बालुवाको रङ्गीन महल-४
सारांश
- बालक झोलुङ्गामा धूवाँले निसासिएर रोएपछि, माइजूले भान्जालाई नानी फकाउन आग्रह गर्छिन्।
- कामरेड रविलालको हत्या र अन्य कामरेडको अवस्थाबारे चर्चा गरिन्छ, जसले भीष्मराजलाई स्तब्ध बनाउँछ।
- अन्त्यमा, भीष्मराजले आफ्नो सेल्टरको भविष्य र कामरेड रविलालको बलिदानको बारेमा चिन्ता व्यक्त गर्छन्।
झोलुङ्गाको बालक धूवाँले निसासिएर रुन थाल्यो । माइजू चुलामा व्यस्त छिन् । दुई जीउ र चार हात त उनका छैनन् नि ! उनले भान्जातिर पुलुक्क हेरिन् । सके आँखाको सानले उनी भनिरहिथिन्– भान्जा, मेरा हात खाली छैनन्, लौ न नानीलाई एक्कैछिन... ।
झोलुङ्गामा नानी चिरिएर रोएको आवाजले भीष्मराजको मनलाई चिथोर्यो ।
“नानी, चुप् !” हैकमी लबजमा उसले अह्रायो । स्वरको सङ्केत पाएर नानी हातगोडा फाल्दै झन्–झन् चिरिएर रोयो । माइजूले याचनाकारी आँखाले भान्जालाई पुलुक्क हेरिन् । मामा रुवाइले वाक्क–दिक्क भयो र लुसुक्क तलामाथि गयो । अलिबेरमा तलबाट आएको आवाज उसले सुन्यो, “हजुरका कतै नभ’का सुन जस्ता नागा नेता । यसो एक पला नानी फकाइदिनसम्म पनि मरे जस्तो मान्ने । मुखले भने बड दुखियाको दुःख हर्ने रे । निम्छरालाई दुःख दिनेलाई निमास पार्ने रे । सित्तिमा, नापेर !”
“मान्छेलाई आपत् पर्या बेलाँ तँ यस्ता गनगन नगर् ।”
“किन नगर्नु गनगन ? मुखले महसरि मीठो बोल्नु अनि कामले चाहिने ओरको सिन्को पर नसार्नु । स्वाँगे सुकुलगुन्डाहरु !”
“चुप् ! माथि सुने भने... ।”
“सुनून् भनेरै भन्या मैले । यस्ता हरिपले हेर्छन् दुःखीका दुःख !”
तलको वाण लागेर भीष्मराज माथि घायल भयो । उसलाई लाग्यो, ल है, यस सेल्टरले अब गरिखाँदैन ।
तल ढोका ढकढक्याएको आवाज आयो । आवाजमा हडबडीको छनक छ । हँ ? कतै पुलिस आइलाग्या त होइनन् ? भीष्मराज चनाखो भयो । उसका मनको अन्तरमा डरको मसिनो तरङ्ग दगुर्यो । झोलाका र गोजीका गोप्य कागजात हत्तपत्त झिकेर उसले हातमा लियो । अनि झ्यालबाट चोरी चालले यसोक्क बाहिर आँखा हुत्यायो ।
“कामरेड !” ढोकाको घुरुक्कसँगै बाहिरको स्वर माथि झ्यालसम्म उठ्यो । हँ ? कामरेड रनवीर पो हो कि ? अस्तिताका गएको मान्छे आजै आइहाल्या होला र ?
कामरेड रनवीर लिस्नुबाट माथि चढ्यो । लालटिनको धमिलो प्रकाशमा भीष्मराजले देख्यो– उसको अनुहार थकित छ । धपेटीले सिठ्ठा भएको छ उसको ज्यान ।
“लालसलाम कामरेड !” बटारिएको मुठी उठाउँदै लम्केर भीष्मराजले गम्म हात मिलायो । “खबर त ठीक छ ?”
भीष्मराजको सास फेराइको चाप बढ्यो । उसको छाती माथि उठेको, तल दबेको टड्कारै देखियो । उसलाई लाग्यो, गलामा कतै वेदनाको दर्सन ढुङ्गो जस्तो केही चीज अड्कियो ।
“कामरेडहरुको हत्या भो !” आहत रनवीरले साउती गर्यो । उसको स्वर द्रवित छ, गलोमै दबिएको छ त्यो । भीष्मराजका आँखामा सोझै हेर्न नसकी उसका आँखा झ्यालबाट छिरेर बाहिर घना अन्धकारमा हराएका छन् ।
“हँ ? को–को कामरेड परे ?”
रनवीरले भारी स्वरले नाम गन्यो– फलाना, फलाना र फलाना । उसले गनेको पछिल्लो नाम कामरेड रविललालको थियो ।
“हो र ? कामरेड रविलाल पनि मारियो ?”
“हो, ब्याधाहेर्ले पहिलो गोली उनकै छातीमा दागे रे ।”
स्तब्ध भएको भीष्मराज थुचुक्क बस्यो । सँगै बसे, रनवीर र घरपति मामा पनि ।
भीष्मराजको सास फेराइको चाप बढ्यो । उसको छाती माथि उठेको, तल दबेको टड्कारै देखियो । उसलाई लाग्यो, गलामा कतै वेदनाको दर्सन ढुङ्गो जस्तो केही चीज अड्कियो । मौसम ठन्डा थियो । तैपनि उसका निधारका चाउरीहरुमा क्लेशमय पसिनाको चमक देखियो । चोसो पसारेर छातीको पीडामय निश्वास फाल्दै उसले सोध्यो, “हैन, कामरेड रविलाल पनि मारियो त ?”
‘हो’ भन्ने भावमा रनवीरले मुन्टो हल्लायो र मुख छोप्यो ।
“बरा, लुरे रविलाल रोएर मर्यो होला ।”
भीष्मराजको त्यो कठोर वचन रनवीरका चित्तमा बिझाउनुसम्म बिझायो ।
“होइन,” उसको विनम्र स्वरमा कठोर भाव गुन्जियो, “कामरेड रविलालले शिर ठाडो पारेर ज्यान आहुति दिए ।”
“हँ ? शिर ठाडो पारेर ?”
“छातीमा गोली लाग्दा उनले सुर्याइँसाथ नारा लाए रे— “नौलो जनवाद जिन्दावाद ! खुनीतन्त्र मुर्दावाद !”
भीष्मराजको नजरमा रविलाल लाछी थियो । करबलले घिसारिएर त्यो रनमा होमिएको थियो । हँ, त्यो मारियो ? कामरेड रनवीर राई भनिरहेछ— “उसले साहसकासाथ मृत्युवरण गर्यो ।” अहँ, भीष्मराजको अन्तर पत्याउन मान्दैन । त्यो विवेक, आत्मबलिदानको त्यो भावना, मारिँदा–मारिँदै नारा लगाउन सक्ने त्यो धैर्य— कुन रहस्य लोकबाट आए ती सब ?
मामा कामरेड मौन भावमा रोइरहेछ ।
“आनन्दोलनले कलिलैमा धक्का खायो, कामरेड,” निकैबेरको सन्नाटापछि भीष्मराजको बक फुट्यो ।
“धन्य हो कामरेड रविलाल !” आफैंंलाई बिरानो लाग्ने आफ्नो स्वर भीष्मराजका कानमा गुन्जिन पुग्यो । उसलाई किञ्चित् पछुतो लाग्यो । अहो ! कामरेड रविलालको अपमान भयो ।
रनवीरले सकारसूचक मुन्टो हल्लायो ।
भीष्मराजको घायल मन अतीततिर मोडियो । एकलास जङ्गल छ । साँझ पर्न लाग्दाको घुर्मैलो अँध्यारो सेरोफेरोलाई लपेट्दै छ । गुरिल्ला युद्धका हतियार बोकेर कमान्डर र सिपाही फटाफट लम्किरहेछन् । कमान्डरको चित्तमा दीपशिखाका आँसुुका लेग्रा बसेका छन् । उसको मन स्थिर छैन । उत्तेजनाले उल्किएर उसका भुइँमा खुट्टा छैनन् । भीष्मराज अहिले देख्छ, साना काँटीको, नरम स्वर भएको, सोची–सोचीकन, तौली–तौलीकन बोल्ने कामरेड रविलाल खरायाको पाठो झैं सुरुसुरु उसका पछि–पछि हिँडिरहेछ । बहुमतको झोलामा सिङ्गो सत्य बोकेर गजक्क फुलेको कमान्डर फरक मतको निम्छरो सिपाहीलाई गिज्याउँछ, होच्याउँछ । कमान्डरलाई लाग्छ, त्यो लुरे बीच बाटोबाटै भाग्छ ।
“धन्य हो कामरेड रविलाल !” आफैंंलाई बिरानो लाग्ने आफ्नो स्वर भीष्मराजका कानमा गुन्जिन पुग्यो । उसलाई किञ्चित् पछुतो लाग्यो । अहो ! कामरेड रविलालको अपमान भयो । ६ महिनाअघि मात्र उसको बिहा भएथ्यो । जहान दोजिया थिई । प्राथमिक पाठशालामा मास्टरी गरेर नुन–तेलको गर्जो टाथ्र्यो ऊ । सानो हैसियतको त्यो सानो मान्छे सगरमाथाको चुचुरो भएर ढल्यो र सगरमाथाको चुचुरै भएर उठ्यो । न्यायप्रेमी मानिसहरुका मुटुका धड्कनमा कहिल्यै नमर्ने गरी ढल्यो त्यो । “मानव चरित्रको रहस्य बुझिनसक्नु छ,” एकालापको भावमा भीष्मराजका ओठ चले ।
रनवीरले भोलि नै पूर्वको रणभूमितिर फर्किनु छ । जाँदा उसले कमान्डरको आदेश लिएर जानु छ— अब के गर्ने ?
“जो जहाँ छ त्यहीँ खडा भएर डट्ने,” कमान्डरले लाइन दियो, “ज्यानको बदला ज्यान लिने ।”
“तर कामरेड,” रनवीरले परिस्थितिको चित्र खिच्दै विनम्र भावले कुरा बिछ्यायोे, “अगुवा कामरेडहरु झन्डैजसो सकिए ।”
“के रे ? कामरेडहरु सकिए ?”
“हो । दरा–दरा पाँच भाइ मारिए । पक्राउ पर्नेको हिसाब बेहिसाब छ । यातनाको बयान गरी साध्य छैन । बाँकी सबै छिन्नभिन्न छन् । कतिलाई त देख्यो कि गोली ठोक्नू भन्ने आदेश छ । कामरेड, अब हाम्ले कुन नीतिले कसरी चल्ने हो ?”
कमान्डर ओठ टोक्दै मौन भयो । उसले आफ्नै चित्तसँग निर्देशन माग्यो— हैन अब के गर्ने हो भीष्मराज ? उसलाई चेत भयो, विचारका सबै ढोका बन्द छन्, परिस्थितिका सबै निकास बन्द छन् ।
“दमन मत्थर नहुन्जेल जोगिएर हिँड्ने । तर मौका पर्यो कि ठोकिहाल्ने ।” कमान्डरले लाइन दियो ।
जीउको थकाइ र मनको खिचातानीले लेथ्नो भएको रनवीर अलिबेरमै फुस्स निदाइहाल्यो । भीष्मराज बेचैन भएको थियो । उसको मथिङ्गलमा आज ठूलै पहिरो गयो । ऊ अलिकता घायल छ, अलिकता लज्जित छ । आफ्नो उच–नीच सकार्न मान्दैन ।
“कामरेड, मामा,” इनारमा हात–गोडा धुँदै भीष्मराजले भन्यो, “मैले गर्दा माइजूलाई बढ्तै दुःख पो भो कि ? चुलो झोस, भाँडा माझ, नानी स्याहार १२–७२ लन्ठा झेल । अझ त्यसमाथि पाहुनालाई घस्याऊ । हँ मामा, मसमेतको यो भारी बोक्नै नसकिने भएन र ?”
मामा कपिल झस्कियो । लौ, घरभित्रको दन्तबझान कमान्डरका कानमा पर्यो क्यार ! अब उसले के भन्ने ? आखिर पार्टी केन्द्रको आदेशको कुरा छ । अक्क न बक्क परेर ऊ उभिएको उभियै भयो । र भीष्मराजलाई लाग्यो, अब यस सेल्टरको मिति पुग्यो । तर सर्ने कहाँ ? छेउछाउमा भरपर्दो सम्पर्कसूत्र कहाँ छ ? निस्कने निकासको हेक्का नराखी सुरुङभित्र पसियो । अब टाउकोले भित्ता भत्काएर निकास बनाउन त बेर लागि नै हाल्छ । सुस्केरा हाल्दै उसले जोडले पैताला मल्योे ।
०००
स्वामी लठ्ठकानन्दको त्रिशूल सुस्तरी काँप्यो । पठ्ठाले लख काट्यो, स्वामीको काई लागेको चित्तमा अतीतको कुनै सम्झनाले झम्टा मार्यो होला ।
“हँ, तेरो हतियार काँप्यो नि,” पठ्ठाले हाँसो मुछिएको स्वरमा सोध्यो, “कतै उहिलेको कुनै घाउ पो दुख्यो कि ?”
“शाही पञ्चतन्त्रले मेरा वीर कामरेडहरुको हत्या गर्यो, छोरा !” स्वामीको स्वरमा आहत भाव झल्कियो ।
“तेरा वीर कामरेड ?” पठ्ठाका वचनमा तिरस्कार गुन्जियो, “बुझिस्, ती त मेरा वीर कामरेड पो हुन्, मेरा आदरणीय अगुवा !”
स्वामीले छातीमा मुड्की ठोकेर भन्यो, “झुट ! ती वीर सहिद मेरा कामरेड हुन् । ती मेरा लडाकु, म तिनको कमान्डर ।”
“तँ त इतिहासको मुर्दा भइसकिस्, भुत्रोको कमान्डर तँ ? ती वीरका भावनाको मसाल बोक्ने सक्कली सहयात्री त म पो हुँ । म तिनका सुन्दर सपनाको उत्तराधिकारी ।”
के भनिरहेछ यो उरन्ठ्याउलो पठ्ठो ? इतिहासको नायक एउटा छ । बिरानो बटुवा भन्दै छ— “नायक तँ होइनस्, म हुँ ।” स्वामीलाई ऐंठन होला जस्तो लाग्यो । उसले बेचैनीसाथ अाँखा मिच्यो ।
“भगुवा बूढा,” पठ्ठाल भन्यो, “न्यायको सङ्ग्राममा तँ विचलित भइस्, तँ भागिस् । पछिल्तिर फर्केर हेर् त, इतिहासमा तँ कुन उचाइतिर उक्लिरहेको थिइस् र अहिले कुन भासमा जाकिएको छस् ।”
स्वामी लठ्ठकानन्दले मनको मुन्टो अतीततिर फर्कायो । उसको सम्झनाको पोयो कमान्डर भीष्मराजनिर पुग्यो । भीष्मराज अहिले मार्तोलले भकाभक ढुङ्गा फोर्दै छ । उसले ढुङ्गा फोर्न थालेको दुई साता भइसक्यो । झुत्रेझाम्रे कुल्लीसँग कुम जोडेर काम गर्दा पहिले त उसलाई असहज लाग्यो । लाज पनि लाग्यो । होइन, आङमा घाम लाग्न छाडेको पो हो कि ? आपूm पूरापूर नाङ्गै भएको पो हुँ कि ? उसलाई इज्जतको चुलीबाट बेइजतीको खोचमा पछारिएको भान भयो । ऊ कुल्लीहरुमाझ छ । तैपनि कुल्लीहरुभन्दा बेग्लै छ ऊ । लाए–खाएको कोमल ज्यान छ । पिँडुलाका झ्याम्ले रौंमुनिबाट सुकुमार छालाले चियाइरहेछ । त्यो छालाले उसको झुत्रे लवाइको पोल खोलिरहेछ ।
भीष्मराज खुइय गर्दै थकाइ मार्छ । हातले थरक मार्न थालेपछि चलखेल गर्ने पालो मनको हुन्छ । जब मनले काम गर्न थाल्छ, आफ्नो वर्तमान अवस्था र रुप सम्झिँदै ऊ चकित हुन्छ । कता–कता उसलाई गर्वको अनुभूति हुन्छ । कता–कता उसलाई डर लाग्छ । कता–कता उसलाई लाज लाग्छ । गाँठे, यो नक्कली भेषले कति दिन निर्वाह चल्ला ? कथम् यो भेष नाङ्गियो भने ?
बडो महत्वाकाङ्क्षी छ, भीष्मराज । लरतरा कुरामा उसका आँखा लाग्दैनन् । ढुङ्गा फोर्दाको समय अहिले घाइते कछुवा झैं घस्रिरहेछ ।
रहँदा–बस्दा सुस्त गतिमै सही, भीष्मराजको मनोदशा सहज हुँदै गयो । मार्तोलको चालसँगै उसका हत्केलामा बडा–बडा ठेला उठे, बडा–बडा पानीफोका फुटे । बेलुका हत्केलामा तेल–बेसार घस्दा उसको मनमा एउटा मजाको भावना प्रस्फुटित भयो— “अब भने म सक्कली सर्वहारा भएँ ।” दर्जा छ शोषक सामन्ती मास्ने गुरिल्ला कमान्डरको, लवाइ छ भिखारीको, इलम छ दनादन ढुङ्गा फोर्नु । जिन्दगीका ओराली–उकालीको खेल–तमासा सम्झेर ल्याउँदा उसलाई रोमाञ्चक आनन्दको अनुभूति भयो ।
“हँ मामा, भान्जाले त मजैसँग चोला फेर्योे नि ! मुखियाको मैमत्त छोरो थियो, अब गरिखाने सर्वहारा भयो ।”
भान्जो फिस्स हाँस्यो ।
भीष्मराज मार्तोल बजारिरहेछ । कुल्लीमाझ अब ऊ बिरानो छैन । घोरिएर सोच्ने, तौलेर बोल्ने माथिको नीति छ । तर आ नीतिलाई टेरपुच्छर नलाई अब ऊ दिल खोलेर बोल्न थालेको छ । मामा–भान्जाको बोलीको चियो गरिरहन्छ । ऊ गम्छ, भान्जाको बोली यसरी बेलगाम हुँदै गए सेल्टरको गति के हुने हो ?
बडो महत्वाकाङ्क्षी छ, भीष्मराज । लरतरा कुरामा उसका आँखा लाग्दैनन् । ढुङ्गा फोर्दाको समय अहिले घाइते कछुवा झैं घस्रिरहेछ । त्यो लोसे समयसँग भीष्मराजलाई जङ चलिसकेको छ । तसर्थ समयको गतिमा दम दिन ऊ कुल्लीहरुलाई तताउन थाल्यो । गिट्टी ठेकेदार बद्रीनारायण महाको चाण्डाल छ । कुल्लीलाई उसले ठगेका किस्साहरु बगरभरि बग्रेल्ती बिस्कुन लागेका छन् । ऊ कुल्लीलाई अपुरो निमेक दिन्छ र बाँकी हिसाब टिपन गर्छ । उसको टिपन उसकै गोजीमा गायब हुन्छ, बक्यौता पच पार्छ ।
भीष्मराजलाई थाहा भयो, नठगिएको कुल्ली एउटै छैन । कोही २०, कोही ३०, कोही ५० । भुसभित्र आगो पुतपुताइरहेकै थियो । अलिकता पत्कर थपेर भीष्मराजले ज्वाला बाहिर निकाल्यो । तेस्सिमा साला ठग ठेकेदार ! मान्छेका फेला नपरेर आजसम्म मनपरी गरिस् । पखेस् अब ! .
घाम खुट्टा खसालेर डाँडापारि झर्न लाग्यो । माथि राजमार्गमा टाटा ट्रक अडियो । उः ठेकेदार नारायण तल आउँदै छ । मधेसे फर्सी जत्रो उसको भुँडी ओरालोमा गुडूँ कि गुडूँ कि गर्दै उसको अघि लागेको छ । वातावरण सन्न भयो । गिट्टी कुटेको कुट्यै कुल्लीहरुले ठेकेदारलाई यसोक्क हेरे । ती देख्छन्— ठेकेदारको नाकबाट एउटा सुँड झुन्डिएको छ । कुल्लीहरुको रगत चुस्ने सुँड हो त्यो ।
“खै, हिसाप ?” कपिलनेर आएर ठेकेदार रोबदार मुद्रामा खडा भयो । कपिलले हिसाबको कागत उतिर लम्कायो । कागतमा कुल्लीका नाम छन् । कसले कति गिट्टी फोर्योे र त्यसबापत पाउने ज्याला कति हो, सबै कुरा त्यसमा खुलाएको छ । कपिल ठेकेदार र कुल्लीमाझको पुल हो । ऊ कामको लेखो राखिदिन्छ । ठेकेदार उसलाई यसो आना–सुकी दुःखसास्ती टक्र्याउँछ ।
बाँकी पछि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण