बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी GROUND ZERO : डडेलधुरा

चुनाव प्रचारमा जानु अघि चिया–खाजाका लागि एउटै टेबलमा दुई उम्मेदवार

शनिबार, ०९ फागुन २०८२, १० : २३
शनिबार, ०९ फागुन २०८२

सारांश

  • प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारहरू प्रचार प्रसारमा व्यस्त छन् र कतिपय स्थानमा एक अर्काको आलोचना पनि भइरहेको छ।
  • डडेलधुरामा नेपाली कांग्रेस र नेकपाका उम्मेदवार चिया खाजाका लागि एउटै टेबलमा बसेर सौहार्दपूर्ण वातावरणमा चुनाव प्रचारबारे कुराकानी गरे।
  • उम्मेदवारहरूले मैत्रीपूर्ण प्रतिस्पर्धामा रहेको र जनतामा आफ्ना एजेन्डा लैजाने कुरा गरे।
00:00 / NaN:NaN
Audio By AI

डडेलधुरा । प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत उम्मेदवारहरू प्रचारप्रसारमा व्यस्त छन् । कतिपय स्थानमा उम्मेदवारहरूले एक–अर्काको आलोचना समेत गर्दै आएका छन् ।

डडेलधुरामा शनिबार बिहान अनौठो परिदृश्य देखियो । अमरगढी नगरपालिकाको तुफानडाँडामा नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार चिया–खाजाका लागि एउटै टेबलमा बसेका थिए ।

डडेलधुरामा नेपाली कांग्रेसबाट नैन सिंह महर र नेपाली कम्युनिस्ट पार्टीबाट मान सिंह माल उम्मेदवार छन् । महर र माल आ–आफ्नो चुनाव प्रचार अभियानमा जानु अघि चिया–खाजाका लागि स्थानीय एक होटलमा एउटै टेबलमा बसेका हुन् ।

आफ्ना केही कार्यकर्ताका साथ खाजा खाइरहेका महर शनिबारका लागि प्रचारप्रसार कार्यक्रमबारे चर्चा गर्दै थिए । सोही क्रममा नेकपाका उम्मेदवार माल उक्त होटलभित्र प्रवेश गरे ।

महरले आफूसँगै बसेका कार्यकर्तालाई अर्को टेबलमा पठाएर नेकपाका उम्मेदवार माललाई आफूसँगै राखे ।

दुवै उम्मेदवारबिच सौहार्द्रपूर्ण वातावरणमा चुनावप्रसारका विषयमा संक्षिप्त कुराकानी भयो । दुवैले आ–आफ्ना कार्यक्रमबारे एक–अर्कालाई सुनाए । त्यसपछि दुवै आ–आफ्ना कार्यक्रम अनुसार गन्तव्यतर्फ लागे ।

‘हामीबिच राम्रो सम्बन्ध छ । हामी मैत्रीपूर्ण प्रतिस्पर्धामा छौँ,’ नेकपाका उम्मेदवार मालले भने, ‘जनतामा आफ्ना एजेन्डा लाने हो । जनताले जसलाई विश्वास गर्नुहुन्छ, उसले मत पाउने हो ।’

कांग्रेसका उम्मेदवार महर पनि आ–आफ्ना एजेन्डा र कार्यक्रम लिएर जनतामा जाने, सोही आधारमा जनताले मूल्याङ्कन गर्ने बताउँछन् । उनले भने, ‘हामीले एक अर्कालाई गाली गर्नुपर्ने कारण नै छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य

आचार्य रातोपाटीका वरिष्ठ उपसम्पादक हुन् ।

लेखकबाट थप