमहासचिव रघुवीर महासेठ र कांग्रेसका निवर्तमान सहमहामन्त्री महेन्द्र यादव आमनेसामने हुँदैछन् ।

collage

२०७९ को निर्वाचनमा महासेठले यादवलाई नै पराजित गरेर प्रतिनिधिसभा पुगेका थिए । महासेठले १२४ मतको झिनो मतान्तरले जित निकालेका थिए । महासेठले ३२ हजार २३६ मत ल्याएका थिए भने महेन्द्रले ३२ हजार ११२ मत ल्याएका थिए ।

झिनो मतान्तरले पराजित भएपछि महेन्द्र अदालतसम्म पुगेका थिए । तर अदालतले उनको विपक्षमा फैसला गरेको थियो ।

यसपटक पनि यी दुई उम्मेदवारबिच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । धनुषा-४ कांग्रेस र एमाले दुवै दलको गढ मानिन्छ ।

  • सर्लाही-२ : तेस्रो पटक आमनेसामने हुँदै राजेन्द्र र महिन्द्र

सर्लाही क्षेत्र नम्बर २ मा नेकपाबाट महिन्द्र राय यादव र राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले उम्मेदवारी दिएका छन् । यी दुई नेताबिच राजनीतिक रुपमा पहिलेदेखि नै प्रतिस्पर्धा हुँदै आएको छ । दुवै नेता निर्वाचनमा तेस्रो पटक आमनेसामने हुन लागेका हुन् । यसअघि दुई पटक प्रतिस्पर्धा हुँदा दुवै पटक महिन्द्रले नै बाजी मार्न सफल भएका थिए ।

२०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उतारिएका महिन्द्रले राजेन्द्रलाई पराजित गरेका थिए । राजेन्द्र तत्कालीन  लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचन लडेका थिए । महिन्द्रले २३ हजार ५२९ मत ल्याएर विजयी हुँदा राजेन्द्रले २१ हजार ५१८ मत ल्याएर पराजित भएका थिए ।

mahindra-rajendra_ntpvKMM1sm

 

  • सप्तरी-२ : सीके राउतलाई पनि छैन सहज

२०७९ को निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबिचको प्रतिस्पर्धाले सप्तरी क्षेत्र नम्बर २ चर्चामा थियो । उक्त निर्वाचनमा सीकेले उपेन्द्रलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । राउतले ३५ हजार ४२ मत ल्याउँदा उपेन्द्रले १६ हजार ९७९ मत मात्रै पाएका थिए ।

यसपटक पनि सीके राउत यही क्षेत्रमा उम्मेदवार बनेका छन् भने उपेन्द्र मैदान खाली गरेर सप्तरी-३ मा पुगेका छन् । उपेन्द्र नभएपनि सीकेलाई यसपटक सहज नरहेको विश्लेषण भइरहेको छ । किनकि यो क्षेत्रमा उनकै सहयात्री रहिसकेका मधेसका पूर्व मुख्यमन्त्री सतिश सिंह र पूर्व मन्त्री समेत रहेका जसपा नेपालका उमेश यादवले उनलाई चुनौती दिँदैछन् । सिंह स्वाभिमान पार्टीबाट उम्मेदवार बनेका छन् ।

  • महोत्तरी-२ : शरतसिंहलाई किरणको चुनौती

महोत्तरी-२ शरतसिंह भण्डारीका लागि सहज निर्वाचन क्षेत्रको रुपमा हेरिँदै आएको छ । तर यसपटकको निर्वाचनमा भण्डारीलाई कांग्रेस नेतृ किरण यादवले चुनौती कडा टक्कर दिने आकलन छ ।

भण्डारीले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा २५ हजार १९० मत ल्याउँदै सहज जित निकालेका थिए भने निकटतम प्रतिद्वन्द्वी तत्कालीन तमलोपाका डा. विजयकुमार सिंहले ११ हजार १२० मत पाएका थिए ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट शरतसिंह र किरणबिच प्रतिस्पर्धा भएको थियो । त्यसबेला पनि भण्डारीले सहज जित निकालेका थिए । भण्डारीले ३० हजार ७२२ मत ल्याउँदा किरणले १३ हजार ९७४ मत मात्रै ल्याए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप