बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
ब्याटलग्राउण्ड : तेह्रथुम

मोरङ छोडेर तेह्रथुम पुगेका एमाले सचिव ढकाल कति सुरक्षित ?

शनिबार, ०९ फागुन २०८२, १२ : ००
शनिबार, ०९ फागुन २०८२

सारांश

  • तेह्रथुममा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन रोचक बन्दै, एमालेबाट भानुभक्त ढकाल उम्मेदवार छन्।
  • कांग्रेसले सन्तोष सुब्बालाई चुनावी मैदानमा उतारेको छ भने अन्य दलले पनि प्रतिस्पर्धा गर्ने भएका छन्।
  • विभिन्न दलका नेताहरूले जितको दाबी गरिरहेका छन्, तर एमाले र कांग्रेसलाई रास्वपा र श्रम संस्कृति पार्टीले चुनौती दिएका छन्।
00:00 / NaN:NaN
Audio By AI

विराटनगर । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तेह्रथुम जिल्लाको चुनावी मैदान रोचक बन्दै गएको छ । यहाँ नेकपा एमालेले केन्द्रीय सचिव भानुभक्त ढकाललाई चुनावी मैदानमा उतारेको छ । अन्य पार्टीले जिल्लास्तरका नेताहरू नै उम्मेदवार बनाएको छ । 

विगतका निर्वाचनहरूमा एमाले नै जिल्लामा शक्तिशाली बनेको छ भने प्रतिस्पर्धामा नेपाली कांग्रेस रहँदै आएको छ । तर, यस पटक एमाले र कांग्रेसका लागि देशभरमा जस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र श्रम संस्कृति पार्टीले चुनौती थपेको छ । एमाले र कांग्रेसको लोकप्रियताको ग्राफ घटिरहेका बेला नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र श्रम संस्कृति पार्टीहरूले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । 

भानुभक्त ढकाल राजनीतिक पुनरागमन गर्ने उद्देश्यका साथ यस पटक आफ्नै गृह जिल्ला तेह्रथुम पुगेका हुन् । २०७० को दोस्रो संविधान सभामा समानुपातिक सांसद र २०७४ को निर्वाचनमा मोरङ–३ बाट निर्वाचित भई मन्त्रीसमेत बनेका ६४ वर्षीय ढकाल २०७९ को निर्वाचनमा भने मोरङ–३ मै कांग्रेसका डा. सुनिल शर्मासँग २२ हजारभन्दा बढी मतको फराकिलो अन्तरले पराजित भए ।

छथर गाउँपालिका–६, ओख्रेका ढकालले पहिलो पटक गृह जिल्लाबाट प्रत्यक्ष चुनाव लड्दै छन् । विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी भएको बताउँदै ढकालले जनतासँग मत मागिरहेका छन् ।  

तर, प्रतिस्पर्धी दलहरूले कोभिडकालमा स्वास्थ्यमन्त्री हुँदा ढकालले स्वास्थ्य सामाग्री खरिद (ओम्नी काण्ड)मा भ्रष्टाचार गरेको र निर्वाचन हार्ने भएपछि सुरक्षित क्षेत्र खोज्दै तेह्रथुम आएको जस्ता आरोप लगाइरहेका छन् । जुन आरोपको प्रतिउत्तर दिँदै हिँड्नुपर्ने अवस्थामा ढकाल छन् । 

एमाले तेह्रथुमका नेता किशोर चन्द्र दुलाल भने ढकाललाई त्यस्ता आरोप जिल्लामा नरहेको बताउँछन् । ‘जिल्लामा त्यस्तो अप्ठ्यारो पारेको छैन । बाहिरको प्रचार मात्रै हो, यहाँ जिल्लामा त्यस्तो अप्ठ्यारो छैन,’ दुलालले भने, ‘भानुभक्त ढकाल विजयी बन्नुहुन्छ भन्ने कुरा हामीलाई एकदम पूर्ण विश्वास छ ।’ 

उनले कांग्रेसको उम्मेदवार प्रदेशसभामै पराजित भएकोले उनले जित्ने सम्भावना नभएको बताए । ‘उहाँ दोस्रो हुनुहुन्छ भन्ने लाग्छ मलाई,’ दुलालले भने । 

एमालेले प्रत्यक्षका लागि र समानुपातिकको भोट माग्न दुई समूह बनाएर चुनाव प्रचार प्रसार गरिरहेको छ । एउटा समूहको संयोजक उम्मेदवार समेत रहेका ढकाल आफैँ छन् । समानुपातिकका लागि समानुपातिक उम्मेदवार विष्णुमाया विक रहेका छन् । ‘उहाँहरू दुवै जनाले संयोजन गर्नुहुन्छ । यता अर्को कमान्डरको रूपमा हाम्रो जिल्ला पार्टी कमिटीको अध्यक्षले कमान्डिङ गरिरहनुभएको छ,’ दुलालले भने  ।

तेह्रथुममा नेकपा एमाले पहिलो शक्तिको रूपमा रहेको दुलालको दाबी छ । ‘दोस्रो शक्तिको रूपमा नेपाली कांग्रेस हो । त्यसपछाडि तेस्रो शक्तिको रूपमा नेपाली कम्युनिस्ट पार्टी अथवा राष्ट्रिय स्वतन्त्र पार्टीमध्ये एउटा चाहिँ आउँछ भन्ने कुरा छ,’ उनले भने । हर्क साम्पाङको श्रम संस्कृति पार्टीका उम्मेदवारले धेरै मत नकाट्ने उनको अनुमान छ ।  

तेह्रथुमको चुनावी मैदानमा नेपाली कांग्रेसले युवा नेता सन्तोष सुब्बालाई उठाएको छ । कांग्रेसका उम्मेदवार सुब्बा २०७९ सालको निर्वाचनमा तेह्रथुम प्रदेश सभा ‘क’ बाट नेकपा (एमाले) का किशोरचन्द्र दुलालसँग २०८ मतको अन्तरले पराजित भएका थिए । प्रतिनिधि सभाका लागि सुब्बाको यो पहिला प्रतिस्पर्धा हो । 

सुब्बाले प्रदेशसभामा आफ्नो सम्मानजनक हार भएको बताउँदै अहिले माहौल त्योभन्दा राम्रो हुँदा आफू जित्ने दाबी गरे । आफ्नो प्रतिस्पर्धी एमाले नै भएको बताउँदै कांग्रेस र एमालेबाहेकका अरू दलहरू तेस्रो स्थानका लागि प्रतिस्पर्धामा रहेको दाबी गरे । ‘रास्वपाको अलिअलि चर्चा छ । ठुलो भएर आउँछ जस्तो लाग्दैन । नेकपा र रास्वपामा को तेस्रो हुने भन्ने हुन्छ होला जस्तो लाग्छ,’ सुब्बाले भने । 

कांग्रेसभित्र विवाद भएको विषय उनले अस्वीकार गरे । अहिले पार्टीमा ऐतिहासिक एकता भएको उनको दाबी छ । ‘पार्टीको आन्तरिक अवस्था त यसपटक ऐतिहासिक एकतामा छ । पार्टी एकताबद्ध भएको छ । त्यसको माइलस्टोनको रूपमा चाहिँ मेरो उम्मेदवारी रह्यो,’ उनले भने । 

उनले आफ्नो पार्टीको यसअघिको समानुपातिक मत पनि एमालेकै हाराहारीमा रहँदा प्रतिस्पर्धा गर्न सहज रहेको बताए । ‘हाम्रो पार्टीले पुस्तान्तरणको मुद्दालाई विशेष रूपमा मतदाताले र जिल्लावासीले हेरेको छ । त्यसकारणले गर्दाखेरि दोस्रो पुस्ताको नेतृत्व म भएँ । त्यसमाथि पनि निरन्तर हालसम्म जिल्लामै बसेको, निरन्तर जिल्लामै सेवा गर्दै बसेको मान्छे । त्यसले गर्दा अलिकति मतदाताहरू मप्रति भरोसामा छन् भन्ने मलाई लाग्छ,’ उनले भने, ‘प्रतिस्पर्धी दल एमाले र  एमालेका उम्मेदवारले गएको जेनजी आन्दोलनलाई अस्वीकार गरेको र सरकारमा हुँदा उहाँले गरेका काम कारबाहीप्रति पनि नकारात्मक टिप्पणी बढी छ । उहाँको लोकप्रियता घटेको छ । त्यसले राजनीतिक रूपमा पनि उहाँलाई कठिन छ भन्ने मेरो बुझाइ छ ।’ 

एमालेको तुलनामा आफूहरूले पार्टीलाई रिकन्स्ट्रक्सन गरेको, दोस्रो विशेष महाधिवेशनले जनताप्रतिको उत्तरदायित्व, जबाफदेहिता भन्ने कुरालाई पनि मुख्य बनाएको कुरा जनताले बुझेको आफूले पाएको उनी बताउँछन् । 

उता, यो निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीले रणध्वज कन्दङ्वालाई उम्मेदवार बनाएको छ । नेपाली कम्युनिस्ट पार्टी तेह्रथुमका नेता दुर्गाप्रसाद चापागाईं सचिनले एमालेका उम्मेदवार ढकालले विगतका आरोपहरू फेस गर्न नसकिरहेको, कांग्रेसका उम्मेद्वारप्रति जनता आकर्षित नभएको भन्दै आफ्नो उम्मेदवारले जित्ने दाबी गरे । 

‘यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुन्छ । कांग्रेस, एमाले, नेकपा को प्रतिस्पर्धा हो । हाम्रो उम्मेदवार पुरानो वामपन्थी नेता हो । उहाँ ६४ सालको संविधान सभा सदस्य हुँदै पछिल्लो समय पहिचानवादी आन्दोलनमा लाग्नु भएको थियो,’ चापागाईंले भने, ‘सबैले इमानदार, निष्ठावान्, त्यागी नेताको रूपमा लिन्छन् । यसकारण नेकपाले चाहिँ अब पहिचानको मुद्दा बोक्ने नेता भएको हिसाबले पनि विजय सुनिश्चित छ ।’ 

कांग्रेस विभाजित मानसिकतामा रहेको र सीता गुरुङले टिकट नपाएको कारण कांग्रेसको पहिलेको जस्तो अवस्था नरहेको उनले बताए । रास्वपा र श्रम संस्कृति पार्टीको प्रचार प्रसार भएपनि सांगठनिक बेस नभएको कारण उनीहरूको मत धेरै नआउने उनले विश्लेषण गरे । 

तेह्रथुमको चुनावी मैदानमा ढकाल र सुब्बासहित  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ई. सुरेन्द्र कार्की र श्रम संस्कृति पार्टीबाट सुविन्द्रकुमार लिम्बू चुनावी मैदानमा छन् । जिल्लामा १२ दलबाट १२ को उम्मेदवारी परेको छ । 

गत २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा तेह्रथुमबाट तत्कालीन माओवादी केन्द्रसमेतको गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सीता गुरुङ विजयी भएकी थिइन् । उनले १९ हजार ७०७ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका विजय सुब्बाले १८ हजार ६३१ मत ल्याएका थिए । २०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट एमालेका भवानीप्रसाद खापुङ विजयी बनेका थिए । 

२०७९ सालको निर्वाचनमा समानुपातिक मततर्फ एमालेले १७ हजार २५८, कांग्रेसले १४ हजार ६०६, तत्कालीन माओवादीले ३ हजार ६६ र रास्वपाले २ हजार १८८ मत ल्याएका थिए । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका अनुसार जिल्लाभर ५६ मतदान स्थलमा ९३ मतदान केन्द्र तोकिएका छन् । यहाँ कुल ७३ हजार १३७ मतदाता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप