शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कवि अस्मिता विष्टको ‘ब्ल्याकहोलमा गीतहरू’ सार्वजनिक

आइतबार, ०३ फागुन २०८२, १२ : ०५
आइतबार, ०३ फागुन २०८२

सारांश

  • कवि अस्मिता विष्टको कविता संग्रह 'ब्ल्याकहोलमा गीतहरू' काठमाडौँमा विमोचन गरियो।
  • समीक्षकहरूले विष्टका कवितामा प्रेम, नारी संवेदना, र सामाजिक विषयवस्तुलाई उजागर गरेको बताए।
  • संग्रहमा महिला अनुभव र पहिचानका मुद्दाहरूलाई सशक्त ढंगले प्रस्तुत गरिएको छ।

काठमाडौँ । कवि अस्मिता विष्टको कविता संग्रह  ‘ब्ल्याकहोलमा गीतहरू’को शनिबार काठमाडौँस्थित सर्वनाम थिएटरमा विमोचन भएको छ । कविहरू श्रवण मुकारुङ, विमला तुम्खेवा, समीक्षक गुरुङ सुशान्त र लेखक विष्टले किताब संयुक्त रूपमा विमोचन गरे । 

समीक्षक गुरुङ सुशान्तले विष्टका कवितामा प्रेम, नारी संवेदना, आदिवासी सौन्दर्यका मुद्दा र सामाजिक विषयका प्रतिरोधी आवाज मुखर ढंगले प्रस्तुत भएको विचार व्यक्त गरे । ‘ब्ल्याकहोलमा गीतहरूका कविता खासगरी प्रतिरोधी स्वर हुन्– समाजमा स्थापित पुरातन मान्यताविरुद्ध,’ सुशान्तले भने, ‘प्रेम र नारी केन्द्रित कविता भए पनि यसमा पुरुष–सत्ता विरुद्धका सशक्त कविता छन् । यी कविता निजी स्मृतिका हरफजस्ता देखिए पनि ती राजनीतिक पाठ हुन् । पहिचानका पक्षमा बलियो आन्दोलन गरेको भूमिमा बसेर कविता कर्म गरिरहेकी कविले पहिचानलाई नजिकैबाट छामेका कारण उनका कविताहरू बुलन्द भएका हुन् । यस संग्रहका कविता भावनात्मक रचना मात्रै होइनन्, महिला अनुभवका विशिष्ट दस्ताबेज पनि हुन् ।’

कवि विमला तुम्खेवाले ‘ब्ल्याकहोलमा गीतहरू’ का कविता समकालीन परिदृश्यका तीखा स्वर भएको बताइन् । ‘यी कवितामा महिला जीवनका दैनिक अनुभूति शानदार रुपले समेटिएका छन्,’ तुम्खेवाले भनिन्, ‘कविताको बान्की र सौन्दर्यमा विशेष शैली र शिल्प छन्, जसले समकालीन विषयमाथि बहस र विमर्श गर्छन् । विम्बका प्रयोग कुशल ढंगले गरिएको छ । कविको निजी अनुभूति मिश्रित यी कविताका भाषा स्पष्ट र सुकोमल छन् ।’

ब्ल्याकहोलमा गीतहरू’ काव्यिक संरचनाका दृष्टिमा अब्बल भएको र किताबले समकालीन कविताको महत्ता स्थापित गर्ने कवि मुकारुङले बताए । ‘यी कविताले समकालीन कविताको मार्गमा आफ्नै मौलिक शैली समाएका छन्,’ मुकारुङले भने, ‘लिंग, पहिचान, धर्मजस्ता मुद्दा कुनै कालमा गएर असान्दर्भिक हुन सक्छन् । तर, प्रेम मात्रै त्यस्तो विषय हो, जुन सधैं सान्दर्भिक रहन्छ । कवि विष्टले प्रेम कवितामार्फत् प्रेमलाई सर्वकालिक बनाएकी छन् । त्यसैले एकै समयमा कविता लेखिरहेका कविहरूको भीडमा उनी अलग्गै चिनिनेछिन् ।’ 

त्रिभुवन विश्वविद्यालयअन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस, धरानमा प्राध्यापनरत कवि अस्मिता विष्टले आफ्नो कविताका भावभूमि जीवन अनुभव, अध्ययन र अवलोकनबाट सिर्जित भएको बताइन् । ‘यी कविताप्रति पाठकले दर्शाएको सद्भावबाट म असाध्यै उत्साहित छु,’ विष्टले भनिन् । इन्डिगो इन्कले प्रकाशन गरेको ‘ब्ल्याकहोलमा गीतहरू’ को मूल्य ३४९ रुपैयाँ रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप