इरान र अमेरिकाबिच परमाणु वार्ता : मार्गदर्शक सिद्धान्तमा सहमति
सारांश
- इरान र अमेरिकाबीच आणविक कार्यक्रमबारेको विवाद समाधानका लागि जेनेभामा अप्रत्यक्ष वार्ता भएको छ।
- वार्तामा केही आधारभूत विषयमा सहमति भए पनि विस्तृत प्रस्ताव र मतभेद समाधान हुन बाँकी छ।
- अमेरिकी राष्ट्रपति ट्रम्पले सम्झौता नभए सैन्य परिणामको चेतावनी दिएका छन् भने इरानले यसको प्रतिवाद गरेको छ।
जेनेभा । स्विट्जरल्यान्डको जेनेभामा भएको अप्रत्यक्ष वार्तापछि आफ्नो आणविक कार्यक्रमसम्बन्धी विवाद समाधान गर्न अमेरिकासँग मुख्य ‘मार्गदर्शक सिद्धान्त’ मा समझदारी भएको इरानले बताएको छ ।
वार्तामा केही आधारभूत सहमति भए पनि अझै धेरै काम बाँकी रहेको इरानी विदेशमन्त्री अब्बास अराघ्चीले बताए । वार्तामा प्रगति भएको स्वीकार गर्दै अमेरिकी पक्षले पनि थप प्राविधिक विवरणमा छलफल गर्नुपर्ने जनाएको छ ।
यी वार्ताहरू ओमानको मध्यस्थतामा भएको हो । ओमानी विदेशमन्त्री बदर अल्बुसाइदीका अनुसार वार्ता साझा लक्ष्य र प्राविधिक मुद्दा पहिचान गर्ने दिशामा सकारात्मक रूपमा अघि बढेको छ । आगामी दुई हप्ताभित्र इरानले बाँकी मतभेद समाधान गर्न विस्तृत प्रस्ताव ल्याउने अमेरिकी अधिकारीहरूले बताएका छन् ।
अमेरिका र उसका युरोपेली सहयोगीहरूले इरान परमाणु हतियार विकासतर्फ उन्मुख भएको आशङ्का व्यक्त गर्दै आएका छन् तर तेहरानले यसलाई निरन्तर अस्वीकार गर्दै आएको छ । वार्तामा इरानले मुख्य रूपमा आफ्नो आणविक कार्यक्रम र अमेरिकी आर्थिक प्रतिबन्ध हटाउने विषय उठाएको बताइएको छ, जबकि वासिङ्टनले क्षेप्यास्त्र विकासजस्ता अन्य मुद्दा पनि समेट्न चाहेको सङ्केत दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता नभए सैन्य परिणाम हुन सक्ने चेतावनी दिएका छन् । त्यसैबिच अमेरिकाले मध्यपूर्व क्षेत्रमा सैन्य उपस्थिति बढाएको छ । जसमा विमानवाहक युद्धपोतहरूको तैनाथी पनि समावेश छ ।
इरानका सर्वोच्च नेता अली खामेनेईले अमेरिकी धम्कीको कडा प्रतिक्रिया दिँदै वार्ताको नतिजा पूर्वनिर्धारित गर्न खोज्नु गलत र मूर्खतापूर्ण हुने बताए । दुवै पक्षले वार्ता जारी राख्ने सहमति जनाए पनि प्रमुख मतभेदहरू अझै समाधान हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण