बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

संसदीय सर्वोच्चता  र स्वतन्त्रताका लागि निर्वाचनमा होमिएकाे हुँ : शेखर कोइराला

मङ्गलबार, ०५ फागुन २०८२, १४ : ४१
मङ्गलबार, ०५ फागुन २०८२

सारांश

  • डा. शेखर कोइरालाले संविधान र संसदीय सर्वोच्चता जोगाउन निर्वाचनमा होमिएको बताए।
  • उनले नयाँ पार्टीबारे फैलिएका अफवाहहरू चिर्न र निर्वाचनलाई गम्भीरतापूर्वक लिन आग्रह गरे।
  • कोइरालाले विराटनगरको विकास र हुलाकी सडक निर्माणमा कांग्रेसको भूमिकाको बारेमा चर्चा गरे।

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा‍.शेखर कोइरालाले संविधान संरक्षणका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको बताएका छन् । मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत विराटनगर ५ जामुनगाछीमा मंगलबार चुनाव प्रचार प्रसारका क्रममा नेता कोइरालाले संसदीय सर्वोच्चताका लागि र स्वतन्त्रताका लागि आफू निर्वाचनमा होमिएको बताए । 

आम सर्वसाधारणसँगको भेटघाटका क्रममा नेता कोइरालाले संसदमा सर्वोच्चता नहुँदा भोलि कांग्रेस पनि कम्युनिस्ट हुने बताए। नेता कोइरालाले भने, ‘संसद्को सर्वोच्चताका लागि मलाई तपाईंहरुले संसदमा पठाउनुहुनेछ । संसदमा कांग्रेसको सर्वोच्चता नहुँदा कांग्रेस पनि कम्युनिस्ट हुनेछ । जुन आम विराटनगरवासीले चाहेका छैनन् । मुलुकको राजनीतिक अवस्था गम्भीर छ । त्यसैले पनि सबैले निर्वाचनलाई गम्भीरतापूर्वक लिएर मतदान गर्नुहुने अपेक्षा छ ।’  

नेता कोइरालाले नयाँ पार्टीबारे आवश्यक कुरा बुझ्न जरुरी रहेको उल्लेख गरे । पुराना दलहरूप्रति नकारात्मक भाष्य, अफवाह फैलाइएको बताउँदै नेता कोइरालाले भने, ‘नयाँ पार्टीले पुराना दलका विषयमा फैलाएको अफवाह चिर्न आवश्यक छ । यसप्रति सबै सजग हुनुपर्छ । जेनजी विद्रोहपछि मुलुक थप पछाडि धकेलिएको महसुस भएको छ । सोही आन्दोलनले ०८४ मा हुने निर्वाचनलाई २ वर्षअघि निम्ताएको छ । त्यसैले यो चुनाव मात्र नभएर जनमत सङ्ग्रह भएर गएको छ ।’

निर्वाचन र मतका विषयमा विदेशमा रहेका परिवारका सदस्यले यहाँ घरमा रहेका आमाबुवाको अवस्था नबुझी अमुक पार्टीलाई सहयोग गर्न उक्साइरहेको उनको भनाइ छ । उनले भने, ‘विदेशमा रहनु भएकाहरूलाई यहाँको अवस्था बुझ्न आग्रह गर्छु । घरमा समस्या पर्दा आमाबुवालाई यहाँ हामीले नै सहयोग गर्ने हो । हाम्रै दलका साथीहरू दिनरात खटिनुभएको छ।’ विराटनगरका वडाहरूमा विकास क्रमले गति लिएको उनले बताए । वित्तीय आयोगले विराटनगर महानगरलाई पहिलो स्थानमा पुराएको कुरालाई गर्व गर्नुपर्ने बताउँदै उनले महानगरको विकासको नेतृत्व कांग्रेसले गरे पनि आम नागरिकको सहयोगले पहिलो भएको बताए । 

उनले भने, ‘विराटनगरले वित्तीय सुशासन कायम राखेको छ । यसलाई हामी सबै महानगरवासीले गर्व गर्नुपर्छ । काठमाडौँको हकमा हेरौँ अन्तिम स्थानमा पुगेको छ । काठमाडौँले न सुशासन कायम राख्न सक्यो, न वित्तीय पारदर्शिता, न जनताप्रति जबाफदेहिता ।’ 

जामुनगाछी हुँदै सुनसरीतर्फको हुलाकी सडक निर्माणमा भएको ढिलासुस्तीबारे स्थानीयको चर्को असन्तुष्टि भए पनि त्यसलाई कांग्रेसले नै सम्बोधन गरेको उनले बताए । सडक निर्माणका लागि राज्यले आवश्यक भुक्तानी नदिँदा ठेकेदार बेपत्ता भएपछि ठेकेदार खोजेर सडक बनाएको उनले प्रस्टाए। 

उनले भने, ‘यो सडक पुरा गराउन राज्य संरचना नै परिचालन गर्नुपरेको थियो । राज्यले ठेकेदारलाई रकम भुक्तानी नदिँदा समस्या भएको थियो ।’ 

त्यसैगरी, विराटनगरका विकासमा केशलिया खोला र बुढी खोलामा तटबन्ध नै प्राथमिकतामा रहेको उनले बताए । हरेक वर्ष विराटनगरको पश्चिम क्षेत्र वडा नम्बर ४, ५, ११, १२ डुबान पर्ने गरेको बताउँदै नेता कोइरालाले खोलामा तटबन्ध बनाउन आफूले सक्दो पहल गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप