शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मदिरा सेवन गरी अस्ट्रेलियाली प्रस्तोताले लाइभ रिपोर्टिङ गरेपछि...

बिहीबार, ०७ फागुन २०८२, १६ : ३६
बिहीबार, ०७ फागुन २०८२

सारांश

  • अस्ट्रेलियाकी खेलकुद प्रस्तोता डानिका मेसनले इटालीमा लाइभ रिपोर्टिङका क्रममा मदिरा सेवन गरेको स्वीकार्दै माफी मागिन्।
  • मेसनले कफीको मूल्य र इगुआनाबारे असान्दर्भिक कुरा गरेपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको थियो।
  • अस्ट्रेलियाका प्रधानमन्त्री र शोका होस्टहरूले मेसनको बचाउ गर्दै उनलाई हौसला दिए।

काठमाडौँ । इटालीमा जारी शीतकालीन ओलम्पिकबाट लाइभ रिपोर्टिङका क्रममा लरबराएको आवाजमा बोल्ने अस्ट्रेलियाकी चर्चित खेलकुद प्रस्तोता डानिका मेसनले माफी मागेकी छन् ।

च्यानल नाइनकी रिपोर्टर मेसनको उक्त भिडियो क्लिप भाइरल भएपछि उनले टेलिभिजनमा मदिरा सेवन गरेर प्रस्तुत हुनु आफ्नो गल्ती भएको स्वीकारेकी हुन् ।

बुधबार बिहानको ‘टुडे’ शोका लागि लाइभ रिपोर्टिङ गर्दा मेसनले शब्दहरू लरबराउँदै कफीको मूल्य र इगुआना जस्ता असान्दर्भिक विषयमा बोलेकी थिइन् । 

स्टुडियोका होस्टहरूले ठट्टा गरेपछि उनले ‘यहाँ कफीको मूल्य ठीकै छ, तर अमेरिकामा बानी पार्नुपर्छ’ भन्दै बेलायत र अमेरिकाको नाम पनि अलमल्याएकी थिइन्। उनको यो प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको थियो। कसैले यसलाई रमाइलो माने भने कसैले यसलाई ‘व्यावसायिकताको अभाव’ भन्दै आलोचना गरे ।

मेसनले अर्को दिन बिहीबारको कार्यक्रममा पुनः उपस्थित भई माफी माग्दै भनिन्, ‘मैले परिस्थितिलाई गलत ढंगले बुझेँ। चिसो मौसम, उचाइ र खाना नखाएको अवस्थामा मदिरा पिउनु मेरो गल्ती थियो। यसको पूर्ण जिम्मेवारी म लिन्छु, यो मैले आफैँलाई तोकेको मापदण्ड होइन।’ उनले आफू लज्जित भएको बताउँदै शुभचिन्तकहरूको सन्देशका लागि धन्यवाद समेत दिइन् ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले पनि यस घटनामा टिप्पणी गर्दै मेसनको बचाउ गरेका छन्। उनले विमान यात्राको थकानका कारण यस्तो भएको हुन सक्ने भन्दै यसलाई ठुलो विषय बनाउन नहुने बताए । 

‘टुडे’ शोका होस्टहरूले पनि मेसनको कडा परिश्रमको कदर गर्दै उनलाई हौसला प्रदान गरेका छन्। होस्ट कार्ल स्टेफानोभिकले उनलाई ‘लिजेन्ड’ को संज्ञा दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप