शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : यस्ता छन् दिनभरका मुख्यमुख्य घटनाक्रम

शनिबार, ०९ फागुन २०८२, २२ : ००
शनिबार, ०९ फागुन २०८२

काठमाडौँ । आज मिति २०८२ साल फागुन महिनाको ९ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
१. गौरमा तनाव
रौतहटमा दुई समुदाय बिच विवाद भएपछि सदरमुकाम शनिबार गौर तनावग्रस्त बन्यो ।  ३ दिनअघि जन्ती गएका हिन्दु समुदायका मानिसहरू मस्जिद नजिक पुगेपछि विवाद सुरु भएको थियो । यही विषयमा चर्किएको विवाद अझै समाधान हुन नसकेको हो । यसैबिच स्थानीय प्रशासनले सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । 

२. एमालेको पत्रकार सम्मेलन
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको वातावरण सन्त्रासमय बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ।
एमाले प्रचार विभाग प्रमुख मिनबहादुर शाहीले सरकारले शान्ति सुरक्षाको भरपर्दो वातावरण बनाउन नसकेको र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट एमालेको नेतृत्व र चुनाव चिन्हमाथि प्रहार भइरहेको आरोप लगाए। निर्वाचन नजिकिँदै जाँदा मुलुक थप भयभीत र सन्त्रासमय बन्दै गएको उनको भनाइ छ।

३. प्रचण्डको कटाक्ष
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चुनाव नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाएका छन् ।

नेकपा दोलखा–काठमाडौँ सम्पर्क निर्वाचन परिचालन कमिटीले शनिवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले चुनाव हुने निश्चित भइसकेको अवस्था नेपाली जनक्रान्तिद्वारा इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चुनाव नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाएका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् । शाहले वर्तमान समस्या समाधान नगरी चुनावमा जान नहुने केही दिनअघि बताएका थिए । 

उनले चुनाव नहुने हल्ला र प्रचारका पछाडि नलाग्न र दृढतापूर्वक निर्वाचनको तयारीमा जुट्न अपिल गरे ।

४. ओलीको बोली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनाव भाँड्ने र बिथोल्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।
 शनिबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले पछिल्ला केही दिनयताका घटनाक्रम हेर्दा रास्वपा हुलहुज्जत र अमर्यादित व्यवहारमा उत्रिएको दाबी गरेका हुन्।

५. दाङ घटनामा थप २ जना पक्राउ
दाङको तुलसीपुरमा नेकपा एमालेको चुनाव चिन्ह अंकित झन्डा जलाएको अभियोगमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ हलवार बस्ने ३० वर्षीय रमेश राना मगर र सोही उपमहानगरपालिका–६ गाइडर बस्ने २४ वर्षीय विक्रम परियार रहेका छन्।

५. चुनावी समाचार
रातोपाटीमा शनिबार चुनावसम्बन्धी विभिन्न समाचार प्रकाशित भएका छन् । जुन यसप्रकार छन्–

६. शनिबार विशेष
रातोपाटीमा शनिबार विशेष सामग्रीका रुपमा विभिन्न सामग्री छापिएका छन् । जुन यस प्रकार छन्–

७. रास्वपा छाडेकाहरुको भनाइ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताहरूले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा विचार गरेर मात्र मतदान गर्न आग्रह गरेका छन्। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले चटकदार अनुहारभन्दा देश र समाज बुझेका जिम्मेवार राजनीतिक व्यक्तित्व र दल रोज्न मतदातालाई आग्रह गरे।

८. फुर्सदिला कलाकार
विगतका वर्षहरूलाई फर्केर हेर्ने हो भने फागुनमा गाउँदेखि सहरसम्म विभिन्न मेला, महोत्सव र सांगीतिक कार्यक्रम आयोजना हुन्थे । देशभरका गाउँ(सहरमा लाग्ने मेला–महोत्सवले कलाकारहरूलाई भ्याइनभ्याइ हुन्थ्यो । तर यस पटकको दृश्य भने भिन्न देखिन्छ ।

फागुनमा गाउँघरमा यतिबेला सांगीतिक मेला(महोत्सव होइन, नेताहरूका चुनावी सभा र नाराहरू गुञ्जिरहेका छन्, किनकि फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । त्यसैले देशको राजनीतिक माहोल निरन्तर तात्दै जाँदा सांगीतिक माहोल भने चिसिन थालेको छ । मेला–महोत्सवको ‘पिक सिजन’ मानिने फागुन महिनामा चुनावका कारण सांगीतिक क्यालेन्डर प्रभावित बनेको हो ।

९. सहकारी ठगी प्रकरण
पोखरा लेडी जेसिजले कास्की क्षेत्र नम्बर ३ का उम्मेदवारहरूसँग सार्वजनिक बहस कार्यक्रम आयोजना र्गयो ।

कार्यक्रममा सबैजसो दलका उम्मेदवारहरू सहभागी थिए । सबै क्षेत्रबाट प्रतिनिधित्व गर्ने सरोकारवाला व्यक्तिहरू उपस्थित थिए । कार्यक्रम चल्दै गर्दा सूर्यदर्शन सहकारीका एक जना पीडित कृष्ण जैसीले रास्वपा उम्मेदवार विना गुरुङलाई एउटा चिट दिए । उक्त चिट उनको बच्चा पढ्ने स्कुलको बिल थियो । 

‘उहाँको सभापतिले मेरो सहकारीमा भएको पैसा खाइदिनुभयो । मेरो बच्चाको बिल तिर्न नसकेर बच्चा निकाल्ने अवस्था बनेको छ । उहाँले नै तिरिदिनु भनेर बिल बुझाएको हुँ,’ जैसीले भने । कार्यक्रममा सहभागी अधिकांश सहकारीको विषयलाई लिएर आक्रोशित भए । उनीहरूले रास्वपाका सभापति रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता र पार्टीले घोषणापत्रमा उल्लेख गरेको १०० दिनभित्र रकम फिर्ता गर्ने प्रतिबद्धतामाथि बढी प्रश्न गरेका हुन् ।

१०. दिल्ली प्रदर्शनबारे
भारतको राजधानी नयाँ दिल्लीको भारत मण्डपमा आयोजित ‘इन्डिया एआई इम्प्याक्ट समिट’का क्रममा युथ कांग्रेसका सदस्यहरूले गरेको ‘सर्टलेस’ विरोध प्रदर्शनबारे दिल्ली प्रहरीले अदालतमा महत्त्वपूर्ण दाबी गरेको छ । 

प्रहरीले रिमान्ड माग्ने क्रममा अदालतलाई प्रदर्शनको शैली छिमेकी देश नेपालमा भएको जेनजी आन्दोलनबाट प्रेरित भएको र सम्पूर्ण घटनाक्रमको गहन अनुसन्धान भइरहेको जानकारी गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप