भोट माग्न पुगेका उम्मेदवारलाई मतदाताको प्रश्न : द्रुतमार्ग निर्माणमा ढिलाइ किन ?
सारांश
- काठमाडौं-तराई/मधेस द्रुतमार्ग निर्माणमा ढिलाइ भएको भन्दै बाराका मतदाताले उम्मेदवारहरूसँग प्रश्न सोधेका छन्।
- द्रुतमार्ग समयमै सम्पन्न नहुँदा किसानहरूले उत्पादनको उचित मूल्य पाउन नसकेको र आवतजावतमा समस्या भएको गुनासो छ।
- उम्मेदवारहरूले द्रुतमार्गलाई चुनावी एजेन्डा बनाएका छन् र निर्वाचित भएपछि यसलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
बारा । तराई/मधेसलाई काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो दूरीको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग निर्माणमा ढिलाइ भएको भन्दै मतदाताले चुनावी घरदैलोमा पुगेका उम्मेदवारलाई प्रश्न गरिरहेका छन्। दुई वर्षअघि नै सम्पन्न हुनुपर्ने आयोजनाको काम किन ढिलो भयो भन्दै मतदाताले मत माग्न आउने उम्मेदवारमाथि प्रश्न तेर्स्याएका हुन् ।
बाराको सुवर्ण गाउँपालिका–३ जमुनिया टोलका महेन्द्र प्रसाद यादवले नेताहरूले आवश्यक ध्यान नदिँदा द्रुतमार्ग समयमै पूरा नभएको गुनासो गरे। उनले भने, 'फास्ट ट्र्याक सञ्चालनमा आएको भए आवतजावतमा सहज हुने थियो, तर अझै निर्माण नसकिँदा काठमाडौँ आउजाउ लामो समय लाग्ने गरेको छ।'
द्रुतमार्ग सम्पन्न भएर सञ्चालनमा आए निजगढदेखि काठमाडौँसम्म १ घण्टा १० मिनेटमा पुग्न सकिन्छ । साथै बारा, पर्सा र रौतहटका किसानहरूले उत्पादन गरेको तरकारी, फलफूल, दालहन, तेलहन र अन्नबालीले पनि राम्रो मूल्य पाउने किसानहरूको आशा छ ।

‘द्रुतमार्ग बन्यो भने हाम्रो उत्पादन भएको तरकारी लगेर बेच्न धेरै सुविधा हुन्थ्यो’, उनले भने, ‘किसानहरूले मूल्य पनि राम्रो पाउँथ्यो ।’
बाराको सुवर्ण गाउँपालिका वडा नं ६ मझरिया टोलका लालबाबु यादवले पनि ७ वर्षसम्म द्रुतमार्ग बन्न नसक्नुमा नेताहरू नै दोषी भएको आरोप लगाए ।
‘द्रुतमार्ग ७ वर्षसम्म नबनेर अड्केर बस्नुको कारण के हो ? सत्तामा बसेका नेताहरूले जवाफ दिनुपर्छ’, उनले भने, ‘नेपाली सेनालाई मोहरा बनाएर नेताहरूले द्रुतमार्गलाई दुहुनो गाई बनाए ।’
द्रुतमार्ग बाराको निजगढदेखि ललितपुरको खोकनासम्म कुल ७०.९७७ किलोमिटर दुरीमा छ । यो आयोजना निर्माण सम्पन्न भए सबैभन्दा धेरै फाइदा बारावासीले पाउनेछन् ।
तर ४ वर्षभित्र सम्पन्न गर्नेगरी २०७४ साउन २७ गते सरकारले आयोजना निर्माणको जिम्मा औपचारिक रूपमा सेनालाई दिएको हो । चार वर्षमा सम्पन्न गर्नगेरी सेनालाई जिम्मा दिएको आयोजनामा २०७७ र २०८० गरी २ पटक म्याद थप भइसकेको छ ।

दोस्रो पटक थपिएको समयसीमा २०८३ चैत मसान्तमा सकिँदैछ । तर हालसम्म आयोजनाको भौतिक प्रगति करिव ४६ प्रतिशत मात्रै छ । सेनाले जिम्मा लिइसकेको आयोजनामा पनि पटक पटक म्याद थप गर्नु समयमै सम्पन्न नहुनु दुखद कुरा भएका मतदाताहरू बताउँछन् ।
महागढीमाई नगरपालिका वडा नं २, मैनीटोलका रामाशंकर कुशवाहाले द्रुतमार्ग छिटो सम्पन्न भए किसानहरूले उत्पादन गरेका आलु, दाल, धान, मकै, उखुको उचित मूल्य पाउने बताए । ‘फास्ट ट्रयाक सुचारु भएको भए हाम्रो दाल, उखु, आलु आजै काठमाडौँ जान्थ्यो पैसा पनि राम्रो आउँथ्यो,’ कुशवाहाले भने ‘किसानहरूलाई तरकारी बोकेर काठमाडौँ जान ८/१० घण्टा लाग्छ, वीरगन्जको व्यापारीले सय रुपैयाँको तरकारीको ३० रुपैयाँ मोल लगाउँछन् ।’

तराई किसानहरूले सस्तो मूल्यमा बिक्री गरेका तरकारी, फलफूल, दालहन, तेलहन, खाद्यान्न काठमाडौँका उपभोक्ताको भान्छासम्म पुग्दा चर्को मूल्य खर्चनुपर्दछ ।
सुवर्ण गाउँपालिका निवर्तमान प्रमुख मेहन्द्र प्रसाद यादवले द्रुतमार्ग आयोजना मधेसका लागि अति उत्तम भए पनि नेताहरूका कारण निर्माण कार्य ढिला भएको टिप्पणी गरे । ‘द्रुतमार्ग चल्यो भने भारतको सीमानामा बसेको मधेसी जनता २ घण्टामा काठमाडौँ पुग्छन्, हामी आफै बिहान तरकारी बोकेर काठमाडौँ जाने र बेलुका घर फर्कन सक्छौ,’ गाउँपालिका प्रमुख यादवले भने ‘अव के कारणले ढिलो भएको छ ठुला नेताहरूले बुझोस् ।’
चुनावी घरदैलोमा हिँडेका सिके राउत नेतृत्वको जनमत पार्टी बारा-२ का उम्मेदवार राजेश साहले द्रुतमार्ग मधेसको आर्थिक मेरुदण्ड भएको टिप्पणी गरे ।
‘द्रुतमार्ग सञ्चालनमा आए वार्षिक अर्बोँको पेट्रोलियम पदार्थमा बचत हुन्छ, समय बचत हुन्छ, नेपालको अर्थतन्त्रमा ठुलो फाइदा हुन्छ,’ उम्मेदवार साहले भने ‘तर,यो आयोजना निर्माण ढिला हुनु भनेको देश विकासको गति रोक्नु हो यसले अर्थतन्त्रलाई धेरै कमजोर बनाउँछ ।’ आफू निर्वाचित भएमा यो विषयलाई प्रमुखताका साथ उठाउने उनको भनाइ छ ।

सरकारले २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँको लगानीमा एसियाली राजमार्ग डिजाइन मापदण्ड अनुसार चार लेनको सडक द्रुतमार्ग निर्माण गरिरहेको छ ।
यो आयोजना छिटो सम्पन्न होस् भनेर मधेसका जनता आस गरेर बसेको बताउँछन् बारा २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य बच्चा राउत अहिर । राउतले भने ‘हामीले सदनमा पनि कुरा उठाइरहेका छौँ । तर प्रदेशको कुरा केन्द्र सरकारले सुन्दैन ।’
द्रुतमार्ग सञ्चालनमा आए बारा, पर्सा र रौतहटवासी लाभान्वित हुने भए पनि यो आयोजना विशेषतः बाराको निर्वाचन क्षेत्र नं. १ मा पर्दछ। यो आयोजनाले दुई वटा प्रदेशका तीन वटा जिल्लालाई छोएको छ।
जहाँ बाराको निजगढ नगरपालिका सुरु बिन्दु कायम गरेर उत्तरतर्फ मकवानपुर र ललितपुर जिल्ला हुँदै राजधानी काठमाडौँसम्म पुग्न सकिन्छ।
निर्वाचनको मिति आउन दुई साता पनि बाँकी नरहँदा बारा १ का कांग्रेस, एमाले, नेकपा, रास्वपा उम्मेदवारले न त अहिलेसम्म आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्, न द्रुतमार्गको विषयमा केही बोलेका नै छन्।

घरदैलोको क्रममा मतदाताले द्रुतमार्ग छिटो बनाउन संघीय सरकारसँग पहल गर्न आग्रह गर्दा उम्मेदवारहरूले खासै प्रतिक्रिया दिन सकेका छैनन्।
बारा १ का नेपाली कांग्रेसका उम्मेदवार शम्भु बुढाथोकीले तराई–मधेस द्रुतमार्ग समयमै सम्पन्न हुनुपर्छ भन्ने विषय आफ्नो घोषणापत्रमै समावेश गर्ने बताए।
‘१–२ दिनमै सार्वजनिक गर्ने हाम्रो घोषणापत्रमा द्रुतमार्ग मात्रै होइन, अन्तर्राष्ट्रिय विमानस्थलको विषय पनि समावेश गर्छौँ,’ कांग्रेस उम्मेदवार बुढाथोकीले भने, ‘हाम्रो धारणा अब थपिएको समयभित्रै द्रुतमार्ग बन्नुपर्छ भन्ने हो। यो आयोजना सम्पन्न भयो भने मधेसको उत्पादन सिधै काठमाडौँ पुर्याएर बिक्री गर्न सकिन्छ।’
बारा १ मा कांग्रेस उम्मेदवार बुढाथोकी, एमालेका अच्युत मैनाली, रास्वपा उम्मेदवार गणेश धिमाल, नेकपा उम्मेदवार सन्तोष दंगालसहित दुई दर्जनभन्दा बढी उम्मेदवार छन्।

रास्वपा उम्मेदवार गणेश धिमालले निर्वाचित भएपछि आफ्नो पार्टीको नेतृत्वमा बन्ने सरकारले कार्यकालभित्रै द्रुतमार्ग निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने दाबी गरेका छन्।
‘हाम्रो नेतृत्वको सरकार बनेपछि दुई वर्षमा हुने काम डेढ वर्षमै सम्पन्न गरेर द्रुतमार्ग सञ्चालन गर्छौँ,’ उम्मेदवार धिमालले भने, ‘अहिलेसम्म के–कति काम भयो, कति बाँकी छ भन्नेबारे हामीले सूक्ष्म अध्ययन गर्न पाएका छैनौँ। बालेनको नेतृत्वमा सरकार बन्नासाथ काम अगाडि बढ्छ।’

यता नेकपा उम्मेदवार सन्तोष दंगालले द्रुतमार्गलाई हुलाकी सडक हुँदै पहुँचमार्ग बनाएर सिम्रौनगढको छोटी भन्सारसम्म जोड्न सके भारतीय पर्यटक भित्र्याउन सकिने बताउँछन्। उनले दुई दिनपछि सार्वजनिक गर्ने आफ्नो चुनावी घोषणापत्रमा द्रुतमार्ग आयोजनालाई समावेश गरेको बताए ।
‘हाम्रो धारणा द्रुतमार्ग तोकिएको समयसीमा अर्थात् २०८२ चैत मसान्तसम्म बनिसक्नुपर्छ भन्ने हो, तर यो सम्भव छैन,’ उनले भने, ‘सेनाले फेरि म्याद थप गर्छ।’
निवर्तमान संघीय सांसद तथा एमाले उम्मेदवार अच्युत मैनालीले द्रुतमार्ग आयोजना निर्माणमा ढिलाइ भइरहेको विषयमा आफूले संसदमा पटक–पटक कुरा उठाए पनि सुनुवाइ नभएको गुनासो गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण