‘निर्वाचनमा विवेकपूर्ण सहभागिता जनाऔँ’
सारांश
- प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक मूल्यलाई सुदृढ बनाउन आह्वान गरे।
- उनले मधेसलाई बलिदानी भूमिको रूपमा चित्रण गर्दै न्याय, समानता र पहिचानका पक्षमा उभिन आग्रह गरे।
- आगामी निर्वाचनमा नागरिकलाई विवेकपूर्ण र सक्रिय सहभागिता जनाउन आग्रह गर्दै उनले लोकतन्त्रलाई जनमुखी बनाउन जोड दिए।
धनुषा । मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक मूल्य र मान्यतालाई थप सुदृढ बनाउन आह्वान गरेका छन्। २००७ सालको क्रान्तिले जहानियाँ शासन अन्त्य गरी आधुनिक नेपालको जग बसालेको उल्लेख गर्दै उनले प्रजातन्त्र प्राप्तिका लागि जीवन उत्सर्ग गर्ने वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।
प्रदेश प्रमुख कर्णले सात दशकअघिको त्यही जगमा उभिएर मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको उचाइसम्म आइपुगेको बताए। शुभकामना सन्देशमार्फत उनले मधेसलाई बलिदानी भूमिको रूपमा चित्रण गर्दै यो क्षेत्र सधैँ न्याय, समानता र पहिचानका पक्षमा अग्रपङ्क्तिमा उभिँदै आएको स्मरण गराए।
प्रदेशको सांस्कृतिक विविधता र सामाजिक सद्भावलाई जोगाउँदै समतामूलक समाज निर्माणमा एकताबद्ध हुन उनले सबैमा आग्रह गरे। लोकतन्त्रलाई केवल राजनीतिक व्यवस्थामा मात्र सीमित नराखी यसलाई समावेशी र जनमुखी बनाउन सबै पक्षको साझा प्रतिबद्धता हुनुपर्ने उनको जोड छ।
प्रदेश प्रमुख कर्णले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लोकतन्त्र सुदृढ गर्ने एउटा महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन्। उनले आगामी निर्वाचनमा आफ्ना अधिकारहरूको प्रयोग गर्दै विवेकपूर्ण र सक्रिय सहभागिता जनाउन आम नागरिकलाई अनुरोध समेत गरे।
लोकतन्त्रले दिएको अधिकारसँगै नागरिक दायित्वको इमान्दारीपूर्वक पालना गर्दा मात्रै व्यवस्था थप बलियो हुने उनको विश्वास छ। प्रजातन्त्र दिवसले आपसी सद्भाव, भ्रातृत्व र विकासको साझा सङ्कल्पलाई थप मजबुत बनाउने अपेक्षा उनले व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण