बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इंग्ल्यान्डको जितसँगै स्कटल्यान्ड र इटाली समूह चरणबाटै बाहिरिए

सोमबार, ०४ फागुन २०८२, २० : ०७
सोमबार, ०४ फागुन २०८२

कोलकाता । टी–२० विश्वकपमा  इंग्ल्यान्डले इटालीलाई २४ रनले पराजित गरेको छ । सोमबार समूह 'सी'अन्तर्गतको खेलमा जित निकाल्दै इंग्ल्यान्ड सुपर–८ मा पुगेको छ । 

कोलकातास्थित इडन गार्डेन स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०२ रनको विशाल योगफल तयार पारेको थियो । 

इंग्ल्यान्डका लागि विल ज्याक्सले २२ बलमा अविजित ५३ रनको आक्रामक पारी खेले । उनले आफ्नो इनिङ्समा ३ चौका र ४ छक्का प्रहार गरे । टम ब्यान्टनले ३०, फिल साल्टले २८ तथा स्याम करनले २५ रनको योगदान दिए । 

२०३ रनको लक्ष्य पछ्याएको इटाली २० ओभरमा १७८ रनमै अलआउट भयो । बेन मेनेन्टीले ६० रन बनाए भने जस्टिन मोस्काले ४३ रन जोडे । दुवैले ९२ रनको साझेदारी गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए, तर अन्त्यतिर विकेट गुमाउँदा इटाली लक्ष्यभन्दा टाढै रह्यो । 

इंग्ल्यान्डका स्याम करन र जेमी ओभरटनले आज समान ३–३ विकेट लिए । इटालीका ग्रान्ट स्टुअर्ट र क्रिशन कालुगामगेले २–२ विकेट झारे । विल ज्याक्स आज ‘प्लेयर अफ द म्याच’ भएका थिए ।

जितसँगै इंग्ल्यान्ड ग्रुप–सीको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । टोलीले ४ खेलबाट ३ जितसहित ६ अंक जोडेको छ । समान ६ अंक भए पनि वेस्ट इन्डिज नेट रनरेटमा अगाडि छ, यद्यपि उसले एक खेल कम खेलेको छ । स्कटल्यान्ड र इटाली एक–एक जितसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् र दुवै टोली प्रतियोगिताको समूह चरणबाटै बाहिरिएका छन् । 

यो समूहबाट नेपाल भने लगातार तीन खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप