शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बंगलादेश चुनावी नतिजा

बंगलादेश निर्वाचनः खुम्चियो अल्पसंख्यकको प्रतिनिधित्व

शनिबार, ०२ फागुन २०८२, १६ : ३६
शनिबार, ०२ फागुन २०८२

सारांश

  • बंगलादेशको संसदीय निर्वाचनमा बीएनपीले बहुमत ल्याएर सत्तामा फर्किने बाटो बनाएको छ।
  • निर्वाचनमा अल्पसंख्यक समुदायको न्यून प्रतिनिधित्वले देशको राजनीतिक परिदृश्यमा चुनौती थपेको छ।
  • बीएनपीका नेता तारिक रहमानको नेतृत्वमा दुई दशकपछिको ठुलो राजनीतिक पुनरागमन भएको छ।

ढाका । बंगलादेशमा १८ महिनासम्म चलेको राजनीतिक संघर्षपछि सम्पन्न १३औँ संसदीय निर्वाचनको नतिजा सार्वजनिक भएको छ। निर्वाचनमा मुख्य विपक्षी दल बंगलादेश नेसनल पार्टी (बीएनपी)ले २९९ मध्ये २११ सिट जित्दै स्पष्ट बहुमतसहित सत्तामा फर्किने बाटो बनाएको छ । 

पार्टीका नेता तारिक रहमानको नेतृत्वमा प्राप्त यो जितलाई दुई दशकयताकै ठुलो राजनीतिक पुनरागमनका रूपमा हेरिएको छ । 

तर नतिजासँगै सबैभन्दा बढी ध्यान खिच्ने विषय भने संसदमा अल्पसंख्यक समुदायको न्यून प्रतिनिधित्व हो । यस निर्वाचनमा केवल चार जना अल्पसंख्यक उम्मेदवार–तीन हिन्दु र एक आदिवासी–मात्र विजयी भएका छन् । 

बंगलादेशमा हिन्दू समुदाय कुल जनसंख्याको करिब ८ प्रतिशत भए पनि यसपटक संसद्मा उनीहरूको प्रतिनिधित्व उल्लेखनीय रूपमा घटेको छ । विगत २० वर्षमा सामान्यतया १४ देखि २० सिटसम्म अल्पसंख्यक प्रतिनिधित्व रहने गरेको थियो । 

७९ अल्पसंख्यक उम्मेदवारमध्ये चार मात्रै विजयी 

निर्वाचनमा कुल ७९ अल्पसंख्यक उम्मेदवार प्रतिस्पर्धामा थिए, जसमध्ये बीएनपीका चार जना विजयी भए । 

यसैबिच जमात–ए– इस्लामी बंगलादेशका तर्फबाट उम्मेदवार बनेका एक मात्र हिन्दु उम्मेदवार पनि पराजित भए । विश्लेषकहरूका अनुसार यस परिणामले देशको बदलिँदो राजनीतिक परिदृश्यसँगै अल्पसंख्यक समुदायको सुरक्षा र प्रतिनिधित्व अझै चुनौतीपूर्ण विषय रहेको संकेत गरेको छ । 

को–को भए विजयी ? 

बीएनपीका वरिष्ठ नेता गायेश्वर चन्द्र रायले ढाका–३ बाट झन्डै ९९ हजार मतान्तरले जित हासिल गरेका बताएका छन् । मगुरा–२ बाट बीएनपीकी उपाध्यक्ष निताई राय चौधरी १ लाख ४७ हजार ८ सय ९६ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी मुस्तर्शीद बिल्लाहले १ लाख १७ हजार १८ मत प्राप्त गरेका थिए । 

त्यस्तै रंगामाटीबाट अधिवक्ता दीपेन दीवान ३१ हजार २ सय २२ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी पाहेल चक्माले २१ हजार ५ सय ४४ मत पाए । बन्दरबन क्षेत्रबाट सचिन प्रु १ लाख ४१ हजार ४ सय ५५ मतसहित संसद् प्रवेश गर्न सफल भए । 

यता जमात–ए–इस्लामीका कृष्णा नन्दी खुलना–१ बाट ७० हजार ३ सय ४६ मत पाए पनि बीएनपी उम्मेदवारसँग पराजित भए । 

दलगत सहभागिता र विश्लेषण

निर्वाचनमा ६० दर्ता राजनीतिक दलमध्ये २२ दलले अल्पसंख्यक उम्मेदवार उठाएका थिए । तीमध्ये करिब ६८ जना विभिन्न दलका उम्मेदवार थिए भने १० जना महिला उम्मेदवारसमेत प्रतिस्पर्धामा थिए । बीएनपीले ६ जना अल्पसंख्यक उम्मेदवार उठाएकोमा ४ जना विजयी भए । बंगलादेश कम्युनिस्ट पार्टीले सबैभन्दा धेरै अल्पसंख्यक उम्मेदवार मैदानमा उतारेको थियो । 

राजनीतिक विश्लेषकहरूका अनुसार संसद्मा कुल सिट संख्याको तुलनामा अल्पसंख्यक प्रतिनिधित्व अझै सीमित छ । यसैबिच निर्वाचन परिणामका आधारमा मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकार परिवर्तन हुने संकेत देखिएको छ । यस निर्वाचनले बीएनपीको सशक्त पुनरागमनसँगै बंगलादेशको राजनीतिक भविष्य र समावेशी प्रतिनिधित्वबारे नयाँ बहस सुरु गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप