बालुवाको रङ्गीन महल– ७
सारांश
- लेखमा भीष्मराजको जीवन र उनको विचारको परिवर्तनबारे चर्चा गरिएको छ, जसमा उनको जेल जीवन र बाहिरको अवस्थाको तुलना गरिएको छ।
- भीष्मराजको आदर्श र व्यवहारमा आएको परिवर्तन, उनको वैयक्तिक जीवनका इच्छा र सामाजिक भूमिकाबीचको द्वन्द्वलाई प्रस्तुत गरिएको छ।
- अन्त्यमा, भीष्मराज र उनको विचारधारालाई प्रश्न गर्दै युवा पुस्ताले पुरानो पुस्तामाथि प्रश्न उठाएको देखाइएको छ।
जेलबाहिर सङ्घर्षका कथा थपिँदै गए । बलिदानका गाथा उनिँदै गए । खुनीतन्त्रविरुद्ध विद्यार्थीहरु जुरर्मराए । शिक्षकहरु सकसकाए । सुकुम्बासीहरुले हिँड्ने बाटो र खोस्रीखाने माटो खोज्न झोडामा हुचलालको हुरी उठाए । देउमाइको किनारमा कुनै वीरले ज्यान आहुति दियो । चैनपुरे पाखोमा कुनै सपुतको अमर गाथा लेखियो ।
छिन्ताङमा हक माग्ने जनताको रगतको खोलो बग्यो । पिस्करमा निर्दोष मानिसका आहत चीत्कारले रनवन थर्कियो । निर्दल नाउँको राज हल्लिन थाल्यो । खोरमा छ, तैपनि भीष्मराज सर्वव्यापी छ । बन्देजमा छ, तैपनि ऊ यत्रतत्र छाइरहेछ । एक–एक घटनासँग उसको नाउँ जोडिएर आउँछ ।
ऊ साम्य सङ्घर्षको बीउ, सङ्ग्राममा हात छाड्ने ऊ पहिलो अगुवा, सत्ताको गोलीबाट रौं प्रमाणले बचेको इतिहासको ऊ एक पारसमणि । ऊ त्यागको प्रतिमूर्ति । ऊ प्रेरणाको प्रकाशपुञ्ज । बस्, ऊ, ऊ र जताततै उही मात्र ।
कहिलेकाहीँ भीष्मराजका विचार जेलबाहिर आउँछन् । ऊ थोक बोलीमा मोटा कुरा गर्छ । ऊ सिंहनाद गर्छ— “यो जनमारा सत्ता बालुवाको घर हो । कुन दिन जनताले लात दिँदा तासको महल झैं यो ढल्छ । वर्गशत्रुले बुझे हुन्छ, त्यो घडी अब टाढा छैन । क्षितिजमा नौलो घाम झुल्किसक्यो, मान्छेका बस्तीमा अँध्याराको अब दम छैन ।”
उसका भन्ने कुरा थोरै छन् । ऊ उनै–उनै कुरा भनिरहन्छ । सुन्नेहरु आस्थाले सुनिदिन्छन्, स्नेहले बुझिदिन्छन् । वाह, हाम्रो नेता क्या आगो बोल्छ ! अकाट्य सत्य क्या काइदाले बोल्छ ऊ ! तब न भीष्मराज ! ऐतिहासिक गुरिल्ला युद्धको कमान्डर वागी जनसङ्गीतको सुमधुर धून !
सत्ताले भीष्मराजलाई राजद्रोही भनेको थियो । लोकले उसलाई प्रमिथसको पगरी गुथायो । गमक्क पर्दै उसले पगरी गुथ्यो । कसैले उसलाई गोकीको क्रान्तिकारी पात्र डान्को भनिदियो । उसले पत्यायो । एवम्रीतले भीष्मराज सद्गुणहरुले सजिसजाउ भयो । ऊ असाधारण भयो, ऊ अलौकिक भयो, ऊ बिरलाकोटी भयो ।
बखान गर्नेहरु बेहिसाब बखान गर्दै गए । भीष्मराज बखानको नशाले बेहिसाब लठ्ठ भयो । र भीष्मराज मौन गीता पाठमा लीन भइरह्योे ।
बाहिर कामरेड नन्दुरामका छोराको बिहा हुँदै थियो । भित्र नन्दु खुसीले फुरुङ्ङ थियो । उसले भोज खुवाउने भयो । भोजमा विशेष परिकार केही थिएन । एक मुठी चिउरा, साँदेको गुन्द्रुक, हरिया खुर्सानीका ढिँडी, दुई–चार चोक्टा छोयला । भोजको माउ पाहुनो थियो, अगुवा कामरेड भीष्मराज ।
भोज चल्दै छ । भीष्मराज सिलाबरको प्लेटमा भोज खाँदै छ । छूँ कि नछूँ गर्दै ऊ छोयला छुन्छ, यसो ओठसम्म पुर्याउँछ र प्लेटमा सुटुक्क राख्छ । उसलाई त्यसै–त्यसै दिगमिग लागेर आउँछ । उल्टी होला–होला जस्तो हुन्छ । कामरेडहरुले के भन्लान् ? मनमा असहज भावना छ, भय छ । कतै सुटुक्क मिल्काउन पाए अथवा गोजीमा लुकाउन पाए... भीष्मराज भोज खाँदै छ । उसलाई अभक्ष खाए झैं लाग्दै छ ।
“कामरेडलाई सिकार गएन ?” नन्दुरामले प्वाक्क सोध्यो ।
“सिकारमा मलाई उस्तो रुचि छैन, कामरेड ।”
“ठूलो खसीको भनेर त हैन ?”
“न, न... ।”
भीष्मराज उदास छ । आप्mनो भने बिहा भएको छैन । अप्mनै उमरेका कामरेडका छोराको बिहा भइसक्यो । उसले दीपशिखालाई सम्झ्यो । ऊसँग भएका उठबस र लसपसका दृश्यहरुको ताँती उसको स्मृतिपटमा सुलुलुलु बग्न थाल्यो । ऊ खिन्न भयो— यस जुनीमा मेरोे बिहा नहुने भो । दीपशिखा बूढी भइसकी होली । सके अर्कैसँग गइसकी होली । अथवा बिछोडको औडाहाले गलेर ऊ.... ।
दीपशिखा ! दीपशिखा ! दीपशिखा !
“कामरेड, कुनै दिन मेरो पनि बिहा होला, हकि ?”
भीष्मराजको वचन खिसिट्युरीको तारो बन्यो । मानौं, उसले आप््mनो हैसियतबाट गिरेर कुरा गर्यो । मानौं, ऊ निजी इच्छा र तिर्सना बिना जड मुढो हो । अथवा सांसारिक इच्छाभन्दा माथि उठेको ब्रह्मज्ञानी महर्षि हो ऊ । मानौं, ऊ जोगी हो, ऊ वैरागी हो । मानौं, साधारण मानिसका इच्छा, सपना, तिर्सना उसका भागमा पर्दैनन् । मानौं, उसमा ती भावना हुनु हुँदैन । अथवा मानौं, उसमा ती भावना हुनु भनेको अपराध हो, महाअपराध ।
बाहिर खिसिट्युरी छ, मनमा पछुतोकोे सन्ताप छ । भीष्मराज भोजको बिचैमा उठेर कोठातिर लम्कियो । पछि हेर्दा ऊ ध्यानसागरमा चुर्लुम्म डुबेको थियो ।
०००
हातमा तरबार बोकेको पठ्ठो आँखा झिमिक्क नपारी हेरिरहेछ । स्वामी लठ्ठकानन्दका आँखामा नजानिँदो गरी आँसुु रसाए ।
“अतीतको पत्रमा के देखिस् लठ्ठे ?” पठ्ठाले सोध्यो, “कतै शोक पो आइलाग्यो कि ?”
स्वामीको हृदय धुजा–धुजा भएको थियो । उसका ओठ सुस्तरी चले । तर बक फुटेन । निकैबेरपछि स्वामीले भन्यो, “मेरा कामरेडहरुले, बाबु, मेरो मर्मस्थलमा घोचे ।”
“त्यो मर्मस्थल तेरो होइन, अरु कसैको हो । जो मरिसक्यो, उसको केको मर्मस्थल हुन्छ ?”
“बाबु,” ऊ बरबरायो, “ऊ बेला... दीपशिखा, त्यो लाटी, त्यो गोज्याङ्री... ।”
“हेर्दै जा, पछुताउनुपर्ने पापकर्म तैंले अरु पनि देख्नेछस् ।”
स्वामी लठ्ठकानन्दले अतीततिर फर्केर आँखा चिम्लियोे । इतिहासको गर्तमा बास बसिसकेका घटनाहरुको लस्कर उसका चित्तको पर्दामा सलबलाउन थाल्यो । स्वामी देख्दै छ, भीष्मराज १४ वर्षपछि जेलबाट छुट्यो । त्यो खबर चमत्कारतुल्य भयो । नेपाली प्रमिथस कारागारमुक्त भयो ? नेपाली डान्को जनताका माझमा आइपुग्यो । बिरलाकोटी वीरलाई अब देख्न पाइने भो । अब उसका कुरा उसकै मुखबाट सुन्ने अवसर मिल्ने भो ।
भीष्मराज छापाको घेरामा पर्यो । भाषण गरिमाग्नेहरु उछिनपाछिन गर्दै उसकहाँ आउन थाले । इतिहासपुरुष भीष्मराज कस्तो होला ? उसका वचनको गुन्जन कस्तो होला ? सबैतिर कुतकुती छ, सबैतिर व्यग्रतापूर्ण प्रतीक्षा छ । उसको मुख हेर्न र उसका वचन सुन्न यत्रतत्र तँछाडमछाड छ ।
भीष्मराजले छापालाई अन्तर्वार्ता दियो ।
भीष्मराजले सभालाई सम्बोधन गर्यो ।
भीष्मराजले साम्य आनन्दोलनका नेता–कार्यकर्तालाई भेट दियो । र मानौं, विस्मयकारी छल भयो । भीष्मराजका वचनमा जीवनका जटिल र मिहिन कुराको छनक पाइएन । ऊसँग त केवल जीर्ण सूत्रहरुको एउटा मैलो पुलिन्दा छ । जहाँ बोलोस्, जे विषयमा बोलोस्, ऊ त्यही पुलिन्दा खोल्छ र उनै–उनै सूत्रको एकोहोरो रटना गर्छ ।
शोषक–सामन्ती, हतियार युद्ध, गाउँले सहर घेराउ, सत्ता पलट, आदि । त्यो बोलीमा बदलिँदो समयको धड्कन झल्किँदैन । समयको उमङ्ग र पीडा पोखिँदैन त्यहाँ । जीवनका उल्झन सुल्झाउने मिहिन विचार तर्क, अन्तर्दृष्टि, दूरदृष्टिको सङ्केत त्यसमा रत्तिभर पाइँदैन । मानौं, कतै दूर देशबाट आएको पर्यटक बिरानो भाषामा रैथानेहरुसँग कुरा गरिरहेछ ।
अलि दिन त समर्थक र शुभचिन्तकले आस्थाले उसका वचन सुनिदिए, स्नेहले थपडी बजाइदिए । जे भए पनि इतिहासको गहनो हो ऊ । जे भए पनि उसको आत्मकथा कष्ट र त्यागको रोमाञ्चक गाथा हो । तर उधारो आस्था र स्नेह कति दिन पो टिकोस् र ? त्यो टिकेन । त्यो ढल्यो । र, अलि दिनमै भताभुङ्ग भयो त्यो ।
भीष्मराज कल्पनाको मनचिन्ते महलबाट ओर्लेर मामुली मानिस उभिने धूलोमा उभियो । धूलोमा उभिँदा ऊ चमक, तेज र आकर्षणबिनाको धूलो समान देखियो— रङ्गहीन, फिका र टिठलाग्दो । बूढो भीष्मराजको भयावह दुःखान्तको पर्दा उठ्यो ।
भीष्मराजको जीवनमा जे भयो, उल्का भयो । अन्धश्रद्धावश मानिसले उसलाई प्रमिथस भनिदिए, डान्को भनिदिए । त्यो सुनेर ऊ भावुक भयो । ऊ उल्कियो, ऊ फुर्कियो । भन्नेहरु भन्दै गए, म त्यस्तै हुँ भनेर ऊ पत्याउँदै गयो । यसलाई मानव स्वभावको कच्चा खेल भनूँ— भन्ने पनि भ्रममा थियो, पत्याउने पनि भ्रममै थियो । यसरी भ्रमैभ्रमको सगरमाथा खडा भयो । दुर्भाग्यवश, कठोर यथार्थसँग टक्कर खाँदा भ्रमको त्यो रङ्गीन महल चकनाचुर भयो ।
आप्mनो आहत अन्तरलाई भीष्मराजले सोध्यो— “भीष्मे, यो सब के भयो ?” सब गडबडी भयो, सब भद्रगोल भयो, सब उलटपुलट भयो । म नेपाली प्रमिथस, म नेपाली डान्को ! उसको मनमा कत्रो गर्व थियो, कत्रो अभिमान थियो ! कति मीठो कल्पना थियो उसकोे— म जता जाऊँ, ममाथि सदैव पुष्पवृष्टि हुनेछ । तर त्यो मधुर सपना, त्यो रोमाञ्चक कामना, त्यो सब सोम शर्माका पिताको सातुको कथामा पोखिएर स्वाहा भयो ।
भीष्मराजलाई लाग्यो, म सबैबाट परित्यक्त भएँ, एक्लो भएँ र निर्जन टापुमा फालिएँ । मेरो न विगत बाँकी रह्योे, न वर्तमानको ठेगान भयो । अहो ! हरिबिजोकसँग म सकिएँ ।
भीष्मराजले कुण्ठित दृष्टिले अतीततिर हेर्यो— त्यहाँ अन्योल छ, त्यहाँ छलको कुहिरो व्याप्त छ । भविष्यतिर हेर्यो— त्यहाँ अन्योल छ, त्यहाँ छलको कुहिरो व्याप्त छ । मनको सगरमाथाबाट ऊ फेदीमा खस्यो । उसको जेथो मनग्य थियो । शाही असुरतन्त्रले सर्वस्व हरण गर्यो । आप्mनो छायासरि साथ दिने दीपशिखा थिई । त्यो पनि शून्यमा अलप भइछ । कपाल फुलिसक्यो, गिजा खस्किसके, गालामा मुजा परे । अहो ! क्या भयङ्कर दुर्घटना भयो ।
विगत पछिल्तिर छाडियो, वर्तमान धमिलो छ, भविष्य अन्धकार छ । “अब के गर्छ बूढो भीष्मराज ?” भीष्मराज आफनै थकित, गलित र उदास मनलाई सोध्छ । उत्तर छैन । चारै दिशा मौन छन्, निरुत्तर छन्, शून्य छन् ।
भीष्मराजलाई हनुमानचालिसाको याद आयो, भगवद्गीताको सम्झना भयो । अनि उसको अन्तरमा एउटा शुष्क आवाज प्रस्फुटित भयो— ॐ ! उसले भित्तामा चतुर्मखुी ब्रह्माजीको तस्बिर टाँस्यो । भित्तामा पहिले कार्ल माक्र्सको फोटो थियो, त्यसलाई मिल्काउन उसलाई कसो–कसो सङ्कोच लाग्यो । बस्, इन्द्रियहरु गलित भएको, सङ्ग्रामी आस्थाप्रति मोहमङ्ग भएको जराजीर्ण भीष्मराज मृगासनमा पलेटी कसेर परलोकको रटना गर्न थाल्यो— ॐ !
०००
झसङ्ङ हुँदा त्रिशूलधारी स्वामीका धमिला आँखा खुले ।
“ढोंगी स्वामी, अतीतको यात्रामा तँ के देख्दै छस् ?” तरबारधारी पठ्ठाले सोध्यो ।
वैरागलाग्दो स्वरमा स्वामीले दुःख पोख्यो, “कृतघ्न लोकले ममाथि छल गर्यो, छोरा । पहिले मलाई उचाल्यो, पछि मलाई थचार्यो ।”
“उल्किएर आफूलाई उचाल्ने तँ आफैं होस् । हताश भएर आफूलाई थचार्ने पनि तँ आफैं होस् !”
स्वामी बिलखबन्द पर्यो ।
प्रहार गर्न सङ्केत दिँदै पठ्ठाले तरबार हावामा नचायो ।
लठ्ठकानन्द कालो–नीलो भयो ।
“बाबु, जे भए पनि तँ मेरो छोरो होस् ।” डुब्न लागेको मानिसले झैं स्वामी लठ्ठकानन्दले परालको त्यान्द्रो समात्यो । “बाबुमाथि तरबार उजाउनु छोराको कर्तव्य हो र, बाबु ?”
“तँ मेरो बाबु होइनस्, व्याधा होस् । तैंले मलाई मार्ने कुटिल चाल चलिस् । र तेरो वध गर्न तँभित्रबाट म जन्में ।”
“मलाई क्षमा गर्, बाबु । म इतिहासको सिकार भएँ ।”
“इतिहासको होइन, तँ आप्mनै संस्कारको सिकार भइस् ।”
आप्mनै संस्कारको ?”
“हो । यात्रा थाल्दा तँ मुखिया थिइस् । यति लामो यात्रापछि पनि तँ मुखियाको मुखियै रहिस् । खासमा तँ त मुखियाविरोधी मुखिया मात्र हुन सकिस् । तँलाई सम्झना छ ? तेरो बाबु गरिबमारा जिम्दार थियो । जस्तो बाबु उस्तै छोरो । जिम्दारी संस्कारको प्रेतले तँलाई पल–प्रतिपल पछ्याइरह्योे । अहिले चतुर्मुखी ब्रह्माका पाउमा लत्रिएर तँ सकिइस् ।”
बाबुका कुरा उठ्दा लठ्ठकानन्दको मन दूर अतीततिर फर्कियो । ऊ देख्दै छ, उसको बाबु बार्दलीमा बसेर गुडगुड् तमाखु तान्दै तल आँगनका हरुवा–चरुवाको हुललाई हप्कीदप्की गर्दै छ— “तँ कामचोरलाई म काट्छु । के सम्झेको छस् तैंले ?” स्वामी सम्झन्छ, उसको बाबु राति अबेरसम्म गरिबहरुलाई काममा जोत्छ— धेरैजसो भात–पानीबेगर, निमेकबेगर, इज्जतबेगर ।
थरी–थरीका कथा छन् उसको बाबुका । एउटा कथा भन्छ, उसको बाबु कतै झ्यासमा नीचा जातका तरुनीहरुको ज्यानमा दाह्रा–नङ्ग्रा गाड्छ । ऊ घरमा आउँछ र सुनपानी छर्केर जीउ चोख्याउँछ । अनि पाञ्चायन देउताको पूजा गर्छ । कामदारहरु पसिनाको निमेक माग्छन् । ऊ तिनलाई निमेक होइन, कोर्रा दिन्छ । अल्लारे छँदा बाबुको सिको गर्दै लठ्ठकानन्दले पनि कम अत्याचार गरेको हो र ?
“सम्झिस्, तँ को थिइस् ?”
“अन्जानमा गरेका अपराधको बात लाग्दैन, बाबु !”
“अन्जानमा होइन, तैंले जानाजान अपराध गरिस् ।”
“हँ छोरा ? मबाट त्यस्तो के अपराध भयो ?”
“अपराध एक होइन, अनेक भए ।”
“कसरी ?”
तरबारको टुप्पोले भित्ताका दुइटा तस्बिर देखाउँदै पठ्ठो क्रोधले कुर्लियो, “भन्त लट्टे, तैंले जननायक कार्ल माक्र्सको थाप्लोमाथि यो के कलङ्क झुन्ड्याएको ?”
स्वामी लठ्ठकानन्द पक्क पर्यो । आप्mनो पुनर्जागृत आस्थामाथि धावा बोलिन लागेको आभास भयो । पिँडुला सक्दो दह्रा पार्दै उसले भन्यो, “चतुर्मुखी ब्रह्माजी भनेका ब्रह्माण्ड चेतनाका स्वामी हुन्, बाबु । र, माक्र्सको चेतना भनेको उनै स्वामीका चेतनाको सानो अंश मात्र हो । तँ काँचो–कलिलो केटो, तँलाई यो सत्य थाहा नहोला बाबु, त्यो माथि र तलको तात्पर्य यही हो ।”
“तँ गद्दार होस्,” पठ्ठो मथिङ्गल खलबलिने गरी करायो, ‘तैँले आफ्नै आस्थाप्रति गद्दारी गरिस् ।’
स्वामी लठ्ठकानन्दले आप्mनो जर्जर अस्तित्वमाथि खतराको घण्टी बजेको महसुस गर्यो । हात जोडेर उसले बिन्ती बिसायो, “बाबु, म बूढाको ज्यानमाथि किन यसरी दागा धर्छस् ? तँ आफुनो बाटो लाग् ।”
“म नयाँ युगको चेतना हुँ । म सत्यको वाहक हुँ । तैंले मेरो बाटोको तगारो भएर खडा हुने अर्घेल्याइँ गरिस् । आफ्नो बाटो खोल्न म पहिले तँलाई मार्छु ।”
“बाबु, मलाई मारेर तँ के गर्छस् ?”
“म श्रमिक जनतामाझ जान्छु । म तिनबाट सिक्छु । म तिनलाई निन्द्राबाट ब्युँझिन सघाउँछु, तीसित म नङ–मासुको साइनो गाँस्छु । र, तेरो पतनको पोल खोल्दै हामी नयाँ जगबाट मुक्तिसङ्ग्रामको अजेय झन्डा उठाउँछौ । सुन् लठ्ठे, तर सबभन्दा पहिले म तँलाई जखम पार्छु ।”
स्वामी लठ्ठकानन्द सर्वाङ्ग काँप्यो । उसका सबै अनुनय–विनय बेकार भए । आखिरमा उसलाई लाग्यो, म पक्का काटिने भएँ । तसर्थ फुकीढल पाखुराले त्रिशूल अँठ्याउँदै ऊ आप्mनो जर्जर आस्थाको लुरे मोर्चामा डट्यो ।
रोपूँ कि रोपूँ कि गर्दै त्रिशूलको तिखो न तिखो टुप्पोले तेर्सो परेर तन्नेरी छाती ताकेको छ । काटूँ कि काटूँ कि गर्दै हेमानको तरबार मिति पुगेको बूढो गर्धनमाथि बज्रिन आतुर छ । तरबार अवैध ढङ्गले जन्मेका तन्नेरी छोराका बलिया हातबाट उठेको छ । त्रिशूल वात्सल्यरहित बूढो बाबुका जर्जर हातबाट सोझिएको छ । जीवनको सङ्ग्रामी मोर्चामा विचारका दुई धार वर्गका दुई स्वार्थ आपसमा भिड्न तम्तयार छन् ।
“पूज्य पिताको पवित्र खटनलाई तैंले अटेर गरिस्,” क्रोधले नाकका पोर्रा फसफस फुलाउँदै बाबुले हाँक दियो, “तसर्थ, शाश्वत सत्यको रक्षा गर्न म तँलाई त्रिशूलको भालाले भेदन गर्छु ।”
“बाबुको कर्तव्यलाई तैंले तिरस्कार गरिस् । बाबुको हैसियतलाई तैंले नाजायज फाइदाका लागि दुरुपयोग गर्न खोजिस् ।” हाँकको जवाफ हाँकले दिँदै छोराले प्रतिवाद गर्यो, “तँ युगको प्रगतिका बाटोको तगारो भइस् । तसर्थ, म तँलाई गिंँड्छु ।”
हठात् त्रिशूल र तरबारको झडप सुरु भयो ।
हठात् सङ्ग्रामी मोर्चाको आकाशमा बिजुलीको ज्वाला भरभरायो ।
हठात् चारै दिशामा प्रलयकालको मेघको विस्फोटन भयो ।
र हठात्... !
समाप्त
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण