बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

छिमेकीलाई गाली गर्न घरमै लाउडस्पिकर जोडेर रातभर चिच्याउने महिलालाई जेल सजाय

बुधबार, ०६ फागुन २०८२, ०७ : ३५
बुधबार, ०६ फागुन २०८२

सारांश

  • ताइवानमा एक महिलाले छिमेकीलाई गाली गरेको आरोपमा अदालतले तीन महिनाको जेल सजाय सुनाएको छ।
  • महिलाले मेगाफोन प्रयोग गरेर मध्यरातमा छिमेकीलाई गाली गर्थिन्, जसले गर्दा उनीहरूको निद्रामा खलल पुगेको थियो।
  • अदालतले महिलालाई जरिवाना तिरेर जेलबाट उम्कने वा फैसलाविरुद्ध अपिल गर्ने विकल्प दिएको छ।

ताइवान । मध्यरातमा मस्त निद्रामा रहेका बेला एक्कासि ठुलो आवाजमा कसैले गाली गरेको सुन्दा कस्तो होला ? ताइवानको काओसियुङका बासिन्दाले विगत दुई वर्षदेखि यस्तै सास्ती भोग्दै आए । 

एउटी सनकी छिमेकी महिलाको हर्कतले दर्जनौँ मानिसको निद्रा हराम भएको थियो । अन्ततः अदालतले ती महिलालाई यो हर्कतका लागि जेल सजाय सुनाएको छ ।

काओसियुङको अदालतले हालै चेन थरकी ती महिला विरुद्ध फैसला सुनाएको हो । उनले आफ्नो घरको बाल्कोनीमा साउन्ड सिस्टम र मेगाफोन नै जडान गरेकी थिइन् । 

सन् २०२३ को मे महिनादेखि उनले रिस उठेका छिमेकीलाई गाली गर्न सोही मेगाफोन प्रयोग गर्न थालिन् । हप्तामा कम्तीमा तीन पटक र त्यो पनि मध्यरातमा उनले यस्तो हर्कत देखाउँथिन् । 

उनको आवाज यति ठुलो हुन्थ्यो कि जसले गर्दा विवाद नभएका अन्य छिमेकीको शान्ति पनि भंग हुन्थ्यो । हरेक पटक उनी बढीभन्दा बढी भोल्युममा कराउँथिन् र यो क्रम लामो समयसम्म चल्थ्यो ।

झन्डै दुई वर्षसम्म यो अत्याचार सहेर सम्झाउँदा पनि नमानेपछि दर्जनौँ छिमेकीले मिलेर प्रहरीमा उजुरी दिए । यो मामला अदालत पुग्यो ।

अदालतमा ती महिलाले राति मेगाफोनबाट गाली गरेको स्वीकार गरिन् । तर, उनले छिमेकीले हल्ला गरेर आफूलाई सुत्न नदिएकाले कहिलेकाहीँ मात्र त्यस्तो गरेको दाबी गरिन् ।

तर न्यायाधीशले उनको दाबीलाई अस्वीकार गरिदिए । मध्यरातमा नियोजित रूपमा उपकरण प्रयोग गरेर अपशब्द बोल्नु र अरूलाई दुःख दिनु समाजमा स्वीकार्य नहुने अदालतको ठहर छ । यसका लागि उनलाई तीन महिनाको जेल सजाय सुनाइएको छ । 

यद्यपि, उनले जेलको सट्टा ९० हजार ताइवान डलर जरिवाना तिरेर छुट्न सक्ने विकल्प पनि दिइएको छ । ती महिलाले यो फैसलाविरुद्ध अपिल गर्न भने पाउने छिन् ।

यसअघि पनि छिमेकीलाई दुःख दिन ठुलो आवाजमा कुकुर भुकाउने र १६ वर्षसम्म लगातार ठुलो आवाजमा संगीत बजाउने मानिसहरूमाथि कारबाही भएका घटना सार्वजनिक भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप