मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अतीतबाट साभार

बालुवाको रङ्गीन महल-३

शनिबार, १२ पुस २०८२, १६ : ००
शनिबार, १२ पुस २०८२

सारांश

  • लेखमा भीष्मराजको कथा छ, जो गुरिल्ला युद्धको कमान्डर थिए र भूमिगत जीवन बिताउन बाध्य भए।
  • उनलाई सुरक्षाको लागि चार जिल्ला पार सारियो, तर नयाँ सेल्टरमा एक्लोपन महसुस गरे र बाहिर निस्कने निर्णय गरे।
  • अन्ततः, उनी र उनका साथीले गिट्टी कुट्ने काम गरे, जसले उनलाई नयाँ परिस्थिति र चुनौतीहरूको सामना गरायो।

स्वामीसामुन्ने सतीसालको रुख झैँ खडा भएका पठ्ठाको तरबार हल्लियो । र आँखा झिमिक्क नपारी उसलाई हेरिरहेको स्वामी लठ्ठकानन्द झसङ्ङ भयो ।

“भन्त बूढा, पछि फर्केर हेर्दा तँ अहिले के देख्दै छस् ?” पठ्ठाले सोध्यो ।

“बाबु, अहिले म श्रमिकजनको मुक्तिको दैलो उघार्न खुनी सामन्तलाई ढाल्दै छु ।”

“त्यो तँ होइनस्, म हुँ ।” तरबार हावामा नचाउँदै पठ्ठाले अभिमानसाथ दाबी गर्‍यो, “खुनी पञ्चायतको अत्याचारको खाँडो जागेको बेला थियो त्यो । जीवन भनिन लायकको जीवन जिउन रहर गर्नेहरूका जिब्रातिर सत्ताका सङ्गीन ताकिएका थिए । कानतिर सत्ताका सङ्गीन ताकिएका थिए । आँखातिर सत्ताका सङ्गीन ताकिएका थिए । मानवोचित जुनी जिउन रहर गर्नेहरूका भावनाका सबै ढोकामा भोटे ताल्चा झुन्ड्याइएका थिए । तसर्थ त्यो न्यायचेतना, त्यो सुर्‍याइँ, त्यो बलिदानी भावना किञ्चित् कच्चा खालकै थियो रे लौ ! तैपनि त्यसमा भद्दा रूपमै भए पनि सत्यको प्रकाश धिपधिप बलेको थियो । बुझिस् तैंले ? म त्यही झिल्काको निरन्तरता हुँ ।”

पठ्ठाका विचित्रका कुरा सुनेर स्वामी सन्न भयो । हिजोको फुल, आजको चल्लो । के भन्छ यो उल्लु ? गर्ने–भन्ने हनुमान, पगरी गुथ्ने ढेडु ?

“बाबु, त्यो तँ होइनस्, म हुँ । हो, खसोखास त्यो मै हुँ । नपत्याए हेर्, खुकुरी समात्ने हात यै हो ।” यसो भन्दा उसले त्रिशूल बोकेको जीर्ण पाखुरो उठायो ।

“त्यो तँ होइनस्,” पठ्ठाले स्वरको ताँदो खैंचेर प्रचण्ड प्रतिवाद गर्‍यो, “हो, त्यो तँ थिइस् । तर यात्राको आफ्नै गौरवमय इतिहासलाई कुल्चिँदै तँ बीचमा बरालिइस् । आफूभित्रको मूढ मति, सङ्कीर्णता र असन्तुलनको कुहिगन्धलाई काखी च्याप्दैै तैँले आफ्नो उज्यालो र गतिमान पाटोलाई लत्याइस् । तँ पतीत भइस्, तँ रछ्यानमा खसिस्, तँ मरिस् ।”

“वाहियात !” रन्थनिँदै स्वामी मुरमुरियो ।

“हा... हा... हा... हा... !” पठ्ठो हाँस्यो । र उसले भन्यो, “बूढा, हेर् त पछि फर्केर, तँ पहिले के थिइस् र अहिले केमा झरिस् ?”

वृद्ध स्वामीले भावनाका फुलो परेका आँखा पछिल्तिर फर्कायो । अहो ! स्मृतिको पर्दामा ऊ के देख्छ ? अहिले ऊ झोलामा खुकुरी बोकेर सामन्त हरिहर उपाध्यायको बिलासी हबेलीतिर लम्किरहेछ । पछि–पछि रविलाल छ— साना काँटीको, मृदुभाषी र संवेदनशील रविलाल । छिप्पिँदो रात अन्धकार छ । वातावरण धकलाग्दो गरी सुनसान छ । कमान्डर र सिपाही अन्धकारका गाढा पत्र च्यात्दै, अन्धा खुट्टाले अँध्यारो बाटो ठम्याउँदै, कतै धरमराउँदै, कतै लड्दै सुमुसुमु हिँडिरहेछन् ।

भीष्मराजले हत्केलाले छोपेको लाइटको उज्यालोमा घडी हेर्‍यो । बल्ल नौ बजेछ । १० बजे अरु लडाकासँग बाटामा भेट हुनु छ । अनि सेरोफेरोको परिवेशको नाडी छामेर ११ बजे... ! भीष्मराजको छातीमुनि उमङ्गको लहर उठ्यो । आज उच्च तहको वर्ग सङ्ग्रामको उद्घाटन हुनेछ । आज वर्गशत्रु खत्तम अभियान छेडिनेछ । अनि शोषण र दोहनमा टिकेको खुनी परम्परा हल्लिनेछ । मान्छेलाई खाएर मान्छे जिउने रीतिथितिका जरा खलबलिनेछन् । अनि, अनि हुकुमीतन्त्रमा निसासिएको यस मुलुकमा नयाँ इतिहासको शिलान्यास हुनेछ ।

“कामरेड !” मनको लड्डु घिउसँग खाइरहेको भीष्मराजले हर्षविभोर भएर रविलाललाई अँगालो मार्‍यो । उसको कसिकसाउ अँगालोमा रविलाल अँचेटियो ।

“कामरेड,” सुदूर भविष्यको गर्भका रहस्यहरू खोतल्न खोज्दै स्वप्नमय स्वरमा भीष्मराजले घोषणा गर्‍यो, “नेपालको माओ यसै जिल्लामा जन्मिनु इतिहासको नियति रहेछ, हकि कामरेड ?”

ती तिलस्मी वचनमा पोखिएको भीष्मराजको दुर्दान्त आकाङ्क्षामा रविलालले सामन्तका छोराको झुसिलो डकारको छनक पायो । खुस्बुदार खैनी गिँजामा टाँस्दै खैनी जस्तै मलुवा व्यङ्ग्य ध्वनित भएको स्वरमा रविलालले उडायो, “छोरो पाउनु कहिले–कहिले, कन्दनी बाट्नु अहिले !”

रविलालका शब्द भीष्मराजको महत्त्वाकाङ्क्षी चित्तको भित्तोमा मर्मान्तक ढङ्गले बज्रिन पुगे । उसका दाँतमा दर्शनढुङ्गो लाग्यो । ऊ राम्रैसँग घायल भयो । अनि अवाक् भएर ऊ लमक–लमक अगाडि लम्कियो ।

११ बज्यो । ब्वाँसो भनीकन दुर्नाम चलेको सामन्त हरिहर उपाध्याय टुकटुक भई आफ्नै मझेरीमा ढल्यो । शाही राजमा विशाल बमको धमाका झैँ त्यो घटना पड्कियो । अनि आतङ्कको गोमन सर्पले फँणा उठायो । पोलाहा मण्डलेका बगाल अघि–अघि, राइफल बोकेका पुलिसका झुप्पा पछि–पछि । चारै दिशामा कन्सुत्लेहरूको कुदाकुद, सर्वत्र दमनको व्याधि । गौंडा–गल्छेंडा, नाका–कुइनेटा, खोल्साखाल्सी, झ्यास–झाडी, बस्तीछेउका वन–जङ्गल सबैतिर सत्ताका सिकारीहरू छ्यापछ्याप्ती भए । गिरफ्तारीको अन्धलहर चल्यो । मण्डलेसँग कसैको घर–व्यवहारको झगडा होस्, आतङ्कारीका नाउँमा त्यो समातिन बेर लागेन । कुनै सामन्तसँग कुनै निम्छराको जार झगडा होस्, त्यसका पाता फर्काउन आइतबार कुर्नुपरेन । सलहका तुफानी बथानसरी सत्ताका चौकीदारहरू आतङ्को राक्षसी औतार भएर घरघरै घुस्न थाले । सत्तासँग आन्द्रा गाँसिएका बाहेक बस्तीका लोग्नेमान्छेहरू बतासको चालमा लाखापाखा लागे । कोही झाडीमा पसे, कोही वनमा बेपत्ता भए । विरोधी राजनीतिसँग लसपस भएको हुनुपर्दैन, समातियो कि ‘धोबी धुलाइ’मा पर्‍यो । घटनामा हात हालेको हुनुपर्दैन, हो भनेर मण्डलेले पोल्योे कि ज्यान जखम भयो । त्यो दानवी दमनका मुखेन्जी तराईको विशाल फाँट मुर्दासमान मौन भई अलि दिनसम्म सास दबाएर सामसुम्म पल्टिरह्योे ।

भीष्मराज थियो गुरिल्ला कारबाहीको कमान्डर । स्वर ठूलो र स्वभावको खरो मान्छे ऊ । उसको चिनारी गोप्य रहने कुरै भएन । शासनका गोटीहरूले उसको टाउकोबापत २५ हजार नगद बकस दिने हुइयाँ फिँजाए । भीष्मराज भन्ने उग्रवादीको जिउँदो वा मरेको टाउकोको मोल हाताहाती २५ हजार !

दारुण यातनाबीच दमन अभियान चल्दै थियो । बीच–बीचमा गुरिल्ला कारबाहीको पनि सानोतिनो लहरै चल्यो । ढाडे सामन्तमाथि त खुकुरीको चोट बज्रियो नै, ब्युँझी नसकेका हातले हानेको निसानाबाट बत्तिएको खुकुरी साना काँटका मुखियाहरूमाथि पनि थुरिन पुग्यो ।

भीष्मराजको सुरक्षाको सवाल विकराल बन्यो । ख्यालख्यालमै सुरुङभित्र पसिहालियो— अगाडि पहराको भित्तो छ, दूलाका मुखमा पञ्चतन्त्रका भोटे कुकुर बाँधिएका छन् । अब निकास कता हो काजी ? ऊ पर्‍यो मझौला मौजावालको छोरो । हुने–खानेहरूको संसारमा उसका रौं–रौंसमेत नचिन्ने कोही छैन । अब कहाँ लुक्छ ऊ ? तल गरिब बस्तीमा घुसोस्, त्यहाँ उभिने चौतारी र मुन्टो लुकाउने छहारी बनाएकै छैन । माथि हुने–खानेहरूको गोलोमा शरण मागोस्, त्यहाँ उसको टेक्ने ठाउँ बाँकी छैन । के जङ्गलमा पस्ने त ? तर कति दिन ? आखिर एक दिन गोप्य कारबाही कमिटीका सातमध्येका तीन जना रात छिप्पिएपछि राजमार्ग छेउको एउटा झाडीमा जुटे । सासले बोल्दै लामो छलफल गरेपछि निर्क्योल निक्ल्यो— जिल्लामा भीष्मराजको सुरक्षा खतरामा छ । उसका गोडामुनि तरबारको धार छ । शिरसामु छ– वैरीका बन्दुकको नाल ।

लामो तर्क–वितर्कपछि उसलाई चार जिल्लापारि सार्ने ठहर भयो । दिनभरि एकलास वनमा लुक्ने, रातभरि चोर बाटो हिँड्दै जाने । यात्रा सुरु भयो । साथमा एक जना अर्दली छ— रनवीर राई । ती दुई कामरेड लगालग पाँच दिन लाएर तोकिएको जिल्लामा पुगे । त्यहाँ एक जना सम्पर्क कामरेडको घर थियो, कामरेड कपिलको । त्यस घरको नाम अबदेखि सेल्टर भयो । र पूर्वेली गुरिल्ला युद्धको कमान्डर भीष्मराजले त्यही सेल्टरमा टाउको लुकायो ।

अहिले भीष्मराज कपिलको घरमा छ । घर नेपाल–भारत सिमानाको ठीक वारि छ । त्यस्तै आधा घण्टाको दूरीमा । सरकारी सिकारीहरू आइलाग्ने सुइँको पायो कि सुइत्त पारि तरुँला भन्ने मनसुवा मनमा छ । अहिले घरको तलामाथि, सानो झ्यालबाट बाहिर हेर्दै भीष्मराज धुमधुम्ती बसिरहेछ । त्यो बसाइ, त्यो ठाउँ, त्यो चिसो मनोदशा— त्यो सब सपना जस्तो लागिरहेछ उसलाई । अस्तिसम्म ऊ जहाँ थियो, त्यहाँ खलबल, हलचल, हाँफझाँफ र उथलपुथल थियो । अहिले ऊ जहाँ छ, त्यहाँ मसानघाटको सन्नाटा छ । “अहो ! म कसरी, किन यहाँ आइपुगे ?” भीष्मराजको उदास अन्तरमा प्रश्नको तरङ्ग उठछ । गजबै भयो, भयङ्कर भूकम्प आयो र भूकम्पको धक्काले उसलाई चार जिल्लापारि हुत्याइदियो । चार जिल्ला उता चहलपहल थियो, उमङ्ग थियो, भय थियो, आँट थियो, मार्ने र मर्ने मेसो चलेको थियो । अनि यहाँ ? यहाँ सब चकमन्न छ, स्थिर छ, सामसुम्म छ । सपनाभित्र जोल्ठिएको अर्को सपना जस्तो ।

भीष्मराजको मन अँध्यारो छ । नयाँ सेल्टरमा भित्रिएको तीन दिनमै उसलाई अत्यास लागेर आयो । अर्काको घरभित्र कोचिएर कति दिन बस्नु ? अर्काले दिएको मानो बसी–बसी कति दिन खानु ? फेरि कामरेड कपिल पुगीसरि आउने मान्छे पनि त होइन । उसको एक फोक्टो जमिन छ । ज्यालादारी काम नगरी चुलो तताउन हम्मे–हम्मे पर्छ । हलो जोत्नु, कोदालो खन्नु, गिट्टी कुट्नु, यावत् ।

कामरेड कपिलको निर्देशनमा चल्न भीष्मराजलाई केन्द्रको निर्देशन छ । यसो छरछिमेकमा जाइआइ गरुँ, भरपर्दा सम्पर्कसूत्र कोही छैनन् । चार जिल्लापारि सङ्ग्राममा भीष्मराजको कमान चल्थ्योे, अहिले ऊ पिँजडामा परेर डल्लिएको छ । अझ त्यो पनि केही भेउ नपाएको बिरानो बस्तीमा । उसले उज्यालोमा बाहिर देखिनुहुँदैन । अनुशासनले त्यसै भन्छ । स्थिति अनुकूल भए कपिलको छत्रछायामा राति वातावरणको गन्ध सुँघेर यसो श्रम गर्न, खनीखोस्री गर्न बाहिर निस्के हुन्छ । तर कपिल भन्छ, “कामरेड, वातावरण ठीक छैन ।” भीष्मराजको चलायमान मन हुनुसम्म निसासियो, उसका नसा लोलाए, हात–गोडा कुँजिए । मन भुल्याउन झोलाबाट उसले माओकृत ‘रेड बुक’  झिक्यो र हरफमा यसो आँखा कुदाउन खोज्यो । तर चित्त एकाग्र भएन । माओका ‘पाँच सैनिक रचना’  झिक्यो, त्यसमा पनि ध्यान टिकेन । मन चञ्चल थियो, तर्कना र द्वन्द्वको भुमरी उठेको थियो त्यहाँ । चार जिल्लापारिको हबिगत अहिले के होला ? कति कामरेड पक्राउ परे ? कति यातनाको सिकार भए ? कति मारिए ? उसको मनमा विकराल प्रश्न उठ्यो— अब गुरिल्ला युद्धको नियति के हुने हो ? मङ्सिर महिनाको बिहानी बेला । बाहिर पातलो हुस्सु लागेको छ । उसको हुस्सु लागेको चिन्तित मन बाहिरको हुस्सुमा पसेर उतै हरायो ।

भीष्म दिउँसो निदाएको थियो । रातभरि उसले यो कोल्टो र ऊ कोल्टो फेरिरह्योे । भोलिपल्ट उसले कपिलसँग भन्यो, “कामरेड, कुनामा खुम्चिएर कति लुक्नु ? जे पर्ला, पर्ला, म अब बाहिर निस्कन्छु ।”

बाहिर निस्कन्छु रे ? कपिल झसङ्ङ भयो । आखिर माथिको निर्देशन त्यस्तो छैन त । आफैँ निर्देशन बनाएर आफैँ तोड्ने ?

“हुँदैन कामरेड, माम्लो चौपट हुन्छ ।”

आप्mनै खोरमा पोको परेर कति दिन म यसरी कुँजिइरहूँ ? अति भो, यो मलाई असह्य भो ।”

कपिलले हार खायो । भीष्मराजको हठले जित्यो । राजमार्गदेखि तल नदी किनारमा गिट्टी कुट्न ती दुई भाइ निस्के । हिजोको कमान्डर भीष्मराज र आजको कमान्डर कपिल । भीष्मराज भूमिगत भेषमा छ । टाउको मुण्डन गरेको छ र चिन्डे टाउकामा लाएको छ बरखी बार्दाको सेतो टोपी । कम्मरमाथि आङ चिरिएको कमिज, कम्मरमुनि रैथाने कछाड । बसेर गिट्टी कुट्न भीष्मराजलाई मरेको जुनी जस्तो लाग्यो । उसको पालो हेमानको मार्तोल लिएर बडा–बडा ढुङ्गा फोर्न थाल्यो । उसको काम गराइ देखेर गिट्टी कुट्नेहरू दङ्ग परे । एकाध घण्टाको अन्तरालमा ती दुई कामरेडले कुल्लीको गोलोदेखि अलग्गै बसेर बिँडी खाए, खैनी खाए । र थकाइ मार्दाको त्यो छोटो क्षणमा तिनले वातावरणको गन्धबारे साउती गरे । सब ठीकठाक छ । दुनियाँका अगाडि मामा–भानिज भएका छन् ती दुई कामरेड । भीष्मराज भरखरै पहाडबाट उठीबास भई तराई झरेको सुकुम्बासी रे । जहानलाई उभिने र ओत लाग्ने ठाउँको खोजी गर्दै चारचौरास भौंतारिएर मामाका घरमा आइपुगेको ऊ ।

झमक्क साँझ पर्‍यो । भीष्मराज अहिले मझेरीउतातिर भित्तामा लमतन्न पल्टेको छ । लाडप्यार र हाइसन्चोमा हुर्केको मुखियाको छोरो ऊ । आज उसको सुकुमार ज्यानले गर्नुबिधि कसरत गर्‍यो । उसका एक–एक मुस्ला, एक–एक जोर्नी थाकेर पेदु भएका छन् । ती तारन्तार दुखिरहेछन् । र दुःखाइमा उसलाई एक तमासको आनन्दको अनुभूति भइरहेछ । कपिलकी जहान चुलोमा भात–तिहुन गर्दै छे । चुलाबाट पिरो धूवाँ पतपत उठिरहेछ । आँसुु झार्दै र नाक बजाउँदै ऊ आगो फुकेको फुक्यै छे ।

“हँ, माइजू,” लमतन्न पल्टिरहेको भीष्मराज भन्छ, “यो चुलोचौकोको काम पनि सारै झ्याउलो, हकि ? म भए बरm भोकै बस्ने ।”

“के गर्ने भान्जा,” माइजू आलु काट्दै र सिँगानको लत्को स्याहार्दै भन्छिन्, “पेट हुनेले बाबु, खानैपर्‍यो । कसै न कसैले त आखिर झ्याउलो बेहोर्नै पर्‍यो नि, परेन र झोलीका देउता ?”

“म भए नसक्ने,” बिँडी सल्काउँदै भीष्मराजले भन्छ, “बरु बाहिरफेरको काम जे परोस्, म गर्न सकूँला । भित्रको यो लुतेधन्दा, अहँ माइजू, मबाट यो हुँदैन । लसुन छोडाउनु, आँखा मिच्दै फ्¬¬वाँ–फ्वाँ आगो फुक्नु, भाँडा मस्काउनु, रुन्चे नानीलाई फुल्याउनु— अहँ, मबाट यो सब हुँदैन ।”

“त्यसैले त होला भान्जा यत्रो छिप्पिउन्जेलसम्म नागो बसेको !” माइजू परिन् घुमाउरा कुरा नजान्ने गाउँले प्राणी । मुलाकाज नराखी उनले प्वाक्क भनिहालिन्, “अचेलका आइमाईले त लोग्नेलाई टुप्पी समातेर काम लाउँछन्, थाहा छ भान्जा ? अचेलबली हकका कुरा छन्, बर्राबरीका कुरा छन् ।”

भीष्मराजको हृदय चसक्क चस्कियो । उसको बेचैन मन स्मृतिको लहरोमा झुन्डिँदै गुरिल्ला युद्धको पहिलो राततिर हुत्तियो । ऊ एकलास जङ्गलको चोर बाटो लमकलमक हिँडिरहेछ । ऊ वर्र्षौंैदेखिकी उसकी प्राणपियारी दीपशिखा मानौँ, कतै शून्यबाट उसका पाउमा पस्रिन आइलागी । ऊ गुरिल्ला युद्धको मैदानमा निस्किसकेको थियो । दीपशिखाको रुवाइ, उसको करुण पुकारा, ती सबैलाई निर्ममतासाथ कुल्चेर ऊ लक्ष्यतिर बेगियो । अहिले त्यो दृश्य सम्झिँदा उसको मन त्यसै–त्यसै खिन्न भयो । ऊ सुन्दै छ र दीपशिखा भनिरहिछ, “हजुर रनमा जानुहोला रे लौ । पछि बसेरै सही, म हजुरलाई जो सकेको आड दिइरहूँला । पछि कुनै दिन म पनि... । तर हजुर मलाई... ।”

बाँकी पछि..

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप